उम्मेदवारलाई मतदाताको प्रश्न : ‘गलुवाको पहिरो र बाँदर नियन्त्रण गर्ने योजना ल्याउनेलाई भोट’


खेमराज गौतम, बागलुङ

उम्मेदवारका चुनावी एजेण्डा र जनताको माग अधिकांश मिल्दा जुल्दा हुन्छन् । चुनावको समयमा मतदाताहरुको उम्मेदवारहरुसंग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकरणसंग जोडिएका सवालहरु हुन्छन् तर बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारहरुलाई एसपटक अचम्मको माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारहरुलाई एक स्वरमा भनेका छन् ‘यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई’ ।

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौर सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतकंले किसानहरुले हैरानी खेपेका छन् ।

उनिहरुले बाँदरका कारण आफ्नो उठिबास लगाएकोे बताउदै यसपटक हाम्रो उम्मेदवारहरुसंगको एक सुत्रिय माग भनेको बाँदर नियन्त्रण गर्नेलाई भोट दिने बताएका छन् । बलेवा, कुस्मिशेरा, जैदि, छिस्ती, राङ्खानी लगायतका क्षेत्रमा बाँदरका कारण यहाँका किसानहरुले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन् ।

चुनावी अभियान अन्र्तगत बागलुङ नगरपालिका–१४ गार्लुङका स्थानीयलाई भोट माग्न कोदो बारीमै पुग्नुभएको नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका डा. सुर्य पाठकलाई यहाँका किसानहरुले यस पटकको भोट बाँदर नियन्त्रणको बाँचा गर्नेलाई दिने बताएका छन् । गार्लुङका स्थानीय सिता पौडेलले गलुवाको पहिरो र बाँदरले यहाँका जनताले सास्ती खेपेको बताउदै बाँदर नियन्त्रणको योजनालाई समेटेर आउने उम्मेदवारलाई भोट दिने बताउनुभयो ।

“जनताको सेवा सुविधाकालागि मतदान गर्ने हो यस पटक बलेवाबाट संघीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौं तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो” पौडेलले भन्नुभयो “सडक, शिक्षा लगायतका पूर्वाधार बन्दै गएका छन् तर यहाँका जनताले बाँदरकै कारण उठिबास लाग्ने बनाएको छ, उर्भर भुमि रहेको बलेवामा बाँदरका कारण भीर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाई सराई गरेर गए ।”

सिता मात्रै हैन गार्लुङकै अनिता पौडेलले समेत बाँदर नियन्त्रण गर्न सके अहिले निर्वाचित हुने जनप्रतिनिधिले यहाँ अन्य काम नगरेपनि हुने बताउनुभयो । उहाँले बागलुङ नगरपालिका–१० स्थित गलुवाको पहिरोले समेत बलेवा सहित दक्षिण भेगका जनताले दुख पाएको बताउनुभयो । “गलुवाको पहिरोका कारण हामीले भारी बोकेर करिडोर र कुस्मा पुगेर खाद्यन्न ल्याउन परेको छ” अनिता पौडेलले भन्नुभयो “अहिलेको भोट गलुवाको पहिरो नियन्त्रणका लागि पहल गर्ने र बाँदर नियन्त्रणको योजना ल्याउनेलाई हाल्ने योजनामा यहाँका जनता छन् ।” गलुवामा पहाडै बगाउदा असारयता मात्रै तीन महिना सडक बन्द भएको थियो । पहिरो नियन्त्रण्का लागि मात्रै रु. चार करोड खर्च लाग्नेभएपछि गलुवाको पहिरो चुनावी एजेण्डा बनेको छ ।

बागलुङको राजनीतिमा आफ्नो पकट जमाउदै आएको बलेवा क्षेत्रबाट नेकपा एमाले र गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवार उठाएको छ ।

निर्वतमान सांसद समेत रहनुभएका एमालेका उम्मेदवार डा. सुर्य पाठक प्रतिनिधिसभा र गठबन्धबाट नेपाली कांग्रेसका युवा नेता डिल्लिराम सुवेदी बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट चुनावी मैदानमा आउनुभएको छ ।

नेपाली कांग्रेसका युवा नेता तथा प्रदेशसभा सदस्यका उम्मेदवार डिल्लिराम सुवेदीले यहाँका जनताको माग अन्य क्षेत्रको भन्दा फरक भएको बताउनुभयो । उहाँले बसाई सराइ र बाँदरका कारण बागलुङको उर्भरभूमि दक्षिण भेग समस्यामा परेको बताउनुभयो ।

“म बागलुङको दक्षिण भेगको जनाताको घरदैलोमा पुग्दै गर्दा बाँदर नियन्त्रणका लागि जनताले धेरै आग्रह गर्नुभएको छ, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीको माग त पुरानै हो, बाँदर नियन्त्रणका लागि कानूनी विषयमा समेत छलफल गर्नुपर्ने अवस्था आएको छ, म निरन्तर बाँदर नियन्त्रणका लागि आवश्यक उपाएको खोजीका लागि आविश्कार केन्द्रको समेत सम्पर्कमा छु” उम्मेदवार सुवेदीले भन्नुभयो “अत्याधिक बाँदर लाग्ने स्थानमा अदुवा, बेसार, कागती लगातयका नगदेवाली लगाउने र बाँदर नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्ने योजनामा छु ।”

बाँदरलाई हत्या गर्न नपाईने भएकाले बाँदर नियन्त्रण गर्न समस्या भएकाले कानुन निर्माण गर्न आवश्यक रहेको एमाले उम्मेदवार डा. सुर्य पाठकले बताउनुभयो । बागलुङको दक्षिण भेगकै प्रतिनिधत्व गर्ने उम्मेदवार भएको हैसियतले मेरो जनतालाई पहिलो सुझाव बाँदर नियन्त्रणका लागि अब कानुनी सहयोग आवश्यक रहेको बताउनुभयो । “कानून अनुसार बाँदरको हत्या गर्न पाइदैन, धपाएका बाँदर पुन फर्केर आउने समस्या पुरानै हो” डा. पाठकले भन्नुभयो “बाँदरको उपयोगिताका विषयमा पुनविचार गर्ने समय आएको छ, मानिसको जीवन भन्दा ठूलो बाँदर हैन, बाँदरका कारण बस्तीनै रित्तिने अवस्थाको अन्त्य गर्न आफु लाग्ने बताउनुभयो ।

बागलुङको नारायणस्थान, पैयुपाँटा, अमलाचौर, कुश्मिसेरा, जैदि, छिस्ती, राङ्खानी, दमेक र बरेङ गाउँपालिकाको केही भेगमा बाँदरको समस्या बढी रहेको छ ।

तीन वर्ष अघि बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेटनै छुट्टाएको भएपनि प्रभावकारी हुन सकेन । बाँदर नियन्त्रणका लागि रु. पाँच लाग बजेट विनियोजन गरेर बाँदर धपाउने यन्त्र वितरण गरेपनि शुरुमा प्रभावकारी बनेको उपकरण पछिल्लो समय प्रभावकारी नबनेको जैमिनी नगरपालिकाका किसानको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *