डम्मर बुढा मगर, बागलुङ
तिहार पर्वको एउटा महत्वपूर्ण हिस्साको रुपमा देउसीभैलोलाई लिइन्छ । पछिल्लो समय यसको मौलिकता हराउँदै गएको छ । तिहार सुरु भएसँगै गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ । बालबालिकादेखि बुढापाकासम्मलाई देउसी भैलोले छोएको छ । गाउँ, टोल र छिमेक संगीतमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ ।
यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोक–चोकमा देउसीभैलो खेल्नेहरुको भिडनै छ । उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता भने पाइँदैन । तिहार पर्वसँग मादल, बासुरी, खैजडी लगायतका बाजा र मौलिक गीत जोडिएका हुन्छन् । आजभोलीको देउसीभैलोमा यी बाजा बझ्दैनन् र मौलिक गीत पनि सुनिदैनन् । सुनिन्छन् त केवल ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीत । पहिलेका देउसीमा सोरठी, मारुनी नाच देखिन्थे भने अहिले ति देख्न त के सुन्न पनि छोडि सके ।
पप, ¥याप र विदेशी भाषाका गीतमा नाच्ने उनीहरुको पहिरनमा मौलिक संस्कृति झल्कने त कुरै भएन । उनीहरुले आधा शरीर पनि नढाक्ने कपडा लगाएका हुन्छन् । केही त अझ परिवारसँगै भएर हेर्नसमेत नसकिने हुन्छन् । परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित गरेको बागलुङ बजारका ७८ वर्षीय देवबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले पश्चिमा संस्कृतिले मौलिकता मेटाउन थालेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । श्रेष्ठले मादल, बाँसुरी, खैँजडी लगायतका बाजाको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने देउसीभैलोमा हिजोआज विकृती मिसिएको बताउनुहुन्छ ।
“अहिलेको गीतमा मौलिकता छँदै छैन, के जमाना थिए हिँजो, के आयो आज ?, उति बेलाको देउसीभैलोमा मादल, बाँसुरी, खैजडी बजाएर नाच्ने, मौलिक गीतहरु गाउने गरिन्थ्यो, अहिले ति गीतहरु सुन्नै छोडियो,” श्रेष्ठले भन्नुभयो–“यसरी वर्षेनी मौलिकता हराउँदै गए नयाँ पुस्ताले हाम्रा संस्कार संस्कृति र परम्परा देख्न र भोग्न पाउने छैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित बनाएको छ, योभन्दा दुःखको कुरा अरु के होला, मौलिकताको अब संरक्षण कसले गर्ने ?”
श्रेष्ठले आजभन्दा १० वर्ष अगाडिसम्म मौलिक गीत, बाजा र कपडा पहिरिएर देउसीभैलो खेले पनि अहिले दुर्गम गाउँमा बाहेक अरु ठाउँमा देख्न नपाइने बताउनुभयो । आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको भनाई छ । “हामीहरुमा हाम्रो मौलिक जोगाउने भन्ने छैन, अरुको देखासिकी गर्ने प्रवृत्तिले छ, यसले गर्दा हाम्रा कयौँ संस्कृतिहरु लोप भएका छन्, कयौँ लोप हुने अवस्थामा पुगेका छन्” उहाँले भन्नुभयो ।
स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले तिहार पर्व र देउसीभैलोले नेपालीहरुको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचाननै गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षण तर्फ युवा पुस्ताको चासो नहुँदा पश्चिमा संस्कृति हाबी भएको बताउनुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ–“कला संस्कृति र परम्परा हाम्रो पहिचान हुन्, बुढापाकाहरुले अहिले पनि संरक्षण गर्न निकै चासो देखाउनुहुन्छ, तर युवा पुस्ताले विदेशी संस्कृतिको सिको गर्दा हाम्रो मौलिक संस्कृति संकटमा पुगेका छन् ।”
उहाँले रेकर्ड गरिएका गीतले मौलिक सोरथी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताउनुभयो । श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसीभैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । आजभोली पैसा संकलन गर्नका लागि विदेशी गीत संगीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाई छ ।
“प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई संकटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवा पुस्तामा भएन भने भोली विदेशी र हामीमा केही भिन्नता हुने छैन” श्रेष्ठले भन्नुभयो “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नु पर्छ ।”
स्थानीय ३० वर्षीय लक्षु पुन मगरले मौलिकतालाई जोगाउन युवा पुस्तानै लाग्नु पर्ने बताउनुभयो । उहाँले बुढापाकाहरु मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नु पर्ने बताउनुहुन्छ । पुन मगर भन्नुहुन्छ–“अग्रजहरुलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरुमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकि रहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिको बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।”
पुनले अहिले देउसीभैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्नुहुन्छ । बढ्दो प्रविधिको विकासले गर्दा नयाँ पुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउनुहुन्छ ।
“बुबा, हजुरबुबाको पालामा प्रविधिको विकास भएको थिएन, उहाँहरुले रेकर्ड भएका गीतहरु सुन्न पाउनु भएन, नाचहरु देख्न पाउनु भएन, गाउँ घरमा जे गाइन्थ्यो, जे नाचिन्थ्यो त्यहीलाई निरन्तरता दिँदै आउनुभयो, अहिले पहिलेको जस्तो जमाना छैन” उहाँले भन्नुभयो–“दश वर्ष यताकै अवस्था हेर्ने हो भने धेरै फेरिएको छ, प्रविधिले फड्को मारेको छ, यही भएर युवा पुस्ताहरु त्यतै तिर ढल्किएका हुन्, चासो दिन सकियो भने मौलिकता जोगाउन सकिन्छ ।”