अग्रलेख : निजी छोडेर सरकारी अस्पतालमा सेवा


खेमराज गौतम, बागलुङ

कुनै दिन बागलुङको सरकारी अस्पताल धौलागिरि अस्पताल सुनसान हुँन्थ्यो । सरकारी अस्पताल एउटा रिफर सेन्टरका रपमा मात्रै चिनिएको थियो । साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा जिल्ला अस्पताल सरहकै सुविधा थिएन । अस्पतालमा आएका बिरामीहरु आउदाराथ रिफर भएर पोखरा जानुपर्ने बाध्यता केही वर्ष अघिसम्म थियो नै ।

बागलुङका स्थानीयहरुले रकम तिरेर भएपनि उपचार पाउन सकेका थिएनन् । साविक धौलागिरी अञ्चलका मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ जिल्लाका जनतालाई सेवा दिइरहेको अस्पतालले भने पछिल्लो समय काचुलिनै फेरेको छ ।

बागलुङको धौलागिरि अस्पतालको भौतिक पूर्वाधार, उपकरण तथा विशेषज्ञ सेवाका कारण बिरामीको चाप ह्वात्तै बढेको छ भने स्वास्थ्य बीमाको सफल कार्यान्वयनले समेत अस्पतालमा विरामी आकर्षित भएका छन् । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ । अस्पतालमा चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामीलामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो समय धौलागिरी अस्पतालमा निकै सुधार भएको र स्वास्थ्य बीमाको बागलुङमा सफल कार्यान्वयन भएका कारण अस्पतालमा विरामीको चाप ह्वात्तै बढेका छन् ।

दरबन्दीका चिकित्सक नभएपनि अस्पतालले करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पतालमा सेवा दिदै आएको छ । कुनैदिन नीजि अस्पतालमा जाने विरामीहरु अहिले हाम्रो अस्पतालमा आउन थालेको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । अस्पतालमा दैनिक ३ सयदेखि ४ सय बिरामी सेवा लिन आउने गरेको अस्पतालको भनाई छ ।

“खासगरी संघीयता कार्यान्वयन पश्चात यो अस्पताल गण्डकी प्रदेश मातहत आयो, त्यसपछि ठूला उपकरण थप भए, थलिएको भौतिक पूर्वाधार समेत पुरा हुन थाले” डा. पोखरेलले भन्नुभयो “अहिले अस्पताल नागरिकको भरोसायोग्य बन्दै आएको छ, हामीले सकेसम्म नागरिकलाई सन्तुष्टी पार्नेगरी उपचार गरेका छौं, अस्पताल आउने अधिकांश विरामी स्वास्थ्य बीमा गरेका आउने गरेका छन् ।“

अस्पतालमा एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बाहेक अरु दरबन्दी भने रिक्त छ । करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन् ।

अहिले पाँच मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सकले अस्पतालबाट सेवा दिइरहेका छन् । दरबन्दी अनुसारका चिकित्सक आएमा अस्पतालले अझै गुण्स्तरीय सेवा दिन सक्ने अस्पतालको भनाई छ । अस्पतालको भौतिक संरचना तथा बाहिरी बातावरण समेत कुनै नीजि अस्पतालको भन्दा कम छैन अचेल । कुनैदिन अस्पतालले परिसरमा फोहोर राख्ने स्थानमा अहिले शुन्दर बगैचा निर्माण गरिएको छ । अस्पतालमा आएसका सेवाग्राहीहरु समेत अस्पताल सफा तथा शुन्दर देखेर आनन्दित हुँने गरेका छन् ।

बागलुङ जिल्लामा वि.सं.२०१६ सालमा डिस्पेन्सरीको रुपबाट सेवा दिन थालिएको यस अस्पताल २०३३ सालदेखि जिल्ला अस्पताल, २०६७ सालमा अञ्चल स्तरीय र धौलागिरिको सबैभन्दा ठूलो सहरकारी अस्पतालको रुपमा सञ्चालित छ । गण्डकी प्रदेशले प्रदेशको उप–प्रादेशिक अस्पताल बनाउनेगरी बजेट तथा कार्यक्रममा समावेश समेत गर्दै आएको छ ।

थपिए दजर्नौ उपकरण र सेवा

बागलुङको धौलागिरी अस्पतालमा २०७२ साल अघि डायलासिस सेवा थिएन, डायलासिस सेवा अभावमा अधिकांश मृगौलाका विरामी समस्यामा थिए तर अहिले अस्पतालमा डायलासिस सेवा थपिएको छ । डायलासिस सेवा मात्रै हैन अस्पतालमा थुप्रै उपकरण र सुविधा थपिएका कारण विरामीको चाप बढेको हो । अस्पतालले आफै अक्सिन उत्पादन गर्दै आएको छ भने कोरोना कालमा पाँच शैया क्षमताको आइसियु सेवा समेत शुरु गरेको थियो जुन अहिले पनि सञ्चालित छ । अस्पतालमा अहिले आइसियु, भेन्टिलेटर जस्ता अत्यावश्यक सेवा समेत थपिएका छन् ।

अस्पतालमा अपाङ्ग मैत्री संरचना, विद्युतीय भ¥याङ लगाएतका सेवा थपिएका छन् । हालै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० मा सिटिस्क्यान सेवाका लागि अस्पताललाई रु. १० करोड बजेट समेत विनियोजन गरेको छ । अस्पतालमा अहिले धौलागिरीका चारै जिल्लालाई पुग्ने अक्सिजन उत्पादन गर्ने रु. तीन करोड लागतको प्लान्ट निर्माण समेत गरिएको छ । अहिले अस्पतालमा आइसियु, भेन्टिलेटर संगै बालबालिकाका लागि एनआइसियु सेवा समेत सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

निजी छोडेर सरकारी अस्पतालमा विरामी

यहाँका स्थानीयहरु उपचार अभावमा पोखरा तथा काठमाण्डौ पुग्न थालेपछि जिल्लामा नीजि क्षेत्रबाट अस्पतालहरु सञ्चालन आउन थाले ।

जिल्लाका सामान्य विरामीहरु समेत ट्याक्सी चढेर पाखरा तथा ठूला शहरमा धाउन थालेपछि बागलुङमा नीजि क्षेत्रबाट अस्पताल सञ्चालनमा ल्याउन थालिएको थियो । जिल्लामा अहिले नीजि तथा सहकारी अस्पताल गरी तीन अस्पतालहरु सञ्चालनमा छन् । स्वस्थ्य बीमाको प्रभावकारी कार्यान्वयनका कारण कुनै दिन विरामीले भरिभराउ हुँने जिल्लाका नीजि अस्पतालहरु अहिले सुन्सान मात्रै हैन टाट पल्टिने अवस्थामा पुग्न थालेका छन् ।

जिल्लामा मुक्तिनाथ अस्पताल, निलगिरी अस्पताल र सफल पोलिकिल्नक गरी तीन वटा अस्पताल छन् । तीनै अस्पताल पुन नयाँ व्यवस्थापन, सेवा सुविधा थपेर सञ्चालनमा ल्याउने अथवा बन्द गर्ने भन्ने दोधारमा छन् भने विरामीको चाप सरकारी अस्पताल धौलागिरी अस्पतालमा हुँने गरेको छ ।

चार÷पाँच वर्ष राम्रो कमाई मात्र गरेनन् जनतालाई पोखरामा दिने स्वस्थ्य सेवा बागलुङबाटै दिएका नीजि अस्पतालले नागरिकको पोखरा तथा काठमाण्डौ पुग्न यातयात खर्च समेत जोगाईदिएका थिए । तर जिल्लाका तीन नीजि अस्पतालहरु अहिले भाडाको घरमा सञ्चालित छन् । उनिहरुले भाडा तिर्न समेत नसक्ने अवस्था आएको गुनासो गरेका छन् ।

जिल्लामा रहेको धौलागिरीकै ठूलो सरकारी अस्पताल क्रमश सुधार हुँदै जानु, विशेषज्ञ डाक्टर सरकारी अस्पतालमानै पाउनु तथा स्वस्थ्य बीमाको प्रभावकारीताको कारण बागलुङ जिल्ला सदरमुकामका तीन नीजि तथा सहकारी अस्पतालहरु टाट पल्टने अवस्थामा पुगेका हुन् ।

धौलागिरी अस्पताल गण्डकी प्रदेश सरकारको उप–प्रादेशिक अस्पतालको रुपमा विकास गरिरहेका कारण विरामीको चाप बढेको पाइएको छ । सरकारले स्वस्थ्यबीमा लागू गर्नु अघि सरकारी अस्पतालको सेवा गुणस्तर नभएपछि त्यसबेला नीजि अस्पतालको खाँचो भएपनि अहिले सरकारी अस्पतालले सेवा सुधारेपछि अस्पतालबन्द हुँने अवस्थामा पुगेको सहकारी संस्थाले सञ्चालन गरेको अस्पताल बन्द गर्ने अवस्थामा पुगेको निलगिरी अस्पताल बागलुङका अध्यक्ष डिल बहादुर कार्कीले बताउनुभयो ।

“कुनै दिन जिल्लामा नीजि अस्पतालको खाँचो थियो, सेवा ग्राहीको चाप समेत उस्तै थियो, नागरिकहरु स्वास्थ्य उपचारको नाममा बाहिरि जिल्ला गएका कारण हामीले सहकारी मार्फत अस्पताल सञ्चालन गरेका थियौं” अध्यक्ष कार्कीले भन्नुभयो “अहिले स्वस्थ्य बीमाको सफल कार्यान्वयन भएपछि सरकारी अस्पतालको सेवामा वृद्धि भएको छ, बीमा गरेको विरामीले अहिले सरकारी स्तरका अस्पतालबाटै राम्रो सेवा पाएका छन्, अहिले सहकारीद्वारा सञ्चालित हाम्रो अस्पतालमा विरामीको आकर्षण छैन, कुनै बेला जिल्लामै पहिलो विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा रहेको निलगिरी अस्पताल अहिले बन्द हुँने अवस्थामा पुगेको छ ।”

निलगिरी अस्पतालमा आइसियु र सिटिस्क्यान जस्ता ठूला सेवा छैनन् अन्य सेवा धौलागिरी अस्पतालमै बीमाका कारण निःशुल्क पाइन थालेपछि नीजि अस्पतालको चाप घटेको उहाँको भनाई छ ।

जिल्लाको सबैभन्दा पुरानो नीजि अस्पतालको रुपमा रहेको मुक्तिनाथ अस्पतालपनि अहिले बन्द हुँने अवस्थामा पुगेको छ । अस्पतालका सञ्चालक सुशिल पन्तका अनुसार अहिले विरामी आउन छोडेपछि टाक्टर राख्नै नसकिएको र भाडा समेत तिर्न समेत समस्या भएको बताउनुहुन्छ ।

“ठूला उपकरण राखेर धौलागिरीमै फरक क्षमतामा अस्पताल चलाउन पाए हुन्थ्यो, अहिलेको अवस्थामा अस्पताल चल्ने अवस्था छैन” पन्तले भन्नुभयो “हामीले सेवा त दिइराखेका छौं तर विरामीको चाप घट्दै गएपछि डाक्टर टिकाउन समस्या छ, यही अवस्थामा जिल्लाका कुनै पनि नीजि अस्पताल सञ्चालनमा आउन सक्ने अवस्था छैन ।” अस्पतालमा भन्दा औषधी पसलमा विरामीको चाप बढी भएको आफूले देखेको पन्तको भनाई छ ।

नयाँ सोच र नयाँ व्यवस्थापनका साथ अस्पताल चलाउन नसके यही अवस्थामा अस्पताल चल्न समस्या हुँने देखिएको सफल पोलिक्ल्निकका सञ्चालक दिपेन्द्र घिमिरेले बताउनुभयो । “विरामी नभएका हैनन् हाम्रो अस्पतालमा अझै विरामी आइरहेका छन्” घिमिरिेले भन्नुभयो “कोरोनापछि विरामीको संख्यामा कमी आएको छ, सरकारी अस्पताल धौलागिरी अस्पतालले सेवामा विस्तार तथा उपकरण थप गरेपछि नीजि अस्पताल बन्द हुँने अवस्थामा पुगेका छन् ।”

बागलुङ प्रभावकारी बन्दै स्वस्थ्य बीमा

बागलुङमा स्वस्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालित छ । एक पटक बीमा गरेका परिवारले धौलागिरी अस्पतालबाट सबै सेवा निरन्तर पाउन थालेपछि विरामीहरु नीजि छोडेर सहकारी अस्पताल आउन थालेका हुन् । धौलागिरी अस्पतालमा नभएको सेवा समेत उनिहरुले पोखरा तथा काठमाण्डौको सरकारी अस्पतालबाटै लिने गरेका छन् ।

नागरिकले स्वास्थ्य बीमाका कारण निःशुल्क उपचार पाएपछि नीजि अस्पताल छोडेर सरकारी अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको हो ।

जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको सो कार्यक्रममा हालसम्म ८० हजार स्वास्थ्य बीमामा आबद्द भएको स्वस्थ्य बीमा बोर्ड बागलुङ दर्ता अधिकारी नारायण शर्माले बताउनुभयो । उहाँका अनुसार स्वस्थ्य बीमा गर्ने नागरिकहरु दैनिक रुपमा वृद्धि भइरहेको र सरकारी अस्पतालले समेत सहज रुपमा सेवा दिइराखेको छ ।

“अस्पतालले सेवा नदिए विमितले बीमा रकम भुक्तानी गर्दैनन् अस्पतालले कस्तो सो दिन्छ भन्ने संग स्वास्थ्य बीमा कार्यक्रम अगाडी बढ्छ” शर्माले भन्नुभयो “बागलुङमा रहेको धौलागिरी अस्पतालको सेवा प्रभावकारी भएकै कारण नागरिकहरु बीमा प्रति आकर्षित भएका हन् ।”

सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको उक्त कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

धौलागिरी अस्पतालमा बीमा कार्यक्रम शुरुवात हुनु अघि कमै मात्रमा बिरामी आउन गरेकामा सो कार्यक्रम लागू भएपछि बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालको तथ्याङ्कले देखाउछ ।

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु.७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा रु. एक लाखसम्मको औषधी उपचार निःशुल्क हुने व्यवस्था छ ।

बीमा गरेपछि प्राइभेट किल्निकमा जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेका पाइएको हो । स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधरण जनता अनभिज्ञ भए पनि हाल आएर बीमा गराउने तर्फ नागरिकहरु सचेत देखिदै आएका छन् । सरकारले बीमा रकम तिर्न नसक्ने अति गरीब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायत उपचार गराउनाका साथै झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७२ दर्ता सहयोगीले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । स्वास्थ्यबीमाका कारण जिल्लाका नीजि अस्पताल तथा किल्निकहरु समेत संकटमा परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *