आन्तरिक पर्यटकले गुल्जार बन्यो बागलुङ


खेमराज गौतम, बागलुङ

कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फ्याट्ट फुट्ट पर्यटक देखिने बागलुङमा दुई वर्ष एताकै धेरै पर्यटकहरु आएका छन् । मुक्तिनाथ भ्रमण, ढोरपाटन भ्रमण र चैते दशैमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले बागलुङमा चाप निकै बढेको छ ।

चार दिनको भ्रमण समय छुट्टटाएर मुक्तिनाथ पुगेपछि बागलुङ कालिका दर्शनका लागि एकदिन बागलुङलाई छुट्टटाएर आएको चितवन भरतपुरका पर्यटक सुन्दर कुमार बरालले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा देखेको लामो पुल, पञ्चकोट लगायतका स्थानले अपाmूलाई बागलुङ आउने प्रेरित गरेको बताउनुभयो । अहिले बागलुङमा आन्तरिक पर्यटकको संख्या ह्वातै बढेको छ ।

भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बिस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरु बस लिएरै बागलुङ बागलुङ भ्रमणमा आएका छन् । यस्ता सामाजिक तथा संघ संस्थाहरु दैनिक सयौको संख्यामा बागलुङ आउन थालेका छन् । अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरुको चाप थेगि नसक्नु छ ।

चैत दोस्रो साता देखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वातै बढेको पर्यटन व्यवसायी बताउछन् । बागलुङको धार्मीक पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको घुईचोनै लाग्ने गरेको पाइएको छ । बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्व सन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम संग्रहालय र लामो झोलुङ्गे पुलमा पर्यटकको चाप बढेको पाइएको छ । चैते दशै शुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकहरु समेत मुक्तिनाथ पछिको दोस्रो गन्व्य बागलुङलाई मानेर यहाँ आउने गरेको पाइएको छ ।

कोरोनाले दुई वर्ष देखि रोकिएको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारी समेत गरिएको छ । बागलुङको चैत्राष्टमी मेला नेपालमै प्रसिद्ध मेला मध्येको एक हो । चैत्र २४ देखि २८ सम्म चैत्राष्टमी मेलाको आयोजना गरिएको र अहिले यसको तयारीले तिब्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटलहरु भरिभराउ भएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो ।

“पहिला नेपाली र भारतीय पर्यटकको रोजाई बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटकहरु बागलुङ कालिका र पञ्चकोटमा समेत आएको पाइयो, पञ्चकोट र कालिका मन्दिर दर्शनले गर्दा दर्शनार्थीको भ्रमण समय लम्बिएको छ” चोखालले भन्नुभयो “बागलुङका ठूला होटलहरु पर्यटकले भरिभराउ भएका छन् यो बागलुङको पर्यटन व्यवसायीहरुका लागि सुखद् कुरा हो, बागलुङमा थप ठूला तारे होटलहरुको समेत आवश्यकता खड्किएको छ ।” चोखालका अनुसार बागलुङ आउने भारतीय र नेपाली पर्यटकहरु मध्य अधिकांश धार्मिक पर्यटकहरु आएको बताउनुभयो ।

भर्जिन पर्यटकीय क्षेत्रका रुपमा एकदमै अगाडी बढेको बागलुङमा विस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरुको आर्थिक सबलीकरणमा समेत उल्लेख्य सुधार हुँन थालेको छ । धार्मिक पर्यटकहरु मात्र नभएर अध्ययन अवलोकन भ्रमणको समेत गन्तव्य बन्दै आएको छ बागलुङ ।

अहिले विभिन्न पर्यटकीय स्थलको प्रचार प्रसार तथा पर्बद्धनका कारण जिल्लामा पर्यटकहरु बढ्दै गएको पाइएको छ । अहिले होटलमा पाहुँनाको व्यवस्थापन गर्न हम्मे हम्मे पर्दै आएको बागलुङका सफल पर्यटन व्यवसायी एन्जिल शाक्यले बताउनुभयो । शाक्यले पाहुँनाको माग अनुसार आफूले होटलको सुविधा थप्दै आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *