हराउँदै ‘सोरठी नाच’

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट, तमानखोला, बडिगाड, निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बुढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशक यता निकै कम भएको छ । आधुनिक गीत संगीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन् ।

यो नाच समुहमा नाचिने गरिन्छ । नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्छ । समूहमा रहेका केही बुढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरुसँगै गाउने र नाच्ने गर्छन् । एक दशक अगाडिसम्म बागलुङ पश्चिमका ग्रामीण भेगहरु तिहारको बेला निकै रमाइलो हुने गर्थे । जताततै सोरठी नाच्ने र गाउनेहरु भेटिन्थे । अहिले यो नाच देख्नसमेत मुस्किल पर्छ ।

बडिगाडका ७७ वर्षीय रत्नबहादुर बुढा आफ्नो जवानीमा सोरठी नाचेर थाक्नु हुँदैनथ्यो । आफ्नो हात खुट्टा चल्न थालेपछि उहाँले नाच्न छोड्नु भयो । नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा उहाँ चिन्तित हुनुहुन्छ । “हराउँ छ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउ मैले धेरै खाजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिदो रैनछ, बरु अरु गीतमा नाच्छन् सोरठीमा नाच्दैनन् ।”

नाच लोप हुने डरले उहाँलाई पिरोली रहन्छ । बाउ, बाजे र काकाबाट नाच्न सिक्नु भएका बुढाले आफ्नो छोरा, भतिज र नातीले सिक्न नचाहँदा नाच संकटमा परेको बताउनुहुन्छ । “हामीपछिका भाईहरुले त अहिले पनि नाच्दैछन्, अब उनीहरुले पनि दुई÷चार वर्षपछि नाच्न सक्दैनन्, उतिबेला बाउ, बाजे र काकाले हाम्लाई सिकाए, हामीहरुले भाईहरुलाई सिकाइयो, तर अहिलेका जवानहरुले चासो दिँदैनन्, हराउने भयो अब यो नाच” बुढाले भन्नुभयो ।

पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको तमाखोला–३ का ६७ वर्षीय भक्तबहादुर पुनले बताउनुभयो । पुनले आफूले १०÷१२ वर्षको उमेरदेखिनै सोरठी नाच सिकेर नाच्दै आएको बताउँदै अहिलेका युवाहरुले यस तर्फ चासो नदेखाउँदा हराउँदै गएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने बताउनुहुन्छ ।

“जमाना फेरिए अहिलेका युवाहरुले पुराना कला संस्कृतिहरु सिक्नै चाहन्नन्, के–के गीतहरु सुन्छन्, गाउँछन्, तर पुराना गीत संगीतहरु त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्न्,’ उहाँले भन्नुभयो “हामी मरेपछि पुराना संस्कृतिहरु पनि मर्छन् होला, यस्ता राम्रा संस्कृति हराउँदै गए, निकै दुःख लाग्छ, अहिलेका युवाले सिके त पुखौँसम्म पनि जिवित रहने थिए ।”

मौलिक संस्कृति मध्येको विशिष्ट संस्कृति भएको भन्दै यसको संरक्षण गर्नका लागि युवा पुस्ता नै जागरुक हुनु पर्ने पुनले बताउनुभयो । उहाँले आधुनिकतासँगै पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिन सके यस्ता संस्कृतिहरु युगौँसम्म संरक्षण गर्न नसकिने बताउनुहुन्छ । पुनले भन्नुहुन्छ–“मौलिक संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अंगाल्नु गलत हो, संस्कृतिले हाम्रो पहिचान बोको छ, आधुनिक संस्कारसँगै पुराना संस्कार संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्छ ।”

निसीखोला गाउँपालिका–६ का ७० वर्षीय पृथबहादुर घर्ती मगरले पुस्ता हस्नान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीतहरु गाइने, पुराना नाचहरु नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाचहरु सुन्न र देख्नसमेत नपाइने बताउनुहुन्छ ।

“अहिले बुढो भएर पनि यो नाच्न गाउन निकै मन लाग्छ, परानेले भेट्दैन, हात खुट्टले पनि धोका दियो, बैसमा मेला पर्व सुरु भयो भने सोरठी नाच्ने पुराना–पुराना गीतहरु गाउने गरिन्थ्यो, अहिले त्यस्ता गीत र नाचहरु कतै देख्न पनि पाइन्न, सुन्न पनि पाइन्न, अहिले त सुन्दा रिस उठ्ने जस्ता गीतहरु गाउँ छन् आफन्तसँग बसेर हेर्नै नमिल्ने नाङ्गो शरिर नचाउँछन्, यसले त हाम्रो संस्कृतिलाई फोहोर बनाएको छ” उहाँले भन्नुभयो ।

अहिले गाउँ सहरमा बुढापाकाहरुले नाच्दै आएको सोरठी नाच खास्सै नदेखिने गलकोटका ३२ वर्षीय युवा प्रेम काउचाले बताउनुभयो । उहाँले आफ्नो पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिममा संस्कृतिलाई प्रस्चय दिई रहेको कारण सोरठी हराउँदै गएको उहाँ स्वीकार गर्नुहुन्छ ।

“हामी १५÷१६ वर्ष हुँदासम्म पनि गाउँमा सोरठी नाच्ने टिम धेरै हुन्थे, हामीहरुले पनि सिक्ने कोसिस गरेनौँ, त्यही भएर पनि अहिले यो लोप हुँदै गयो, अझै पनि पुराना बुढापाका अग्रजहरुसँग सिक्ने अवसर छ, हामीहरुले सिक्यौँ भने नयाँलाई पनि सिकाउन सहज हुन्थ्यो” उहाँले भन्नुभयो–“मौलिक संस्कृतिलाई दैनिक भित्रिएका पश्चिमा कला संस्कृतिले विस्थापित गरि रहेको छ, नयाँ संस्कृतिलाई अांल्ने र पुरानालाई संरक्षण गर्न जरुरी छ ।”

काउचाले पछिल्लो सयम अध्ययन तथा रोगारीका लागि बजार झार्ने र बजारमा आधुनिक किसिमका गीत संगीत सुन्ने र गाउँने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । उहाँले तिहारमासमेत विद्यार्थी, विभिन्न संघसंस्था र स्थानीयहरु पनि आधुनिक गीत संगीतहरु बजाएर नाच्न थालेका बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *