पहिचानविहीन कायत समुदायबाट पहिलो उपमेयर

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा स्थानीय तहको निर्वाचन सकियो । निर्वाचनमा धेरै समुदायबाट जनप्रतिनिधिहरु चुनिए । १० वटा पालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा पहिचानविहीन कायत समुदायले पनि स्थान पायो । ढोरपाटन नगरपालिका वडा नम्बर ७ मात्रै रहेको कायत समुदायले यसपालीको निर्वाचनमा तीन जना जनप्रतिनिधि पाएको छ । एक उपमेयर र दुई वडा सदस्य कायत समुदायका छन् ।

ढोरपाटन नगरपालिकाको उपमेयर धनबहादु कायत (कल्याण), वडा नम्बर ७ को वडा सदस्यमा खगीसरा कायत र रामबहादुर कायत निर्वाचित भएका छन् । उनीहरु सबै फकर–फरक पार्टीबाट निर्वाचत भएका हुन् । उपप्रमुखमा कल्याण नेपाली कांग्रेसबाट, वडा सदस्य खगीसरा नेकपा माओवादी केन्द्र र रामबहादुर राष्ट्रिय जनमोर्चाबाट निर्वाचत भएका हुन् ।

वडा सदस्यमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा हिमा कायत राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित भएकी थिइन् । उनी कायत समुदायको पहिलो जनप्रतिनिधि भए पनि माथिल्लो पदमा भने अहिलेसम्म त्यस मुदायमको प्रतिनिधित्व हुन सकेको थिए । यस पटकको निर्वाचनमा कल्याण कायत उपमेयरमा निर्वाचत भएपछि कायत समुदायमा खुसी छाएको छ ।

कायतले ५ हजार ६५० मत प्राप्त गरि उपमेयरमा निर्वाचित भएका छन् । उनले राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)की ताराकुमारी पुनलाई ११६६ मतान्तरले जितेका थिए । पुनले ले ४ हजार ४८४ मत प्राप्त गरेकी थिइन् ।

कायत समुदायको संख्या ४००
बागलुङको ढोरपाटनमा मात्रै बस्ने कायत समुदायको संख्या निकै कम छ । नेपालमा ढोरपाटन बाहेक अन्य ठाउँमा कायत समुदायको बसोबास छैन । यिनीहरु ढोरपाटन नगरपालिका वडा नम्बर ७ को बोबाङ र वडा नम्बर ९ को ढोरपाटन क्षेत्रमा बस्ने गर्छन् । खासगरी कृषि र पशुपालन क्षेत्रमा आवद्ध कायत समुदाय अहिले पनि परम्परागत पेसालाई निरन्तरा दिँदै आएका छन् ।

उनीहरु हिउँदको समयमा बोबाङ र वर्षातको समय ढोरपाटनमा बस्ने गर्छन् । ७६ घर परिवार रहेको कायत समुदयाको जनसंख्या करिब ४०० रहेको स्थानीयको भनाई छ । यसभन्दा अगाडी कायत समुदायबाट जनप्रतिनिधि नभएको स्थानीय ७७ वर्षीय नरबहादुर कायतले जानकारी दिए । उनले कायत समुदायको अहिलेसम्म पहिचान नहुँदा जनप्रतिनिधि हुन नपाएको गुनासो गरे ।

पहिचान नहुँदा सेवाबाट वञ्चित
राज्यले हालसम्म पनि कायत समुदायको पहिचान दिन सकेको छैन । पहिचान नहुँदा राज्यले दिने सेवा सुविधा दिनबाट वञ्चित भएको नरबहादुर बताउँछन् ।

‘हाम्रो समुदायको राज्यले अहिलेसम्म पहिचान दिन सकेन, राज्यले पहिचान दिन नसक्दा हामी राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएका छौँ,’ कायतले भने ‘राज्यले विभिन्न समुदायलाई आक्षणको व्यवस्था गरेको छ, अन्य सेवा सुविधा पनि दिएको छ, तर हामी त्यस्ता खालका सेवा सुविधाबाट अहिलेसम्म वञ्चित भएका छौँ ।’

उनले आदिवासी जनजाति, अल्पसंख्यक तथा लोपोन्मुख लगायतका समुदायलाई आरक्षण र अन्य सेवा सुविधा दिँदै आएको तर आफूहरुले त्यस्ता सेवा सुविधा कुनै पनि पाउन नसकेको गुनासो गरे ।

‘पहिचानको लागि केन्द्र सरकारलाई घचघच्याउँ छु’
विद्यार्थी कालदेखि राजनीतिमा लागेका उपमेयर कायतले कायत लगायत अन्य समुदायको समस्या समाधानका लागि केन्द्र सरकारलाई घचघच्याइ राख्ने बताए । उनले नेपालका धेरै जातजातिलाई राज्यले पहिचान दिएको भन्दै उनीहरुलाई जस्तै कायत समुदायलाई पनि पहिचान दिन आवश्यक रहेको बताए । उपमेयर कायतले राज्यले कायत समुदायलाई अल्पसंख्यक, जनजाति कुन समुदायमा राख्ने हो त्यस तर्फ ध्यान दिनु पर्ने बताए ।

‘अहिलेसम्म कायत समुदाय पहिचानविहीन छ, राज्यले यस समुदायलाई कुनै पनि पहिचान दिन सकेको छैन, यो समुदायलाई अल्पसंख्यकमा राख्ने होकी, आदिवासी जनवातिमा राख्ने होकी के मा राख्ने हो ?, राज्यको ध्यान जान जरुरी छ, मैले पनि सबै तहका सरकारसँग यो विषयमा आवाज उठाउने छु,’ उपमेयर कायतले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *