मेघराज पाण्डे : जस्ले आफ्नो घर गोठ मासेर दिए स्वास्थ्य चौकीलाई जग्गा


खेमराज गौतम, बागलुङ

“घाउ चराएर आएकाले मेरो जग्गामा मल्हम लगाउन पाउन, मलाइ यहाँ भन्दा ठूलो सन्तुष्टी केही हुनेछैन, यो नै मेरो लागि ठूलो धर्म हो” बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास समारोहमा मंगलबार जग्गा दाता ८२ वर्षिय मेघराज पाण्डेले बोलेको मार्मिक शब्द हो यो ।

जग्गा अभावकै कारण स्वास्थ्य चौकीको भवन बन्न नसकेपछि उहाँले आफ्नै घर र गोठ भएको जग्गा स्वास्थ्य चौकीको नाममा गरि दिनुभएको छ । स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको जग्गामा रहेको आफ्नो मुल घरमा युवा जीवन बिताउनुभएका ८२ वर्षीय पाण्डेले जीवनको उर्जाशिल समय अध्यापन पेशामा विताउनुभएको थियो । सोही जग्गामा हुर्केर छोरा छोरी लालन पालन गर्दै त्यहीँको विद्यालयमा अध्यापन गराउनुभएका पाण्डे २०६४ सालमा अवकास हुनुभएको थियो । उहाँ २०४२ सालमा स–परिवार बागलुङ बजारमा बसाई सराँई गर्नुभएको थियो ।

“जुन जग्गामा आज स्वास्थ्य चौकीको भवन बन्नका लागि शिला राखियो त्यही जगमा मेरो जन्म घर थियो, घर अलि पहिल्लै भत्कियो तर गोठ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा भत्काइयो, मलाई आफ्नो घर गोठ भन्दा स्वास्थ्य चौकी ठूलो हो” जग्गा दाता पाण्डेले भन्नुभयो “म त बजार झरिसके गाउँका मानिसले उपचार पाउन बजेट भएर पनि जग्गा अभावले भवन बन्न नुसक्नु दुखद् हो, त्यसैले आफ्नै घर गोठ मासेरै भएपनि स्वास्थ्य चौकी निर्माण गर्न जग्गा दान दिएको हो, म जन्मेको हुर्केको घरमा आज नागरिकको जीवन बचाउने स्वास्थ्य चौकी बन्नु मेरालागि सबैभन्दा ठूलो पूण्यको काम हो ।”

पाण्डेले आफ्नो ९ रोपनी जग्गा मध्येबाट स्वास्थ्य चौकीलाई आवश्यक चार रोपनी जग्गा स्वास्थ्य चौकीका नाममा पास गरेपछि भवन निर्माण थालिएको हो । उहाँले स्वास्थ्य चौकीलाई आवश्यक परे अन्य जग्गा समेत प्रयोग गर्न दिने आश्वासन समेत दिनुभएको छ । मुलपानीको कालीमाटीबाट साँघुरो जीर्ण भवनबाट सेवा दिदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनाउनका लागि बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि जग्गादाता मेघराज पाण्डेलाई उपप्रमुख खड्काले नगरपालिकाको तर्फबाट सम्मान समेत गर्नुभएको थियो । नगर उपप्रमुख राजु खड्काले ७ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज बनाउने बताउनुभयो ।

“यहाँ नयाँ भवन थिएन पुरानो भवन चर्केर उपचार गर्नै सास्ती थियो, भवनका लागि बजेट बिनियोजन गर्न मापदण्ड अनुसारको जग्गा चाहिन्छ, मेघराज गुरुले हामीलाई छाती चौडा बनाएर आफ्नो जन्मघर रहेको जग्गा दिनुभयो” खड्काले भन्नुभयो “निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न भनेका छौं, नागरिकको स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न भवन आवश्यक हुन्छ, जुन एक वर्षमै पुरा हुनेछ ।” रु. एक करोड ७० लाखमा जुम्ली निर्माण सेवाले मुलपानी स्वास्थ्यचौकी निर्माण लागि २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।

२०८० वैशाख १९ गते भित्रै भवन निर्माण सक्ने गरी निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनका लागि पिल्लर राख्ने काम गरिरहेको छ । अहिले मुलपानी स्वास्थ्य चौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिदा असहज भएकाले नयाँ भवन संगै सेवामा वृद्धि गर्न सकिने मुलपानी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहेपनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुने वडा अध्यक्ष मेघराज शर्माले जानकारी दिनुभयो । “स्वास्थ्य चौकी सडक भन्दा केही तल भएकाले विरामीलाई बोकेर लैजानु पर्ने अवस्था छ, अपाङ्ग मैत्री भवन बन्न थालेको छ निरन्तको पहल र समन्वयका कारण स्थानीयले दिएको निःशुल्क जग्गामा भवन निर्माण थालिएको हो” शर्माले भन्नुभयो “भवन निर्माण पछि बर्थिङ सेन्टर र प्रयोगशाला सेवा थप गर्ने योजना छ ।”

अहिले सेवा दिइरहेको स्वास्थ्य चौकीको भवन चर्केको छ भने पानी चुईने समस्या हालै बागलुङ नगरपालिकाको सहयोगमा टालिएको छ । २०५२ सालमा स्थापना भएको स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी भएपनि भवन साँघुरो भएका कारण बिरामीलाई स्वास्थ्य सेवा दिन समस्या हुने गरेको छ ।

गर्भवती जाँच र परिवार नियोजनको परिक्षण र सल्लाह दिनका लागि गोप्य कोठा समेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज शर्माले बताउनुभयो । दुई तलाको पक्की भवन निर्माण पछि स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने र सदरमुकाम पुग्ने विरामीलाई समेत यही उपचार गर्न सकिने स्वास्थ्य चौकीको अपेक्षा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *