सुकुम्बासी भन्छन्–‘सधैँ आश्वासन मात्रै, हामीले लालपुर्जा कहिले पाउने ?’

डम्मर बुढा मगर, बागलुङ
“हाम्रो आफ्नो घर, जग्गा जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा ठूलाबडा नेताहरु आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरु दिनदिनै भोट माग्न आउँछन्, नानाथरी आश देखाएर जान्छन्, तर चुनाव जितेपछि फर्किएर आउँदैनन् ।” बागलुङ नगरपालिका–१२ अमलाचौरका इसुफ मियाँ ७५ वर्ष हुनुभयो । मियाँको आफ्नो र पैतृक सम्पत्ति केही छैन । उहाँ थाहा पाउने भएदेखि आफ्नो कुनै जग्गा जमिन छैन ।

मियाँलाई रहेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै आए । तर अहिलेसम्म कोही कसैले आफूलाई लालपुर्जा दिलाउन नसकेको उहाँले गुनासो पोख्नु भयो । मियाँले आफ्नो जग्गा जमिन र बस्ने बाससमेत नभएको भन्दै अरुको आश्रय लिएर बस्नु परेको बताउनुहुन्छ । नेताहरुले जित्नका लागि सुकुम्बासी बस्तीमा आएर भोटका लागि अनेक आश्वासन दिने तर काम भने नगरेको उहाँको भनाई छ ।

“अहिलेसम्म दर्जनौँ नेताहरुले सुकुम्बासीहरुलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिनुभयो, हामी पनि होला भन्दै आश गरेर बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा, यो मुलुकमा धेरै व्यवस्था फेरियो तर हाम्रो अवस्था उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महङ्गी उस्तै, निकै दुःख पाएका छौँ,” मियाँले भन्नुभयो–“चुनाव आउने बेला जहिले पनि सुकुम्बासीको काम गर्न हामी चुनावमा उठेका छौँ, जितेपछि तपाईहरुका लागि यो गर्छौँ, त्यो गर्छौँ भन्छन् तर जितेर गए भने एक पटक पनि हामीलाई भेट्न आउँदैनन्, हाम्रा आशाहरु यतिकै मरे ।”

आफ्ना छ भाई छोराहरु मध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको भन्दै अन्य पाँच भाई सुकुम्बासीनै रहेको मियाँले बताउनुभयो । उहाँले वर्षौँदेखि सरकारसँग गास, बास र कपासको ग्यारेन्टिका लागि माग गरे पनि कुनै सुनुवाई नभएको गुनासो पोख्नु भयो । आफूहरुले वर्षौँदेखि मजदुरी गरेर जीविका चलाई रहेको उहाँको भनाई छ ।

स्थानीय आमुला खातुनले चुनावका बेला आश्वासन दिने नेताले सुकुम्बासीहरुका लागि रोजगारको व्यवस्था मिलाई दिए दैनिकी चलाउन सहज हुने बताउनुभयो । उहाँले रोजगारसमेत नहुँदा दैनिकी चलाउनसमेत गाह्रो पर्ने बताउनुभयो । खातुनले वृद्धवृद्धाले नसके पनि युवाहरुले काम गर्न सक्ने र परिवार चलाउन सहज हुने उहाँको भनाई छ । सुकुम्बासीका लागि राज्यको नजर पुग्न नसकेको उहाँले बताउनुभयो ।

“सांसद, मन्त्रीहरु भएका सबै हामीहरुले मत दिएर जितेकाहरु त हुन् नि, उनीहरुलाई हामीले माथि पु¥यायौँ, तर हाम्रा लागि कसैले केही गर्न सकेन, चुनावका बेला भोट माग्न आएर यो गदिन्छौँ र उ गदिन्छौँ भन्नेहरुले केही नगरेर सुकुम्बासीहरुलाई रोजगरको व्यवस्था गरि दिए त आफै कमाएर जीवन चलाउन सकिन्थ्यो नि” खात्नले भन्नुभयो–“काम केही गर्न पर्दैन, भाषण मात्रै दिन्छन्, जितेर गए भने पाँच वर्ष फर्किएर गाउँ आउँदैनन्, यस्ता नेतालाई के भोट दिनु, भोट मात्रै खेर गईरहेको छ ।”

खातुनले यहाँका बालबालिका, वृद्धवृद्धालाई अझ बढी समस्या पर्ने गरेको बताउनुभयो । उहाँले सुकुम्बासीहरु अरुको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधी उपचारमा बढी समस्या हुने गरेको हुँदाको भनाई छ । सरकारले सुकुम्बासीका लागि निशुल्क स्वास्थ्य उपचार र खाद्यान्नको व्यवस्था गरे आफूहरुलाई ठूलो राहत मिल्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–“नेताहरुसँग हाम्रो ठूलो अपेक्षा छैन, हामीहरुको आधारभूत आवश्यकताहरु पुरा गरि दिए अरु हामी जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ता कपडाको समस्या हुन्छ, खाना र अरुको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीहरुले पढ्न पनि समस्या छ, औषधी उपचार पाउनै गाह्रो छ ।”

स्थानीय यज्ञबहादुर क्षेत्री सुकुम्बासी बन्नु परेको धेरै समय भएको छैन । आधा दशक अगाडिसम्म उहाँको व्यवसाय, गाडी थियो । परिवार राम्रोसँग चलेकै थियो । बैंकबाट ऋण लिएर गाडी किनेको केही समयै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डामाडोल बन्यो । बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुम्बासी हुनु प¥यो ।

आफू सुकुमबासी भएपछि धेरै नेताले घर बासको व्यवस्थापन गरि दिने आश्वासन दिए काम नगरेको बताउनुभयो । उहाँले अहिले भोट माग्न आउने उम्मेदवारहरुलाई आफु जस्ता सुकुम्बासीको समस्या समाधान नगरेसम्म मत नदिने बताउनु भयो ।

क्षेत्रीले भन्नुभयो–“नेताले त कुरा मात्रै हुन् काम गर्दैनन्, यो गाउँमा यति धेरै सुकुम्बासी छौँ, चुनाव आउँदा मात्रै गाउँ आउँछन्, जितेपछि कहाँ जान्छन्, थाहा हुँदैन, हामी आफै पीडामा छौँ, त्यहीमाथि चुनावका बेला आएर आश्वासन दिन्छन्, आश लाग्ने केही गर्छन् कि भन्ने तर केही नगर्दा हामी निकै निराश छौँ, यिनीहरुलाई भोट दिएर काम छैन, हाम्रो अवस्था कहिल्यै फेरिएन, उनीहरुलाई किन भोट दिने ?”

अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घर परिवार सुकुम्बासी छन् । आफूहरुलाई स्वास्थ्य, शिक्षा, खानेपानी निकै समस्या रहेको उनीहरु बताउँछन् । यो चुनावमा आफूहरु एकजुट भएर आफ्ना समस्या समाधान गरि दिने नेतालाई मात्रै भोट दिने योजना बनाएको उनीहरुको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *