नेपालको दार्जलिङ ‘बनौलेक’

खेमराज गौतम, बागलुङ

चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा छ शुन्दर बनौ गाउँ । गाउँमाथीको जंगलको बीचमा रहेको पहाडको भ्यू टावर ।

त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस उक्त स्थानबाट धौलागिरीका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको हल्जुरेडाँडाबाट देखिने दन्ते लहर जस्तै हिमऋङ्खलाले त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुलाई नलोभ्याउने कुरै भएन । हल्जुरेडाँडाबाट देखिने सुर्योदयले त दार्जलिङ्को झल्कोनै मेटाउने गरेको छ । सूर्योदय हेर्नका लागि दार्जलिङ पुग्ने पर्यटकहरुका लागि यो आकर्षक गन्तव्य बन्न सक्नेमा दुइमत छैन ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार, बागलुङ बजार र पर्वत जिल्लाको कुस्मा बजार एक साथ देख्न सकिने उक्त डाँडाँले बनौप्रति पर्यटकहरलाई आर्कषित गरिरहेको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौं अहिले सडक कालोपत्रे भएपछि झनै बढी चर्चामा आउन थालेको हो । कला सस्कृतिको धनी रहेको बनौ गाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । उनिहरुको मारुनी नाँच र मगर बाँजा यहाँको पहिचान समेत हो । उकालो कच्ची सडक भएका कारण कालोपत्रे नहुँदा बनौ पुग्नै सास्ती भएपनि अहिले बनौ सम्मै सडक कालोपत्रे पुगेपछि आन्तरिक पर्यटकहरु यहाँ आउन थालेको जलजला गाउँपालिका–९ बनौका अध्यक्ष गौ बहादुर पुनले बताउनुभयो ।

“बाहिरी पर्यटक ल्याउने मुख्य आधार सडक हो, सडकको कारण धेरै विकास रोकिने रहेछ, बनौ आउने सडक हालैमात्रै कालोपत्रे भएको छ, बगैचाबाट साढे १२ किलोमिटर सडक हालैमात्र पक्की भएपछि बनौ पुग्न निकै सहज भएको छ” अध्यक्ष गौ बहादुर पुनले भन्नुभयो “आन्तरिक मात्रै हैन बाह्य पर्यटकहरु समेत ल्याउने हाम्रो योजना हो, अहिले हल्जुरेडाँडाँमा पुग्ने पदमार्ग, शौचालय सहितको सत्तल रखानेपानीको व्यवस्थापन गरेका छौं, दोस्रो कार्यकाल भर्खर शुरु भएको छ, बनौ आफैमा शौन्दर्ययुक्त छ, प्रचार प्रसार नपुगेर हो सबैको सहयोगमा यसक्षेत्रको प्रचारप्रसारमा जुटेका छौं, वडा कार्यालय र गाउँपालिकाले समय–समयमा पर्यटन क्षेत्रका विज्ञ, तथा पर्यटन अभियान्ताहरुलाई समेत त्यहाँ लैजाने गरेको छ ।”

उच्च पहाडी भेगमा रहेकाले त्यहाँ उत्पादित आलु निकै स्वादिष्ट छ । त्यहाँ पुगेकाहरुले बनौको मुख्य बाली आलु खोजी–खोजी कोसेली लैजाने गरेका छन् ।

बागलुङ, पर्वत र म्याग्दीबाट करिब एक घण्टाको सवारी यात्रामा पुग्न सकिने भएपछि तीन जिल्लाका आन्तरिक पर्यटकको रोजाई बनौ लेक बन्न थालेको छ । यस स्थानमा चिसो मौसम र हिउँ पर्दा बढी आन्तरिक पर्यटकहरु यहाँ आउने गरेको स्थानीय अम बहादुर गर्बुजाले बताउनुभयो ।

“यस स्थानमा सूर्योदय, दृश्य अवलोकन नै मुख्य विशेषता हो पछिल्लो समय पर्यटकहरु यहाँ वनभोज समेत खान आउछन्” गर्बुजाले भन्नुभयो “बेलुका आएर बिहान सूर्योदय र हिमालहरु हेरेर फर्कने गरेका छन् भने केही पर्यटकहरु खाने बस्ने व्यवस्था सहित र टेण्ट टागेर डाँडाँमै बस्ने गरी आउछन्, अहिले वर्खा लागेर होला कम पर्यटक आएका छन्, हिउँ पर्दा यस स्थानमा पर्यटक बोकेका सवारी राख्ने ठाउँनै हुँदैन ।”

यस क्षेत्रामा पर्यटकहरुका लागि होटलहरुको समेत व्यवस्था छ । गर्मीले आजित बनेका मानिसहरु सितलताको लागि सेमत बनौ पुग्ने गरेका छन् । बनौ लेक पुग्न सडकको सहजता भएसंगै पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सूर्योदय हेर्नकै लागि नेपालीहरु टाढा–टाढा पुग्दै आएपनि पक्की सडकको पहुँचमै आकर्षक पर्यटकीय गन्तव्य भएपछि त्यहाँ पुग्ने पर्यटकको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । बनौको विषयमा आफूले सुनेभन्दा आकर्षक स्थान रहेको शनिबार बागलुङ बजारबाट बनौ पुग्नुभएका पर्यटक शंकर जिसीले बताउनुभयो ।

उहाँले बनौको प्रचार–प्रसार नपुगेको भन्दै यस स्थानमा धेरै भन्दा धेरै आन्तरिक र बाह्य पर्यटकहरु आउन सक्ने संभावना रहेको उहाँले बताउनुभयो । अहिले बनौ लेकमा टेण्ट बोकेर पुग्ने र लेकमै रात बिताउने गरी बागलुङ पर्वत र म्याग्दीका स्थानीयहरु आउँने गरेको बनौका स्थानीय युवा विश्व पूर्जा मगरले जानकारी दिनुभयो ।

उहाँले शुक्रबार बेलुका बसेर बिहान दृश्य अवलोकन गरेर जाने गरी कर्मचारीहरु समेत यस स्थानमा आउने गरेको बताउनुभयो । यस क्षेत्रमा थप पूर्वाधारहरु भने बनाउन बाँकी नै छ । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा रहेको बनौ लेकको डाँडाँबाट तीन जिल्लाका सदरमुकाम संगै धौलागिरी, अन्नपूर्ण, निलगिरी लगायतका दर्जनौ हिमऋङ्खलाहरु समेत देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *