कोरियाको आम्दानी : कुखुरापालनमा लगानी


खेमराज गौतम, बागलुङ
सानै उमेरबाट व्यावसायीक सोच बनाउनुभएको बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जि.सीलाई त्यसबेला लगानी अभाव भयो ।

व्यावसायमै राम्रो संभावना देख्नुभएको जिसी सन् २०१३ मा कोरिया जानुभयो । इपिएस भाष अध्ययन गरेर कोरिया जानुभएको जिसीले कोरियाबाट फर्केर व्यावसायीक कुखुरापालन गर्दै आउनुभएको । जिसीले ६ वर्ष कोरिया बसाई टुङ्गाएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आउनुभएको छ ।

उहाँले चार वर्षदेखि व्यावसायीक कुखुरापालन गर्दै राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ । “व्यावसायीक सोच पहिल्लै हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसवेला कोरियाको लागि भाषा परिक्षा पास गरेर गइयो” जिसीले भन्नुभयो “दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाए र ब्रोइलर जातका कुखुरा पालन गरिरहेको छु ।” उहाँको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् ।

उहाँले कोरियाबाट आउदा कमाएको रकम मध्ये रु. १० लाखको लागतमा फर्म स्थापना गर्नुभएको हो । शुरुमा एक पटक कुखुरा हाल्दा एक लाख देखि डेढ लाख कमाई हुने गरेको भएपनि अहिले दानाको मुल्य आकाशिएका कारण समस्यामा भएको उहाँको भनाई छ । उहाँले पहिला जस्तो नाफा नभएपनि आफू सन्तोष भएको बताउनुभयो ।

जिसीले कुखुरा पालेपछि आफूलाई दाना खुवाएर गरेको दुख उठेर घर खर्च चल्दै आएको बताउनुभयो । “शुरुमात राम्रै कमाई भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाई हुन्थ्यो, अहिले दानाको भाउँ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख समेत छैन” उहाँले भन्नुभयो “अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खाना लाउन पुगेकै छ ।”

उहाँले आफ्नै ८ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आउनुभएको छ । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुन विदेश जाने समस्या दोहोरिने नियती बन्छ भन्दै उहाँले विदेशको कमाई सदुपयोग गर्न सुझाव दिनुहुन्छ । कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

कोरियामा गरेको दुख सम्झदा नेपालमानै केही गर्ने सोच पलाएर आउने गरेको उहाँको भनाई । उहाँले आफ्नो फर्मलाई विस्तारै बढाउदै लैजाने योजना बनाएको बताउदै दानाको मुल्य अनुसार कुखुराको मासुको मुल्य बढ्न नसकेको बताउनुभयो । अहिले बजारमा कुखुराको मासुको मुल्य प्रति केजी रु. ४६० रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *