बागलुङ नगरपालिकाको पाँच बर्ष : ठूला पूर्वाधारमा उपलव्धी, पर्यटनमा फड्को


आदर्श अनलाइन, बागलुङ

धौलागिरीको पुरानो पालिका बागलुङ नगरपालिकाले पछिल्लो पाँच वर्षमा ठूला पूर्वाधारमा उल्लेख्य सफलता हासिल गर्न सफल भएको छ । नगरपािलकाले आफ्नै लगानी, साझेदारी, प्रदेश र संघीय लगानीमा ठूला पूर्वाधारहरु निर्माण गर्न सफल भएको पाइएको छ ।

नगरपालिकाले महत्वकांक्षी योजनाको रुपमा लिएको विश्वकै लामो झोलुङ्गे पुल, विमानस्थल कालोपत्रे, आधुनिक वसपार्क, बन्यजन्तु पार्क, चोक सुधार, सडक कालोपत्रे र फोहोर व्यवस्थापनमा सफलता हासिल गरेको छ । वार्षिक ६ करोड आफ्नै आए भएको बागलुङ नगरपालिकाले नागरिकको आधारभूत आवश्यकतालाई पुरा गर्दै ठूला पूर्वाधारमा लगानी गरेर पर्यटकीय क्षेत्रको विकास गरेको पाइएको छ ।

चुनावमा प्रतिबद्र्धता गरेको विमानस्थल कालोपत्रे, लामो पुल, पर्यकटीय पूर्वाधार, सडक विस्तार, चोक सुधार, पार्क निर्माण लगायतका कामले अपेक्षित सफलता हासिल गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

वि.स २०४८ सालदेखि बन्द भएको बलेवा बिमानस्थल सञ्चालनका लागि नगरपालिकाले गरेको लगानी र समन्वयका आधारमा अहिले विमानस्थल कालोपत्रे भइसक्ेको, बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो विश्वकै लामो दावि गरिएको झोलुङ्गे पुल निर्माण गरिएको, नगर विकास कोष संगको ऋण लगानीमा १७ रोपनी षेत्रफलमा आधुनिक वसपार्क निर्माण गरेको, बजार भित्रका सबै सडक कालोपत्रे गरिएको र लिफ्ट खानेपानीका लागि साझेदारी गरेको बागलुङ नगरपालिकाका निर्वातमान नगर प्रमुख जनकराज पौडेलले जनाकारी दिनुभयो ।

बागलुङ सदरमुकामदेखि विमानस्थल सम्मको पहुँच मार्ग, विमान स्थलमा आवश्यक पूर्वाधार लगायत प्राविधिक दृष्टिले कठिन हुँदा हुँदै पनि बागलुङ नगरपालिकाले सुरुवाती दिनमा विमान कम्पनीलाई आर्थिक बोझ नपर्ने गरी १२ जना यात्रुको सुनिश्चित गरी व्यवसायिक उडान थालेकै कारण विमानस्थल कालोपत्रे भएको हो ।

अहिले बिमान स्थलको धावन मार्ग कालोपत्रे गरिएको छ । बिमान स्थल नियमित सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माण सकिएर उडानको तयारीमा छ । बागलुङ बजारदेखि बिमान स्थलसम्म जोड्न कालिगण्डकी करिडोर सडक मार्ग कालोपपत्रेका लागि ठेक्कामा जान बजेट सुनिश्चितता भइसकेको छ ।

यस्तै सुरुवातको दिनका प्राविधिक दृष्टले असम्भव भनिएको बागलुङ–पर्वत जोड्ने विश्वकै लामो दावी गरिएको झोलुङ्गे पुल पाँच बर्षकै अवधिमा सम्पन्न भएको छ । नगरपालिकाले गौरवको योजना विश्वकै लामो (५६७ मी.) झोलुङ्ले पुल निर्माण गरेर बागलुङलाई विश्वसामु चिनाउने काम गरेको छ । हाल झोलुङ्गे पुलको नाम ‘गण्डकी सुनौलो झुला’ गण्डकी गोल्डेन ब्रिज भनेर नामाकरण गरिएको छ । उक्त पुललाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । पुल निर्माण भएपछि पुल तर्न र अवलोकन भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगवमन बृद्धि हुँदै गएको छ ।

बागलुङ बजारमा व्यवस्थित बसपार्क नहुँदा लामो समयदेखि ठूलो समस्या भोग्नुप¥यो । शहरीकरण बढ्दै बागलुङ गरेको बजार अव्यवस्थित हुँदा व्यवस्थित बसपार्क निर्माणका लागि २०५९ सालदेखि नै प्रक्रिया शुभारम्भ भएको थियो । तर काम हुन सकेको थिएन् । बागलुङको विकास र व्यवस्थित बजारका लागि बागलुङ नगरपालिकाका स्थानीय ५२ जनाले उपलब्ध गराएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गामा बागलुङको उपल्लाचौरमा बसपार्क निर्माणको काम सम्पन्न भएर हस्तान्तरण भएको छ ।

बागलुङ नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसको समयमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर देशव्यापी रुपमा ठूलो प्रशंसा बटुलेको थियो । कोरोना महामारीको समयमा धौलागिरि अस्पतालमा शव व्यवस्थापन नभएको समयमा बागलुङ नगरपालिकाले शव व्यवस्थापनका लागि शव वाहनको व्यवस्थापन गर्नका लागि निकै उत्कृष्ट भूमिका खेलेको थियो ।

अन्तर्राष्ट्रिय समाज बागलुङ, प्रवासी नेपाली संघ बेलायत शाखाको सहकार्यमा बागलुङ नगरपालिकामा टेलिमेडिसिन सेवासमेत सञ्चालनमा ल्याएको छ । बागलुङ नगरपालिका तथा यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य क्षेत्रमा अझै उत्कृष्ट सेवा प्रदान गर्नका लागि विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–१४ मा १५ बेडको नगर अस्पताल सञ्चालन गरेको छ । वडा तहका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी नभएको वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ ।

बागलुङ बजारका चोकहरु साँघुरा हुँदा नगरबासीले सधैं सास्ती खेप्नुपरेको थियो । नगरपालिकाले पहिलो वर्षदेखि नै बजारका महत्वपूर्ण चोक सुधारका कार्यक्रम सञ्चालनमा ल्यायो । जिल्ला प्रशासन कार्यालय अघिको चोक, ट्राफिक चोक, हुलाक चोक, क्याम्पस चोकलगायतका चोकहरु उदाहरण हुन् । चोक सुधारसँगै वर्षाको समयमा बागलुङ बजारमा खोला जस्तै बग्ने सडक नालीको व्यवस्थापन अर्को महत्वपूर्ण काम हो ।

बागलुङको मालिका क्षेत्रलाई वन्यजन्तु संरक्षण क्षेत्र निर्माणको तयारी गरेको छ । बागलुङ नगरपालिकाले बागलुङको मालिका क्षेत्रमा फैलिएको जंगललाई संरक्षण क्षेत्र घोषणा गरी ‘वातावरणीय चिडियाखाना’ निर्माणको कामलाई अगाडि बढाएको हो । बागलुङ नगरपालिका ५, ६ र ७ को उपल्लो भेगमा रहेको जंगललाई संरक्षित क्षेत्र घोषणा गरी वातावरणीय चिडियाखानाको रुपमा विकास गर्नका लागि नगरपालिकाले संघीय सरकार, प्रदेश सरकारसँगको सहकार्यमा यो योजनाले मुर्तरुप पाउने क्रममा रहेको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार स्थापना भएयता बागलुङ नगरपालिका भित्र प्रदेश सरकारको लगानीमा १५ किलोमिटर र संघिय सरकारको लगानीमा नौ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरेको छ । नगरपालिकामा हालसम्म २३ दशमलव ६६ किलोमिटर कालोपत्रे र ढलान भएको छ । त्यस्तै १३.३५ किलोमिटर पक्की नाली निर्माण सम्पन्न हुनुका साथै १ सय ३९ किलोमिटर सडक निर्माण भएको छ । १४.७७ किलोमिटर पैदल मार्ग निर्माण भएको छ भने ३ किलोमिटर तारजाली लगाउने काम सम्पन्न भएको छ ।

जंगलको रुपमा विकास भैरहेका शहीद पार्क र विरेन्द्र ऐश्वर्य पार्कले मुहरा फेरेका छन् । उक्त पार्कलाई आधुनिक र सुविधा यक्त बनाउन थालेको मेयर पौडेलको भनाई छ ।

बागलुङ नगरको फोहोर व्यवस्थापनको विषयमा नगरका जनप्रतिनिधि आएपछि सबैभन्दा धेरै प्रश्न उठेको विषय हो । जिम्मेबारी पाएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले काम नगरेका कारण आएका प्रश्न तथा सुझावको ममन गर्दै नगरले आँफैले फोहोर व्यवस्थापनको काम थालेको छ । जनप्रतिनिधि आउनु पूर्व दुई करोड २२ लाख रुपियाँ रहेको बागलुङ नगरपालिकाको आन्तरीक राजश्व अहिले पाँच करोड १० लाख लक्ष्यमा छ । आउँदो बर्ष ७ करोडको हाराहारीमा पुग्ने लक्ष्य राखिएको छ ।

बागलुङ नगरपालिकाको पहलमा वडा नं. ९ तित्याङमा तामाखानीको सम्भाव्यता अध्ययनको काम सकिएको छ । चिनियाकम्पनीसँग शुभम् ग्रुपले सहकार्य गरेर गरेको अध्ययनमा तामाको खानी रहेको पत्ता लगाएको छ । खानी बिभागको अनुमति कुरीरहेको कम्पनीले काम थाल्दा उत्पादन, राजश्व, स्थानीय बस्तुको व्यापार र रोजगारी सिर्जना लगायतका अबसरहरु प्राप्त हुनेछन् । बागलुङ नगरपालिका जिल्लामानै पहिलो उद्योग ग्राम निर्माण गर्ने पालिका हो । बागलुङ नगरपालिका–१३ कालाखोलामा निर्माण गरेको उद्योग ग्रामले उद्योग प्रबद्र्धन र रोजगारी सिर्जनमा सहयोग पु¥याउने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *