सुध्रेन लोकमार्ग : सवारी फसेर हैरानी


आदर्श अनलाइन, बागलुङ

सदरमुकामदेखि ५ किलोमिटर मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारी हिलोमा फस्न शुरु हुन्छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत बागलुङ जिल्ला सदरमुकाम अन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्रे भएपनि त्यसपछिको हालात २४ वर्ष देखि उस्तै छ । उक्त सडकमा फसेको उत्तरगंगा यातयात कम्पनीको बस तान्दै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल मात्रै भएको छैन लोकमार्गको कन्तविजकोग उदाङ्गो भएको छ ।

बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडक तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म सडक कालोपत्र भइसकेको भएपनि खहरे देखि अछेते हुँदै इनारपानी सम्मको कालोपत्रे हुँन बाँकी १४ किलोमिटर सडक पार गर्न यात्रुलाई घण्टौ लाग्ने गरेको छ ।

अहिले खहरे देखि इनारपानी सम्मको लोकमार्ग सडकमा दर्जनौ पटक सवारी फस्ने र यात्रुले दुःख पाउने भइरहेको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्ग समयमै कालोपत्रे सम्पन्न नहुँदा यात्रुले हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन् । १४ किलोमिटर सडकमा यात्रा गर्न अहिले दुई घण्टा भन्दा बढी समय लाग्ने गरेको चालक भिम गुरुङले दुखेसो गर्नुभयो । “बजारदेखि ६ किलोमिटर सडक कालोपत्रे छ, त्यसपछिको इनारपानी सम्मको सडकमा दर्जनौ पटक सवारी फस्छ, एउटा सवारी फसेपछि घण्टौ जाम पर्छ, सवारीलाई निकै मारपर्छ भने यात्रुलाई सास्ती” गुरुङले भन्नुभयो “सयममै कालोपत्रे भए कती सहज हुन्थ्यो होला, सरोकारवालाको ध्यान सडक कालोपत्रे गर्नमा जाओस आगमी दिनमा यस्तो सडकमा यात्रा गर्न नपरोस ।”

ट्रयाक खुलेको २४ वर्ष सम्म कालोपत्रे सम्पन्न नभएको भन्दै उक्त सडकले विकासमा भएको लापार्वाहीको उदारण पेश गरेको पत्रकार सज्जन कुमार सिंह सुर्यले बताउनुभयो । उहाँले नागरिकस्तरबाट समेत सडकको विषयमा चर्को आवाज उठ्दा समेत ठेकेदार कम्पनीले समयमै काम नसक्नु भनेको शंकाको विषय भएको बताउनुहुन्छ ।

बागलुङ बजार देखि घोडाँबाधे सम्मको सडक ठेक्का सम्झौता भएको ६ वर्ष सम्म कालोपत्रे सम्पन्न हुँन सकेको छैन । असार अघि बल्ल तल्ल २५ किलोमिटर सडक मध्ये ११ किमि मात्रै दुई निर्माण व्यवसायीले कालोपत्रे गरेका थिए ।

जिल्ला सदुमुकामको उपल्लाचौरदेखि घोडाँबाधे सम्मको २५ किलोमिटर सडकमध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौरदेखि खहरेसम्म ५ किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्र सम्पन्न भइसकेको भएपनि अन्य १४ किलोमिटर सडक असार अघि कालोपत्रे नहुँदा समस्या भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले स्विकार गर्नुभयो ।

“२५ किमि सडकनै ६ वर्षदेखि कालोपत्रे भएको थिएन, गत वैशाख जेठमा राम्रो काम भयो, सबै सडक कालोपत्रे गर्न निर्माण व्यवसायीलाई ताकेता समेत ग¥यौ” आयोजना प्रमुख भण्डारीले भन्नुभयो “कच्ची सडक कालोपत्रे नगरेसम्म समस्या समाधान हुँदैन, हाम्रो निरन्तरको पहलमा ११ किमि कालोपत्रे गरेका छौं, असार अघि सबै कालोपत्रे गर्न निर्माण व्यवसायीले सकेन, यसमा निर्माण व्यवसायीको कमजोरी छ, पानी रोकिदा साथ काम थाल्न र आगमी मंसिर सम्म सबै सडक कालोपत्रे गर्न अन्तिम चेतावनी दिएका छौं ।”

भण्डारीले गत वर्ष जस्तो बोक्से खल्टोमा आउने समस्या अहिले नभएको भन्दै सडकमा सवारी फसेमा तत्कालै आयोजनाले निकाल्नका लागि बिहुँ र खहरेमा उपकरण तयारी अवस्थामा राखेको बताउनुभयो । उहाँले यो वर्खामा सवारीसाधन फसेर जाममा परेको खण्डमा उपकरणको सहायताले सहजीकरण गर्नुको विकल्प नरहेको बताउनुभयो ।

अहिले पानी प¥यो कि सडकमा सवारी फस्ने लोकमार्गको नियतीनै भइसकेको स्थानीयले आक्रोश व्यक्त गरेका छन् । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी–एससिएफ–इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये अन्य स्थानको समस्या ग्रस्त केही सडक बाहेक अधिकांश सडक कालोपत्रे सम्पन्न भइसक्दा समेत सदरमुकाम खण्डको १४ किमि सडक कालोपत्रे हुँन नसक्दा कन्तविजोक भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *