बलेवा कालभैरव मन्दिर : छ वर्ष देखि समिति बिहिन, संरक्षणमा चुनौती


खेमराज गौतम, बागलुङ

जेठको दोस्रो मंगलबार बिहानै देखि बलेवा स्थित कालभैरव मन्दिरमा दर्शनार्थीको भीड थियो ।

भैरवस्थान मन्दिर वरपर दर्शनार्थी चढेका सवारीसाधनहरुको थेगिनसक्नु चाप थियो । पछिल्लो समय भैरवस्थानमा दर्शनार्थीहरुको आकर्षण बढ्दै गएको छ । सडकको सहज पहुँच र एक घण्टामै जिल्ला सदरमुकाम बाट पुग्न सकिने भएकाले धार्मिक पर्यटकहरुको आकर्षण भैरवस्थान मन्दिर बन्दै आएको छ ।

अहिले भैरवस्थान पुग्ने सडक सुधार भएसंगै ट्याक्सी समेत पुग्न थालेका छन् भैरव स्थानमा । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडा संग समेत सिमाना जोडिएको छ । तर काल भैरव मन्दिरको संरक्षणका लागि सरोकारवालाहरुको भने ध्यान पुग्न सकेको छैन । कालभैरव व्यवस्थापन समिति ६ वर्षदेखि पदाधीकारी विहिन हुँदा कालभैरव मन्दिर टुहुँरो जस्तै बनेको स्थानीयको भनाई छ । धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण क्षेत्रका रुपमा रहेको कालभैरव मन्दिर अहिले निकै जीर्ण अवस्थामा रहेको छ ।

काल भैरव मन्दिरको प्रचार प्रसारका कारण टाढाटाणबाट दर्शनार्थीहरु आउने भएपनि उनिहरुलाई खानेपानी, आश्रय स्थल लगायतको अभाव छ । भैरवस्थान मन्दिरको महत्व धेरै भएपनि संरक्षणमा कसैले चासो नदिदा मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । मन्दिर व्यवस्थापन समिति गठनलाई राजनीतिकरण गर्दा ६ वर्षदेखि पदाधीकारी विहिन बनेका कारण मन्दिरले सात वर्ष अघि सारेको गुरु योजना समेत अलपत्र भएको छ ।

बागलुङ नगरपालिका, अमालाचौर वडा कार्यालय र गण्डकी प्रदेशको साझेदारीमा मन्दिर वरपरको क्षेत्रमा केही सुधार भने भएको छ तर मुख्य मन्दिरको पुर्ननिर्माणमा कसैले चासो देखाएको पाइएको छैन भने मन्दिरमा उठेको भेटी लगायतको रकमको हिसावकिातब समेत छैन । मन्दिर व्यवस्थापन समितिको नाममा रहेको खाता अहिले ६ वर्षदेखि रोक्का रहेको छ ।

यो पाँच वर्षमा मात्रै बागलुङ नगरपालिका, अमलाचौर वडा कार्यालय र गण्डकी प्रदेशको झण्डे ४५ लाख रकम मन्दिर व्यवस्थापनका लागि भौतिक पूर्वाधारमा खर्च भएपनि मन्दिर व्यवस्थापन समिति गठन गर्न नसक्दा मन्दिरले सोचे पुननिर्माण गर्न नसकिएको बागलुङ नगरपालिका–१२ का निर्वतमान वडा अध्यक्ष गुरुदत्त पाठकले बताउनुभयो । “मन्दिरको महत्व जनतामा बढेर गयो सरोकारवालामा घट्दै गएको महशुस गरे समिति गठन गर्न मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय धाउदा धाउदै पाँच वर्ष वित्यो, अहिले नयाँ वडा अध्यक्ष आउनुभएको छ” पाठकले भन्नुभयो “दिपेन्द्र बहादुर थापाले आफूलाई व्यवस्थापन समितिमा तेस्रो पटक राख्नुपर्छ भनेर लविङ गरेका कारण यस्तो भएको हो, अब नगरपालिकामा आएको नयाँ समूहले केही गर्ला ।”

मुख्य मन्दिर पुननिर्माण गर्न नसकिएपनि पाँच वर्षमा त्यहाँ पुग्ने सडक सुधार, मन्दिर छेउछाउको जग्गा व्यवस्थापन, सत्तल निर्माण र खानेपानीको मर्मत सम्भार गर्न सकेको बताउनुभयो । पाठकले राजनीतिक खिचातानीका कारण भक्तजनहरुका नजरमा चर्चित बनेको मन्दिर व्यवस्थापनमा भने निराशाजनक अवस्था छ । उहाँले मन्दिरमा संकलन भएको भेटी लगायतको आर्थिक हिसाव किताव समेत व्यवस्थापन गठन नहुँदा सार्वजनिक नभएको तर ठेक्का मार्फत संकलन भएको रकम मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा भएपनि उक्त खाता रोक्का भएको जानकारी दिनुभयो ।

समिति गठनमा बागलुङ नगरपालिकाले चासो नदिदा आफ्नो कार्यकालमा कालभैरव मन्दिर पुननिर्माण गुरुयोजना ल्याएपनि अलपत्र परेको कालभैरव मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिपेन्द्र बहादुर थापाले बताउनुभयो । उहाँले मन्दिर संरक्षणका लागि आएको बजेटमा समेत व्यवस्थापन समितलाई खबरै नगरी कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

“मन्दिर पुननिर्माणका लागि गुरु योजना बनाएका थियौ, अहिले यसै थलिएको छ, व्यवस्थापन समिति विहिन छ, मन्दिर कसरी चलेको छ कसैलाई अत्तो पत्तो छैन” थापाले भन्नुभयो मन्दिर पुननिर्माणका लागि काठको समेत व्यवस्थापन भइसक्दा समितिलाई काम गर्न नदिएपछि अहले यस्तो भयो, सरकोकारवाला निकाय मालपोत र प्रशासनले सुनुवाई नगर्दा सम्म यस्तै हुन्छ ।”

बागलुङ बजारबाट कालभैरव मन्दिर आउनका लागि आधिकांश बाटो कालोपत्रे भइसकेको छ भने चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । बागलुङ नगरपालिका–१२ का नवनिर्वाचित वडा अध्यक्ष कोपिलामणी शर्माले दर्शनार्थीहरुको चाप बढिरहेको कालभैरव मन्दिरमा व्यवस्थापन भने डामाडोल रहेको स्विकार गर्नूभयो । उहाँले आफूले समिति गठनका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

“सडकको सहजता र प्रचारप्रसारको कारण काल भैरवको महिमा ज्यादै बढ्यो तर व्यवस्थापन डामाडोल छ मन्दिर निकै जीर्ण छ” वडा अध्यक्ष शर्माले भन्नुभयो “नयाँ समिति गठन गरेर खाता सञ्चालन गर्ने, गुरु योजना अनुसार मन्दिर पुननिर्माण गर्ने र हाल सम्म व्यवस्थापन समितिको खातामा रहेको रकम सार्वजनिक गर्नेछु ।” वि.सं १७८० तिर पाल्पाबाट ल्याएका कालभैरवलाई यहाँ स्थापना गरीएको किम्मदन्ती छ । मन्दिरमा मंगलबार र शनिबार विशेष पुजा हुँने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *