‘नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’

डम्मर बुढा मगर, बागलुङ
“अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, त्यसभन्दा अगाडि पनि धेरै चुनाव भएका थिए, कयौँ चुनावमा मैले भोट दिएका नेताले जिते, तर हामी जनताले कहिल्यै जितेनौँ ।” निसीखोला गाउँपालिका–६ की वीरमाला विकले आफ्नो जीवनकालमा आठ पटकभन्दा बढी निर्वाचनामा मतदान गर्नु भयो । ७९ वर्षीया विकले अहिलेसम्म धेरै नेतालाई जिताए पनि गाउँमा विकास हुन नसकेको गुनासो गर्नु हुन्छ ।

विकले गाउँमा अहिले पनि राम्रो स्वास्थ्य, शिक्षा, सडक र विद्युतको पहुँच नपुगेको भन्दै नेताले यस तर्फ ध्यान नदिएको बताउनुहुन्छ । पटक–पटक आफ्नो क्षेत्रबाट धेरै नेताले जित्दा दुर्गम गाउँमा परिवर्तन आउन नसकेको उहाँको भनाई छ ।

विक भन्नुहुन्छ–“हाम्रो गाउँ ठाउँ पहिलेदेखि नै दुर्गम हो, अहिले पनि धेरै परिवर्तन आउन सकेको छैन, चुनावमा नेतालाई जिताएर मात्रै के गर्नु ?, काम गर्दैनन्, चुनावका बेला गर्ने बाचा अनुसार काम गरेको भए हामी किन अहिले पनि पछाडी पर्नु पथ्र्यो होला, किन अशिक्षित हुनु पथ्र्यो ?”

चुनावका बेला नेताहरुले अनेक आश्वासन दिएर भोग माग्ने तर जितेपछि गाउँका दुःख, समस्या र आवश्यकतालाई बुझ्न नसकेको विकले बताउनुभयो । गाउँमा विकास नहुँदा धेरै जसो स्थानीयले बसाइँसराइ गरि रहेको उहाँको भनाई छ ।

“गाउँमा खानेपानीको राम्रो सुविधा छैन, स्कुल पनि राम्रा छैनन्, पढाई गतिलो हुँदैन, सडकको अवस्था हेर्नुहुन्छ भने ट्याक्टर पनि गुड्न सक्दैनन्” विकले भन्नुभयो–“त्यही भएर गाउँका मान्छेहरु सुविधा खोज्दै बजार तिर झरे, गाउँमा त हामी गरिब दुःखी मात्रै हुने भयौँ ।”

अर्का स्थानीय मनिराम घर्ती मगरलाई पञ्चायत कालमा मतदान गरेको अनुभव छ । अहिलेसम्म आउँदा धेरै व्यवस्थाहरु फेरिए पनि जनताको अवस्था फेरिन नसकेको बताउनुहुन्छ । गाउँमा अहिले पनि कोही बिरामी भए उपचारका लागि टाढा जानु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

घर्ती मगर भन्नुहुन्छ–“मैले पञ्चायत कालमा पनि भोट हालेको थिएँ, उति बेला अहिलेको जस्तो व्यवस्था थिएन, अहिले त देशमा संघीयता आयो, स्थानीय सरकार गाउँ गाउँमा भए, हाम्रै कारणले व्यवस्था फेरिएको हो तर अवस्था भने फेरिएन, गाउँमा अस्पताल छैन, गुणस्तरीय शिक्षा छैन, गरिब, दुःखीको अवस्था झन्–झन् कमजोर बन्दै गएको छ ।”

आफू भोट दिएर सांसद बनेकाहरुले जितेर गएपछि गाउँ फर्किएर नआउने गरेको उहाँको गुनासो छ । गाउँमा रोजगारको अवसर नहुँदा दिनप्रति दिन युवाहरु विदेश पलायन हुँदा गाउँ रित्तिएको उहाँको भनाई छ । बजार झरेर लाखौँ खर्च गरेर पढेका युवा पनि काम खोज्दै बाहिरीनु परेको घर्ती मगर बताउनुहुन्छ ।

“गाउँमा राम्रो शिक्षा छैन, राम्रो शिक्षा लिन बजारमै जानु पर्छ, बजारमा बसेर पढ्दा लाखौँ खर्च हुन्छ, लाखौँ खर्च गरेर पढे पनि देशमा रोजगार छैन” उहाँले भन्नुभयो–“त्यही भएर युवाहरु दिनदिनै काम खोज्दै साउदी, कतार तिर भौतारिनु परेको छ, खै नेताको यता तर्फ ध्यान पुगेको ?, चुनावका बेला भोटका लागि जनता चाहिने अरु बेला हामी नचाहिने भयो ।”

स्थानीय पुतली नेपालीले पहिलेको तुलनामा गाउँमा केही परिवर्तन आए पनि जनताको आवश्यकता अनुसार विकास हुन नसकेको बताउनुहुन्छ । उहाँले जनताको आवश्यकता सडक, बिजुली, स्वास्थ्य उपचारको सहज पहुँच रहेको भन्दै अहिलेसम्म आफ्नो गाउँमा यसको पहुँच पुग्न नसकेको बताउनुहुन्छ ।

“चुनाव आउँदा नेताहरु धेरै थरी आश्वासन बाँड्छन्, चुनाव जितेपछि एक पटक पनि फर्किएर गाउँको अवस्था बुझ्न आउँदैनन्, गाउँमा के समस्या छ, कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ उनीहरु ध्यान छैन,” नेपालीले भन्नुभयो–“हामीहरुले धेरैसम्म हाम्रो क्षेत्रबाट धेरै नेताहरुले जिताएर पठायौँ, तर उनीहरुले गाउँका लागि जनताका लागि केही गर्न सकेनन्, नेताहरुले जितेका जिते छन्, गाउँले हारेको हारे छ, हाम्रा समस्या ज्यूँ को त्युँ छ ।”

उहाँले वर्षौँदेखि गाउँमा खानेपानीको हाहाकार हुँदै आएको सुनाउँदै चुनावका बेला भोट माग्न पुग्ने नेताले आश्वासन मात्रै बाँडेको गुनासो पोख्नु भयो । यस पटक पनि भोट माग्न आउने नेताले गाउँलेको समस्या समाधान गर्ने बाचा गरेको नेपाली बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *