बसाइँसराइले उराठिएको ‘टोकरीगाउँ’

डम्मर बुढा मगर, बागलुङ
सुनसान गाउँ । जीर्ण घरहरु । बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठ लाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी प¥यो भने अस्पतालसम्म पु¥याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो ।

यस गाउँका अधिकांश युवाहरु विदेशिएका छन् । विदेश नगएकाहरु परिवार लिएर बजार झरे । यहाँका धेरै युवाहरु जापानमा छन् । केही युरोप तिर । युवाहरु विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रिता थापा भन्नुहुन्छ–“गाउँमा कोही बिरामी प¥यो भने तत्काल अस्पताल पु¥याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारीहरु सबै बाँझो बनेका छन्, बुढाबुढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजार तिरै झर्न थालेका छन् ।”

विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताउनुभयो । दिनदिनै गाउँमा मान्छेहरु घट्दै गएको भन्दै रित्तिएका घरहरु जीर्ण अवस्थामा पुगेको उहाँको भनाई छ । “बुढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानु पर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्” थापाले भन्नुभयो “सबैलाई सुविधा चाहिन्छ, गाउँमाभन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरु गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घरहरु पुरै भत्किन थालि सकेका छन् ।”

थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउनुभयो । उहाँले एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउनुहुन्छ । “पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिदैन, त्यही भएर बारीहरुमा कालोपाती उम्रिएको छ” थापाले भन्नुभयो ।

स्थानीय विष्णु थापाले यहाँका अधिकांश युवा जापान र केही युरोप तिर छिरेपछि परिवार बजार झर्न थालेको बताउनुभयो । विदेशमा राम्रो कमाई हुनेहरुले बजार तिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको थापा बताउनुहुन्छ । “१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो,” थापाले भन्नुभयो “अहिले त जापान बाहेक अरु ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरु सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवारनै उतै लगे, गाउँ सुनसना भयो ।”

उहाँले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्न सके मात्रै बसाइँसराई रोकिने बताउनुभयो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ–“युवा शक्ति सबै विदेश तिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएकाहरु पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरु मात्रै छन् ।”

बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । कक्षा पाँचसम्म पढाई हुने यस विद्यालयमा जम्मा १६ जना मात्रै विद्यार्थी रहेको उहाँको भनाई छ । प्रअ थापाका अनुसार कक्षा पाँचसम्म पढाई हुने भए पनि कक्षा तीन र चारमा विद्यार्थी छैनन् । विद्यालय दुई जना शिक्षकको भरमा चलेको उहाँको भनाई छ ।

“बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापान तिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङ तिर झारेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन् कुरै भएन” प्रअ थापाले भन्नुभयो “कक्षा पाँचसम्म पढाई हुने भए पनि दुई वटा कक्षामा विद्यार्थीनै छैनन्, १६ जना विद्यार्थीलाई दुई जना शिक्षकले मात्रै पढाउँछौँ, तीन वटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो ।”

उहाँले धेरै नागरिकहरुले सेवा सुविधाकोपछि लाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको बताउनुभयो । बसाइँसराले सिंगो गाउँनै रित्तो बन्न थालेको उहाँको भनाई छ । उहाँका अनुसार पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार रहेका थिए । अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । “मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएकाहरु पनि विस्तारै बजार झर्ने तयारीमा छन्” थापाले भन्नुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्नका लागि नगरपालिकाले ग्रामीण क्षेत्रमा सहज रुपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरि काम गर्न थालेको बताउनुभयो । उहाँले पहिलेदेखिनै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताउनुभयो ।

“गलकोटमा बसाइँसराइ गर्नेको संख्या व्यापक छ, यसलाई रोक्नका लागि हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरि विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौँ,” प्रमुख गैरेले भन्नुभयो “ढिला चाँडो बसाइँसराइ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ ।”

उहाँले सबै ग्रामीण क्षेत्रमा सडक संजालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताउनभयो । ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधार निर्माण गरि पर्यटक भित्राउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइ रोक्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *