तीज संगै बिर्सिन्छ रुपा गौतम हत्या काण्ड


–खेमराज गौतम, बागलुङ


प्रत्येक तीजमा झस्काउने बागलुङको एउटा विभत्स हत्या तिजपछि सेलाउने गरेको छ ।
तीज मनाएर फर्किएकी चेलीको दिउसै मुख्य सडकमा हत्या भएको ८ वर्ष पुरा भएको छ । तर हत्यारा पत्ता नलाग्दा प्रत्येक तीजमा बागलुङ बासीहरुलाई झस्काइरहन्छ रुपा गौतम हत्या काण्डले । तर हत्याको विषयमा तीजको समयमा कुरा उठ्ने गरेपनि तिज संगै हत्या काण्ड विर्सदै गइएको छ ।
हरितालिका तीजको अघिल्लो दिन माइत गएर फर्कने क्रममा रुपा गौतमको दिउँसै सडकमा ८ वर्ष अघि हत्या गरिएको थियो । काठेखोला गाउँपालिका– ६ दोबिल्लाकी ३६ वर्षीया गौतमको हत्या भएको यो तीज संगै ८ वर्ष पूरा भएको छ ।

तर दिउँसै सदरमुकाम नजीकको बीच सडकमा हत्या गर्नेे हत्यारा पत्ता नलाग्दा बागलुङका चेलिभेटीहरुलाई तीजमा माइत जादा झस्काउने समेत गरेको छ ।

तीन वर्ष अघि जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धानबाट हत्याराको नजिकै पुगेको दाबी समेत गर्न भ्याएको थियो । तर अहिले सम्म हत्यारा पत्ता नलाग्दा बागलुङ प्रहरीलाई नागरिक स्तरबाट प्रश्न उठ्न छोडेको छैन हत्यारा कहिले पत्ता लाग्छ ?

तर जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएर आएका हरेक प्रहरी प्रमुखले हत्यारा पत्ता लगाउन प्रयास गरिरहेको बताउने गरेपनि ८ वर्ष वित्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले आफू जिल्लामा आइसकेपछि रुपा गौतम हत्याको विषयमा सुक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको बताउनुभयो । “रुपा गौतम जस्तै कर्तव्य ज्यान संग जोडिएको तीन वटा विषयमा अनुसनधान सफल भइसकेको छ, अहिले पुराना मुद्दालाई फछ्यौट गर्ने क्रम जारी छ, प्रहरी नायव उपरिक्षकको संयोजनमा अध्ययन गर्न लगाएको छु” प्रहरी उपरिक्षक ज्ञवालीले भन्नुभयो “अनुसन्धान जारी नै छ हत्यारा पत्ता नलाग्दा सम्म यहाँ पुग्यौ, त्यहाँ पुग्यो भन्न सकिन्न, म यहाँ रहदा सम्म निस्कर्षमा पुगिन्छ भन्नेमा आशावादी छु ।”

हत्याको मिसिलमै केही जटिलता देखिएकाले हत्यारा पत्ता लाग्न लामो समय लागेको उहाँको भनाई छ । रुपा गौतमको २०७१ भाद्र १२ गते तीजका दरखाने दिन माइतबाट घर फर्किने क्रममा बानपा–३ बोक्से खाल्डो स्थित मध्यपहाडी लोकमार्गमा दिउँसै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

हत्याको प्रभावकारी अनुसन्धान र कारबाहीका लागि महिला अधिकारकर्मी, नागरिक अगुवाले लामो समयदेखि आवाज उठाउँदै आएपनि पछिल्लो समय घटना क्रमश विर्षदै गइएको छ । ८ वर्ष अघि दिन दाहाडै एउटा महिलाको विभत्स हत्या भएको घटनाको अहिलेसम्म हत्यारा पत्ता नलाग्नु भनेको लज्जाको विषय भएको महिला अधिकारकर्मी शावित्रा खड्काले बताउनुभयो ।

“हत्या जे जसरी ग¥यो दोषीलाई तत्कालै पत्ता लगाउन सकिन्थ्यो, दिउँसै गरेको हत्याको दोषी त्यतिबेला उम्कन आउने अवस्था कसरी सृजना भयो भन्ने नै हो, प्रहरी प्रमुखहरुले शुरुको अनुसन्धानलाई दोषी देखाउदै आएको पाइएको छ” अधिकारकर्मी खड्काले भन्नुभयो “ढिलैभएपनि पीडितले न्याय पाउनु पर्दछ, अनुसन्धान जारी राख्न आवश्यक छ, तर पछिल्लो समय तीज सकिए संगै हत्या काण्ड सेलाउने र पुनः अर्को तिजमा हत्याको विषय उठ्नु दुखद् हो ।”
तीजको समयमा नारीहरु माइत जान समेत सोच्नुपर्ने अवस्थाको हत्या काण्ड बाहिर नआए सम्म अन्त्य नहुँने खड्काको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *