‘कलेजीको टुक्रा’ले बचाए अशोकगोविन्द राजभण्डारीलाई


खेमराज गौतम, बागलुङ

धेरै आमा बाबुले आफ्ना छोराछोरीलाई कलेजीको टुक्राका रुपमा माया गर्छन् । आवश्यक परे कलेजी काटेरै दिने हिसावको माया ममता छोराछोरीका लागि उनीहरुले गरेका हुन्छन् । मायारुपी शब्दमा समेत उनीहरु मेरो कलेजोको टुक्रा भनिरहेका हुन्छन् । उनीहरुले आफ्नो सन्तानको लागि आफ्नो जीवन नै जोखिममा राखेर थुप्रै कार्य गरिरहेका हुन्छन् ।

अभिभावकहरुले आफ्नो अंगदान नै गरेर छोरा–छोरीलाई बचाएका समाचार बाहिर आउछन् । तर बागलुङका एक युवाले आफ्ना बूवालाई कलेजो दिएर बचाउन सफल भएका छन् । बुबालाई बचाउनका लागि छोराले जोखिम मोलेर आफ्नो कलेजो दिएका हुन् । छोराले आफ्नो कलेजो काटेर बुबालाई दिएर बचाउन सफल भएपछि यतिबेला असल सन्तानका रुपमा उनको चौतर्फी प्रशंसा भएको छ ।
अहिले बुबा र छोरा दुबैको शल्यक्रिर्या सफल भएको छ ।

बागलुङ बजारका पुराना होटल व्यवसायी निलेश राजभण्डारीले आफ्ना बुवा अशोक गोविन्द राजभण्डारीलाई कलेजो दान गरेर बचाउन सफल हुनुभएको हो । बुबाको कलेजो तत्कालै प्रत्यारोपण गर्न नसके बचाउन समस्या हुँने डाक्टरहरुको सल्लाहपछि छोरा निलेशले आफ्नो कलेजो काटेर बुबालाई दिनुभएको मात्रै छैन ४३ वर्षीय छोराले ७० वर्षिय बुबालाई बचाउन समेत सफल हुनुभएको छ ।

साउन ६ गते भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा छोरा निलेश राजभण्डारीको शरिरमा रहेको ७० प्रतिशत कलेजो काटेर बुबा अशोक गोविन्द राजभण्डारीको शरिरमा सफल प्रत्यारोपण गरिएको छ ।

अहिले बुबा र छोरा दुबैको स्वास्थ्य सामान्य बन्दै गएको छ । बुबालाई आफ्नो कलेजो दिएर बचाउन पाउदा आफूलाई गर्व लागेको दिल्लीबाट टेलिफोन संवादमा निलेश राजभण्डारीले बताउनुभयो ।

“नेपालका धेरै अस्पतालमा स्वास्थ्य परिक्षण गरियो बुबाको कलेजोमा समस्या देखियो, यस्को अन्तिम उपाय भनेको कलेजो प्रत्यारोपणनै हो भन्ने धेरै डाक्टरहरुको सल्लाह भयो” राजभण्डारीले भन्नुभयो “दिल्लीका म्याक्स अस्पतालमा कलेजो प्रत्यारोपणका लागि सल्लाह गरियो, मैले कलेजो दिन मिल्ने स्वास्थ्य रिपोर्टले बतायो, साउन ६ गते मेरो कलेजोको शल्यक्रिया गरेर बुबालाई प्रत्यारोण गरियो, म खुसी छु बुबाको स्वास्थ्य सामान्य बन्दै गएको छ, मेरो स्वास्थ्य त सामान्य भइसक्यो ।”

आफ्नो बुबालाई कलेजो दिन पाएकोमा राजभण्डारीले खुसी व्यक्त गर्दै भन्नुभयो–“जसले छोरो पायो उसैको शरिरमा छोराकै कलेजो राख्न पाइयो, बुबालाई स्वास्थ्य भएको देख्न पाएकोमा खुसी छु, म एउटा भाग्यमानी छोरा हँु ।”

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका अनुसार आफ्नो शरिरमा भएको ८० प्रतिशत कलेजो आफन्तलाई प्रत्यारोपण गर्न सकिने भएकाले डाक्टरको सल्लाह अनुसार आफ्नो शरिरको ७० प्रतिशत कलेजो आफ्नो बुबामा प्रत्यारोपण गरिएको राजभण्डारीले जानकारी दिनुभयो ।
राजभण्डारीले आफ्नो कलेजो दान दिएर बुबालाई बचाएको र आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताउदै स्वस्थ व्यक्तिको कलेजो आफै पलाउने भएकाले उक्त जानकारी सबैमा हुन जरुरी रहेको बताउनुभयो ।

सुरुमा बुबाको पेट एक्कासी ठूलो भएको थाहाँ भएपछि राजभण्डारीले पेटमा पानी जमेको पत्ता लागेको थियो । २०७८ माघ २४ गते गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुग्दा त्यहाँका डाक्टरहरुले कलेजोमा खराबी भएको बताएपछि पुनः काठमाण्डौ स्थित ग्रयाण्डी अस्पतालमा परिक्षण गरिएको थियो । ग्रयाण्डीले कलेजो प्रत्यारोपणको विकल्प नभएको बताएपछि मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहकार्यमा दिल्ली स्थित मेक्स अस्पताल पुगेको छोरा निलेश राजभण्डारीले बताउनुभयो ।

नेपालका विभिन्न अस्पतालमा काम गर्ने डा.पुकार श्रेष्ठ र डा प्रजेस सापकोटाको सल्लाहमा दिल्लीमा मेक्स अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने निर्णयमा पुगेका थिए राजभण्डारी परिवार । प्र्रत्यारोपणको कानूनी प्रकृया पुरा गरेपछि साउन ६ गते बुबालाई कलेजो प्रत्यारोण गर्न सफल भएको छोरा निलेशको भनाई छ । सामान्यतया जाँड रक्सी सेवन गर्नेको कलेजो खराबी हुँने स्वास्थ्यकर्मीहरुले बताउछन् । निलेश राजभण्डारीका अनुसार बुबाले मदिरा सेवन नगर्ने भएपनि नियमित रुपमा औषधी सेवन गदै आउनुभएको थियो । कलेजो बुबालाई दिनकै लागि राजभण्डारीले आफ्नो ८ केजी शरिरको तौल समेत घटाउनु भएको थियो ।

कलेजो प्रत्यारोपणका लागि बुबालाई आफूले कलेजो दिन मिल्ने ब्लड ग्रुप, शारिरीक अवस्था र कानूनी अवस्था पुरा गरेर प्रत्यारोपण गरिएको हो । कलेजो खराबीका कारण मुत्युको मुखमा पुगेका अशोक गोविन्द राजभण्डारी छोराले दिएको कलेजोले सामान्य अवस्थामा फर्कनु भएको छ ।
आमा बाबुलाई बोझका रुपमा लिएर वृद्धाश्रममा पठाउने कतियप छोराछोरी मात्रै होइन, सम्पत्ती नभएपछि बाबु आमाको स्याहार सुसार नगर्ने छोराहरुका लागि निलेश एउटा गतिलो पाठ बन्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *