‘गुरिल्ला पदमार्ग’ प्रर्बद्धनमा ३५ दिनको पदयात्रा


खेमराज गौतम, बागलुङ

गत दशैंमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साईकल यात्रा गरी रमाउन आउनुभएका कास्की जिल्लाका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै डो¥यायो । तर यसपटकको उहाँका यात्रा भने ढोरपाटनमा नरोकिएर ‘गुरिल्ला पदमार्ग’ सम्म पुग्यो ।

अघिल्लो पटक पोखराबाट साईकलमा ढोरपाटनको भ्रमण १४ दिनमा सक्नुभएका गुरुङले यस पटक भने ढोरपाटन संगै गुरिल्ला पदमार्गको भ्रमण एकल पदयात्रा गरेर ३५ दिनमा टुङ्गाउनुभएको छ । साईकल र पदयात्रा मार्फत पर्यटन प्रर्बद्धनमा लाग्दै आउनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षिय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रर्बद्धनमा ३५ दिन बिताउनुभएको छ ।
साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बाट शुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो । उहाँले एकल रुपमै पैदलयात्रामा ३५ दिन बिताउनुभएको छ । म्याग्दी जिल्लाको दरबाङबाट शुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट शुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुग्नुभएको थियो ।

“गत दशैमा ढोरपाटन उपत्यका १४ दिन बिताए, एकल साईकल यात्रामा हिड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यका बाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यका संगै बुँकी क्षेत्रमै ११ दिन बित्यो” गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाईनै गुरिल्ला पदमार्गको नामाकरण गरिएको हो, यसको प्रर्बद्धन र विकास पछि पर्यटकहरु ल्याउन आफू एकल यात्रामा निक्सेको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माईकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।”

ढोरपाटन उपत्यकाबाट बुकी एक दिनमै पुग्न सकिने भएपनि गुरुङले बुकीमै केही दिन बिताउनुभएको थियो । माओवादी जनयुद्धको आधारशिलाको रुपमा रहेको रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालिन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेहरुलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेको थियो । २०७२ सालमा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुम लगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्गको नामाकरण गरिएको थियो ।

गुरिल्ला पदमार्ग नामाकरण गरेको ८ वर्ष पुग्नै लाग्दा समेत उक्त पदमार्ग चर्चामा आउन नुसक्नु, ढोरपाटन शिकास आरक्षमा आएका पर्यटकहरु उक्त पदमार्ग प्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रर्बद्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आउनुभएका गुरुङले बताउनुभयो ।

 “पदप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, सस्कृति र भाषाको समेत जानकारी हुँनु पर्दछ भन्ने मान्यता हो” उहाँले भन्नुभयो “गुरिल्ला पदमार्गको प्रर्बद्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने संभावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउन समेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।”

म्याग्दीको दरबाङ, देखि ढोरपाटन हुँदै पूर्वी रुकुम देखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिनको अवधी निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ ।

गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रर्बद्धन संगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताउनुभयो । दश वर्ष माओवादी द्वन्द्वका क्रममा छापामारहरुले अत्याधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाईनै एकीकृत गरेर पछि नामाकरण गरिएको पदमार्ग नै गुरिल्ला पदमार्ग हो ।

एकल पदयात्राका क्रममा स्थानीयहरुसंग घुलमिल हुँन सहज हुँने र लामो यात्रामा साथ दिने साथीहरु कम हुँने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाई छ ।

गुरिल्ला पदमार्गको प्रर्बद्धन र विकास नुहुँदा पदमार्गनै हराएर जाने अवस्थामा पुगेको गुरुङले पदयात्राका क्रममा देखेको बताउनुभयो । गुरुङका अनुसार पदमार्गलाई प्रचार प्रसार गर्नका लागि पदमार्गकै स्तरोन्नती गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ । द्वन्द्वसंग जोडिएको उक्त गुरिल्ला पदमार्ग धौलागिरी चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्ग भन्दा कमी नभएको बताउनुभयो ।
२०७२ सालको भुकम्पको समयमा राहत र उद्दारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै वृहत रहेछ भन्ने ठानेपछि त्यस लगत्तै पर्यट प्रर्बद्धन सहित एकल यात्रा गर्दै आउनुभएको छ । उहाँले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साईकल यात्रा समेत गर्दै अउनुभएको छ । उहाँले सबैभन्दा बढी ४२ दिने एकल साईकल यात्रा २०७५ सालमा गर्नुभएको थियो । गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साईकल यात्रा पछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताउनुभयो । गुरिल्ला पदमार्ग सरकारको प्राथमिकतामा नपरेको नेकपामा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सगरमाथा आरोही कृष्ण केसीले बताउनुभयो ।

“गुरिल्ला पदमार्ग भनेर मात्रै भएन, बजेट छैन यही मार्गमा हिडेका साथीहरु राज्य सञ्चालनको तहमा पुग्नु भएको छ तर गुरिल्ला पदमार्गले त्यहाँका स्थानीयका विकास र समृद्धिका लागि प्रयोगमा आउन नसक्नु दुखद् हो यसलाई प्रचार प्रसार गर्न आवश्यक छ”–केसीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *