सोलेडाँडामा सहिदको सालिक

डम्मर बुढा मगर, बागलुङ
वरपर घना जंगल । बीचमा समथर भू–भाग । जसले धेरैलाई आकर्षित गरि रहेको छ । जुन ठाउँ हो बागलुङ र म्याग्दी जिल्लाको सिमाना सोलेडाँडा । दुई हजार ६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । यो हिमशृखंला र सूर्योदय/सूर्यास्त अवलोकनका लागि उपयुक्त गन्तव्य पनि हो । अझ चैत र वैशाखामा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य अझ खुल्छ । हिउँदमा हिउँले ढाकिदा त झनै मोहित पार्छ । सडकको सहज पहुँचले पछिल्लो समय त्यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।

वनभोज, रात्री ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमश्रृङ्खला र दर्जनौ प्राकृतिक मनोरम दृश्यहरुले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जिवजन्तुको चिरबिर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँहरुसँगै धौलागिरी, धौलाश्री, माछापुछ«े, मानापाथी लगायतका दर्जनौँ हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुबै तिरबाट घुम्न आउने आन्तरिक पर्यटकको बढ्दै गएको स्थानीय बताउँछन् ।

तमानखोला गाउँपालिका–४ मा पर्ने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन र सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदहरुको सालिक बनाएको छ । गाउँपालिकाले यहाँ सहिद पार्कसहित विभिन्न आन्दोलनहरुमा मृत्युवरण गरेकाहरुको सालिक निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीय दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गंगबहादुर पुनको शालिक राखिएको बताउनुभयो ।

अध्यक्ष बुढा मगरले भन्नुहुन्छ–“सोलेडाँडा पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ हो, पहिलेदेखि नै निकै चर्चित सोलेडाँडा पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि पूर्वाधार निर्माणलाई जोड दिएका छौँ, पर्यटक आकर्षणका र सहिदहरुको सम्मान स्वरुप यहाँ सहिद पार्क र सहिदहरुको सालिक बनाएका छौँ, यसले पनि पर्यटक भित्राउन ठूलो मद्दत गरेको छ ।”

सोलेडाँडालाई पर्यटकीय ‘हब’ का रुपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएको उहाँको भनाई छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

“यस ठाउँमा पहिलेदेखिनै आन्तरिक पर्यटकको चहलपहल हुन्थ्यो, विशेषगरी म्याग्दी र बागलुङका मान्छेहरु घुम्न आउने, गाईवस्तु चराउन आउने रमाइलो गर्ने गर्थे, अहिले बाहिरी जिल्लाबाट पनि पर्यटकहरु आउन थालेका छन्,” उहाँले भन्नुभयो–“पूर्वाधार निर्माण गर्न थालेदेखि आगन्तुकको संख्यामा वृद्धि भएको छ, अझ वनभोज खान आउनेको संख्या बढि छ ।”

उहाँले पर्यटकको सहजताका लागि सोलेडाँडा क्षेत्रमा शौचालय र खानेपानीकाको धारो निर्माण भइसकेको बताउनुभयो । यस क्षेत्रमा गाउँपालिकाले पाँच वर्ष अगाडि नै खानेपानीको धारा र शौचालय निर्माण गरिसकेको छ । यहाँ पार्क, सालिकसहित विभिन्न संरचना निर्माणका लागि गाउँपालिकाले हालसम्म करिब २० बढी लगानी गरि सकेको अध्यक्ष बुढा मगरको भनाई छ । सोलेडाँडालाई अब राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा परिचित पर्यटकीय गन्तव्यसँग जोड्न पहल भइरहेको अध्यक्ष बुढाको भनाई छ ।

गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले सालिक निमार्णको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले दुई जिल्लाको सिमानामा रहेको सोलेडाँडामा दैनिक दर्जनौँ पर्यटक आउने गरेको बताउनुहुन्छ । सोलेडाँडामा पुग्ने सडकको राम्रो हुँदा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको उपाध्यक्ष छन्त्यालको भनाई छ ।

“पहिलेको जस्तो अवस्था अहिले छैन, सोलेडाँडा पुग्ने सडक पनि सजिलो छ, दुई जिल्लाको संगम स्थलमा यति राम्रो ठाउँ हुँदा दुई तिरबाटै मान्छेहरु घुम्न रमाउन आउने गरेका छन्, पहिलेको तुलनामा अहिले दोब्बर बढी मान्छेहरु घुम्न आएका छन्,” उपाध्यक्ष छन्त्यालले भन्नुभयो–“यस ठाउँलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धन गर्न खोजेका छौँ, पार्क र सालिक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।”

स्थानीय पूर्ण सिर्पालीले सोलेडाँडामा पर्यटकहरु दिनदिनै आउने गरेको भन्दै उनीहरुका लागि बास बस्नका लागि उपयुक्त स्थान भने नभएको बताउनुभयो । सिर्पालीले स्थानीयलाई होम–स्टे (घरबास) संचालनका लागि सरकारले प्रोहोत्सान गरे पर्यटकलाई सहज हुनका साथै स्थानीयको आय आर्जनको माध्यम बन्न सक्ने बताउनुहुन्छ ।

“अहिले दिन दिनै सोलेडाँडामा घुम्नेहरुको संख्या बढ्दै गएको छ, रात परेपछि गाउँमा बास बस्ने गतिलो ठाउँ छैन, होम–स्टे संचालन हुन्थ्यो भने पर्यटकलाई सहज हुन्थ्यो, स्थानीयले आम्दानीको स्रोत बनाउँथे,” सिर्पालीले भन्नुभयो– “यहाँ उत्पादन हुने आलु, फापरले राम्रो बजार पनि पाउँथ्यो ।”
उहाँले सोलेडाँडामा हिउँद बर्खा बाह्रै महिना पर्यटकहरु घुम्न आउने बताउनुभयो । हिउँदमा हिउँ खेल्न र बर्खाको समयमा गर्मी छल्न बजार क्षेत्रबाट बढी मान्छेहरु आउने गरेको बताउनुहुन्छ ।

सिर्पाली भन्नुहुन्छ–“गाउँपालिकाले अहिले सोलेडाँडामा धेरै पूर्वाधारहरु निर्माण गरेको छ, पहिलेको तुलनामा धेरै फेरिएको छ, अहिले सोलडाँडा नयाँ स्वरुपमा देख्न सकिन्छ, पहिले समथर चौर थियो खानेपानी शौचालयको व्यवस्था थिएन, अहिले सबै खालका संरचनाहरु बनेका छन्, त्यसले पनि पर्यटकहरुलाई तानेको हो ।”

अन्तराष्ट्रिय पर्यटनसँग तमानखोलालाई जोड्न काठेखोलाको घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको गाउँपालिकाले जनाएको छ । बुर्तिबाङ बजारदेखि नजिक रहेको सोलेडाँडा म्याग्दी र मुस्ताङ जोड्ने सडकको नाकाको रुपमा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *