संघर्षको कथा : पढाई छोडेर अपाङ्ग परिवार पाल्दै दुर्गा


खेमराज गौतम, बागलुङ

धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएको बागलुङ नगरपालिका–११ रायडाँडा निवासी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो ।

आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि ६ वर्षको उमेरबाटै मेलापातमा हिड्नुभएको दुर्गाको संघर्ष र पीडाको कथा सुनिसाध्ये छैन ।

लाउ–लाउ खाउ–खाउ भन्ने उमेरमा परिवारको बोझ र आर्थिक संकटका कारण अहिले सापकोटाको दिनचर्या मेलापात र परिवारको लालनपालनमा वित्ने गरेको छ ।

सापकोटाको थाप्लोमा आमा, बाबा र दुई भाईको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनिमात्रै सपाङ्ग हुन् । उनि बाहेक बाबा, आमा, र दुई भाई जन्मजात अपाङ्ग छने भने आमालाई क्यान्स रोग समेत छ । उनिहरुको लालन पालन तथा परिवारको खर्च सबै २३ वर्षीया छोरी दुर्गाले नै जाहो गर्नुपर्दछ ।

दुर्गाको बाबा ५१ वर्षका जगन्नाथ जैसी बौद्धीक अपाङ्गता हुनुहुन्छ । उहाँले बोल्न र सुन्न समेत सक्नुहुन्न भने आमा ५९ वर्षका सिता जैसी, भाई प्रेम सापकोटा र प्रदिप सापकोटा खुट्टाको अपाङ्गता हुनुहुन्छ ।

परिवारका पुरै सदस्यहरु अपाङ्ग भएपछि परिवारको लालन पालन र अभिभावकत्व २३ वर्षीया छोरी दुर्गाको काधमा छ । आफू जान्ने भएबाटै मेलापात गएर परिवार पाल्दै आएको बताउदै दुर्गाले आफूले परिवार पाल्नका लागि धेरै संघर्ष गरेको बताउनुभयो । उहाँले नत पढ्ननै पाउनुभयो नत मिठो मसिनो खान नै ।

“जब बाट म जान्नेभए झण्डै छ÷सात वर्षको उमेरदेखि मेलापातमा काम गर्न जान्छु, जग्गाको नाममा आफ्नो भन्ने एक टुक्रा जमिन छैन, अर्काको जग्गामा अधिया कमाएर परिवार पाल्दै आएको छु, बाबालाई संकेत नगरे सम्म बुझ्नु हुँदैन आमाको दुबै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ अर्थअभावमा उपचार गर्न सकिएको छैन” मलिनो स्वरमा दुर्गाले भन्नुभयो “हामीलाई अपाङ्गता परिचय पत्र बनाउन पर्छ भन्ने समेत थाहा थिएन, भाइहरुलाई घरमा पाल्न नसक्दा पोखरा स्थित वेदआश्रममा पठाउने गरेको छु ।”

दुई भाई समय–समयमा मात्रै घर आउने गरेको दुर्गाको भनाई छ । अहिले आमा बिरामी भएपछि भाई घरमा आएको दुर्गाको भनाई छ । उहाँले बाबा बाहेक सबैलाई एक पटक उपचारका लागि पोखरा र भरतपुर लगेपनि अर्थअभावमा उपचार गर्न नसकेको बताउदै आमा क्यान्सरपीडित हुँदा समेत आफू टुलु–टुलु हेरेर बस्न बाध्य भएको उहाँको दुखेसो छ ।

साउन २९ गते पहिलोपटक परिवारका सबै सदस्यले बागलुङ नगरपालिकाले वडामै सञ्चालन गरेको घुम्ती शिविरमा अपाङ्गता परिुचय पत्र पाउनुभएको छ । भौगोलिक रुपमा विकटताका कारण परिवारका चार सदस्यलाई लिएर वडा कार्यालय आउनुभएकी सापकोटाले घुम्ति शिविरमा परिवारका सदस्यको परिचय पत्र पाउदा हर्षका आँसुनै खसाल्नुभयो ।

“परिवारमा सबै अशक्त छन्, जनतेन १२ कक्षा सम्म पढे, धेरै पढ्न सकिएन, घरमा बाबा–आमा र भाई पाल्नै समस्या भएपछि पढाई छोडे, आफन्तहरु सबै बसाई सरेर गए, सम्पतीको नाममा त्यही एउटा घर छ त्यो पनि खोलाको छेउमै छ कतिबेला बगाउला भन्ने छ” सापकोटाले भन्नुभयो “हामीलाई कसैको सहयोग छैन, बाबाले सिकाएपछि केही भारी मात्रै बोक्नुहुन्छ अरु सदस्यलाई खानपान र लालन पालन आफैले गर्नुपर्दछ उनिहरु शौचालय सम्म मात्रै पुग्न सक्नेछन् ।”

बाबा, आमा र दुई भाई गरी परिवारका चार जना अपाङ्गताको लालन पालन गर्दै आएकी छोरी सापकोटाले आर्थिक अभावकै कारण अपाङ्गता परिचय पत्र बनाउन नसकेको बताउदै परिचय पत्र वडामै बनाउदा केही राहत मिल्ने बताउनुभयो । केही सुविधा मिल्छ रे भन्ने सुनेको थिए, अपाङ्गता परिचयपत्र बनाउन समेत आज सम्म कसैले भनेन, अहिले वडा अध्यक्षले भनेपछि वडामा आएर परिचय पत्र पाएको बताउनुभयो ।

“अहिले सम्म अपाङ्गता परिचयपत्र बनाउन सकिएको थिएन, घरमा सडक पुगेको छैन, बोकाएर नगरपालिका लैजान संभव भएन, खर्च पर्च समेत छैन” सापकोटाले भन्नुभयो “वडा कार्यालयले अपाङ्गता परिचयपत्र बनाइदिने भन्दै शिविरमा बोलाएका कारण वडा कार्यालयमा आएका हौं, अपाङ्गता परिचय पत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधी उपचारमा सहयोग हुँने छ, म अत्यन्तै खुसी छु ।”

उहाँको चार जना मध्ये आमा सिता जैशीले ‘क’ वर्गको अपाङ्गता परिचय पत्र पाउनुभयो भने अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र पाउनुभएको बागलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत सरस्वती रेग्मीले जानकारी दिनुभयो । राज्यले ‘क’ वर्गको अपाङ्गता परिचय पत्र भएकालाई मासिक चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र भएकालाई मासिक दुई हजार प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *