बागलुङमा चिया उत्पादनको तयारी


खेमराज गौतम, बागलुङ

तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क परेको छ ।

शुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् । उक्त स्थानमा तीन वर्ष लगाएर ६७ रोपनी जग्गामा चिया खेती थालिएको छ । पहिलो वर्ष लगाएको चियाको बोट काटछाट गरेर टिप्नका लागि तयारी अवस्थामा छन् ।

रेशलाई चिया उत्पादनको हव बनाउनका लागि चिया मात्रै हैन विरुवा समेत उत्पादन गर्ने योजना वडा कार्यालयको छ । रेशले एक वर्ष भित्र चिया मात्रै हैन चियाका विरुवा समेत निर्यात गर्ने काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“रेशमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा समेत समावेश छ, विरुवा लगाउनका लागि यही परियोजनाले सहयोग समेत गरेको छ” लामिछानेले भन्नुभयो “तीन वर्षमै उत्पादनको चरणमा आउला भन्ने सोचेकै थिएनौ, अहिले पहिलोपटक लगाएका १० हजार चियाका बोटले उत्पादन दिन थालेका छन्, हामीले रेशमै ग्रिन चिया उत्पादन गरेर विक्रि गर्ने लक्ष्य लिएका छौ भने चिया प्रशोधन औजार समेत आइसकेको छ, हामीले प्राविधिकहरुको आवश्यक परामर्श पछि चिया टिपेर प्रशोधन गर्न थाल्नेछौं ।” लामिछानेले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ मार्फत चियाका विरुवा उत्पादनका लागि नर्सरी समेत तयार भइसकेको बताउनुभयो ।

अहिले चिया प्रशोधन केन्द्र स्थापना र विरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापन भने स्थानीय रेश साना किसान कृषि सहकारी मार्फत भइरहेको छ । चियाका मुना तयार भइसकेको र चिया प्राविधिकहरुको सल्लाहमा पहिलोपटक परिक्षणका लागि चिया टिपेर प्रशोधन गर्ने रेश साना किसान सहकारी संस्थाका अध्यक्ष याम बहादुर कार्कीले बताउनुभयो । उहाँले बागलुङमा पहिलोपटक चिया उत्पादन गर्ने तयारीमा आफूहरु रहेको बताउदै आगमी वर्षदेखि थप चियाका बोटहरुले समेत उत्पादन दिदै जाने बताउनुभयो ।

“यो वर्ष चियाको उत्पादन परिक्षण हुँनेछ, चिया टिप्न तयारी अवस्थामा छौं, तीन वर्षमै चिया दिन थालेपछि यहाँका स्थानीयहरु चिया खेती तर्फ आकर्षित हुँन थालेका छन्, वर्षेनी चियाका विरुवा थप्दै जाने र उत्पादन समेत बढ्दै जानेछ, आगमी तीन वर्ष पछि ५६ हजार विरुवालेनै चिया उत्पादन दिन थाल्नेछन भनेत्यत्तिकै मात्रामा नयाँ विरुवा थपिनेछन्” कार्कीले भन्नुभयो “चियाको विरुवा जति झाँङ्गिदै गयो त्यती नै उत्पादन वृद्धि हुने अपेक्षा छ, चिया प्रशोधन औजार आइसकेको छ भने चियाका विरुवा उत्पादनका लागि टर्नेल स्थापना गरिसकेका छौ अब विरुवा उत्पादन गरेर रेशमा रहेको सबै खाली जग्गामा लगाउने मात्रै छैनौ निर्यात समेत गर्नेछौं ।”

आर्थिक वर्ष २०७८/०७९ सालमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ अन्र्तगत प्राप्त नौ लाख ५० हजारले चिया प्रशोधन औजार र नर्सरीका लागि टर्नेल निर्माण गरेको कार्कीको भनाई छ ।
हाल सम्म रेश लगायत सिगाना र धम्जामा समेत ताराखोलामा स्थित गोल्डेन टि स्टेटमा उत्पादन भएको विरुवा लगाउदै आएकोमा अवदेखि रेशमै विरुवा उत्पादन गरिने छ ।

तीन वर्ष अघि रेशको जनकल्याण आधारभूत विद्यालयको जग्गा र बौरको खाली जग्गामा चिया खेती थालिएको थियो । रेशमा चियाको राम्रो संभावना देखिएपछि सार्वजनिक जग्गामा मात्रै नभएर यहाँका व्यक्तिगत जग्गालाई समेत उपयोगमा ल्याउने वडा कार्यालयको लक्ष्य रहेको छ ।

चिया खेतीका लागि उच्च पहाडी र भिरालो जमीन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चिया खेतीतर्फको आर्कषण बढ्दो देखिएपनि रेशले आफूलाई व्यवसायिक बनाउदै लगेको छ । रेशले भन्दा पहिला बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानामा चियाका विरुवा लगाएपनि स्थानीयले सक्रियता नजनाउदा विरुवा बढाउन सकेको छैन ।

बागलुङमा छ वर्ष अघिदेखि व्यावसायिक चिया खेती थालिएको हो । पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा लगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीमार्फत व्यावसायिक चिया खेती छ वर्ष अघि देखि थालिएको छ ।

कम्पनीले बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ सिरबारेमा ५६२ रोपनी जग्गामा चियाखेती थालेको छ भने विरुवा उत्पादन गरेर विक्रि समेत गर्दै आएको छ । परिक्षणका लागि ग्रिन टि उत्पादन गर्दै आएको कम्पनीले समेत चिया प्रशोधन औजार खरिद गरिसकेको छ । कम्पनीले छिट्टै चियाको व्यावसायिक उत्पादन थाल्ने योजना बनाएको छ ।

समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने चिया प्रविधिज्ञ बताउँछन् । माटोको अवस्था, चिस्यान, भिरालो जग्गा तथा हावा नछेक्ने खुला भू–बनोटमा चिया खेती फस्टाउने गरेको छ ।

यो पनि पढ्नुहोस्

बागलुङमा चिया उत्पादनको तयारी

  1. हाम्रो गाउ धाईरिंग मा पनि खाली जमिन मा चिया खेति गर्ने तिब्र इच्छा थियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *