घाँसे मैदान बाङ्गेचौरलाई रङ्गशाला बनाउने सपना


खेमराज गौतम, बागलुङ

वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै एक मात्र ठूलो बाङ्गेचौर खेलमैदान अब रंगशालामा परिणत हुनेभएको छ ।

कुनै बाधा अड्चन नआए खेलाडीको आशा र भरोषाका रुपमा रहेको त्यही एउटा खेलमैदान केही वर्षमै आधारभूत रङ्गशालामा परिणत हुनेछ । लामो समयदेखि रङ्गशाला बनाउने सपना देखेका बागलुङका खेलाडीहरुले केही वर्षमै रङ्गशालामा खेल खेल्न पाउनेमा आशावादी छन् । बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपुरक योजना स्विकृत गरेर ठेक्का प्रकृयाका लागि आवश्यक तयारी गरिरहेको छ ।

बागलुङ बजारमा रहेको बागलुङको सबैभन्दा ठूलो खेलमैदान बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गाशाला बनाउने योजना अघिल्लो नयरकार्यपालिकाको भएपनि अझै कार्यान्वयनमा आउन सकेको छैन ।

बजेट अभावमा अल्झदै आएको बाङ्गेचौर खेल मैदानलाई स्तरोन्नती गरी रङ्गशाला बनाउने योजना अघि बढेको बागलुङ नगरपालिकाले जनाएको छ ।

दुई महिना भित्रै ठेक्का प्रक्रियामा लैजाने गरी वातावरणीय प्रभाव मुल्याङ्कनको काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठका अनुसार यो वर्ष झण्डै चार करोड बराबरको काम रङ्गशाला निर्माणमा गरिने र तीन वर्ष भित्र पुरा गर्ने गरी बहुवर्षे योजनामा समावेश भएको छ ।

बागलुङ नगरपालिका र संघीय सरकारको समपूरक साझेदारी बजेटमा रङ्गशाला निर्माणको काम चालु आर्थिक वर्षबाटै प्रारम्भ हुने भएको हो ।

घाँसेमैदानका रुपमा रहेको खेलमैदानलाई रङ्गशाला बनाउनका लागि बागलुङ नगरपालिका र संघीय सरकारको समपुरक वजेट अन्र्तगत लगानी गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका र राष्ट्रिय योजना आयोगले छनोट गरेको विशेष योजना अन्र्तगत चालु आर्थिक वर्ष देखि काम शुरु हुने श्रेष्ठको भनाई छ ।

रङ्गशाला निर्माण गर्नका लागि बागलुङ नगरपालिका र संघीय सरकारको संयुक्त रुपमा रु. ८ करोड २२ लाख बराबरको काम हुँने छ । जसमध्ये संघीय सरकार र नगरपालिकाको ५०÷५० प्रतिशत लगानी हुँनेछ ।

बागलुङ नगरपालिका–१ रामरेखामा रहेको उक्त मैदान अहिले घाँसे मैदानको रुपमा मात्रै छ । मैदानमा अहिले संरचनाको अभाव छ । “रु. ८ करोड २२ लाख खर्चेपछि घाँसे मैदानको रुपमा रहेको खेलमैदान आधारभूत रङ्गशालामा परिणत हुनेछ” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “ नगरपालिकाले खेलकूद क्षेत्रमा समेत ठूलो लगानी गर्न थालेको छ, घाँसे मैदानको रुपमा रहेको बाङ्गेचौरमा हामीले आधारभूत रङ्गशाला निर्माणका लागि ठेक्का प्रकृयामा लैजाने अन्तिम तयारी छ ।”

निर्वतमान नगरप्रमुख जनकराज पौडेलको अगुवाइमा समपुरक मार्फत योजना छनौट भएको थियो । रङ्गशाला निर्मण भइसक्दा कम्तिमा तीन हजार दर्शकले एकैसाथ खेल खेर्न सक्ने प्याराफिट सहितको आकर्षक खेल मैदान निर्माण हुनेछ ।

तत्कालिन खेलकूद विकास समितिका अध्यक्ष धन बहादुर परियारको नेतृत्वमा चार वर्ष अघि रंगशालाको बिस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो ।

डिपिआर तयारपछि छलफलका क्रममा केही संरचनाहरु थप भएका कारण डिपिआरमा उल्लेख भए भन्दा बढी लागत लाग्ने डिपिआरमा उल्लेख गरिएपनि पछिल्लो समय डिपिआर अनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएको भाग छोडेर पूर्वबाट मात्रै काम गर्ने गरी ठेक्कामा जान थालेको छ ।
बागलुङ नगरपालिकाका इन्जिनियर शोविन घर्तीका अनुसार डिपिआरमा भएका कमी कमजोरीहरुलाई मिलाइसकेको र अहिले वातावरणीय प्रभाव मुल्याङ्कनको काम भइरहेको बताउनुभयो ।

उहाँले ठेक्कामा लैजानका लागि वातवरणीय प्रभाव मुल्याङ्कनको काम भएको बताउदै दुई महिना भित्र ठेक्कामा जाने बताउनुभयो । घर्तीका अनुसार अहिले रु. ८ करोडको ठेक्का मार्फत गराईने संरचना रङ्गशालाको एक चौथाई र खेल मैदान मात्रै निर्माण हुनेछ ।

घर्तीका अनुसार अहिले खेलमैदानको पूर्व तर्फ प्याराफिट लगायतको संरचना निर्माण थालिनेछ । अहिलेको रु.८ करोड २२ लाखको ठेक्का अन्र्तगत खेल मैदानमा दूबो लगाईने, तीन हजार दर्शकले हेर्न मिल्ने प्याराफिट निर्माण गर्ने र सामान्य रुपमा खेलमैदानलाई मापदण्ड अनुसारको बनाईनेमात्रै काम हुनेछ । पछि बजेट थप हुँदै गएर पुन ठेक्का लगाएमा खेलमैदानको पश्चिम तर्फ संरचना निर्माण हुनेछ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसंगै जोडिएको खेलमैदान सडकको मापदण्ड छोडेर अथवा सडकलाई भूमिगत गरेर मात्रै पश्चिम क्षेत्रका संरचना बनाइनेछ ।

खैल मैदान र खेल हेर्ने प्याराफिट, शौचालय, पार्कीङ लगायतका संरचना बनेपछि खेलकुदका गतिविधि गर्न निकै सहज हुँनेछ पूर्व फुटवल खेलाडी तथा जिल्ला फुटवल संघका कोषध्यक्ष सुर्य लामिछानेले बताउनुभयो । ।

संरचनाहरु पूर्ण रुपमा भूकम्प प्रतिरोधी समेत हुँनेछन् । बागलुङ नगरपालिकाले यस वर्ष खेलमैदानका लागि रु. एक करोड ७१ लाख नगरपालिकाको र एक करोड ७१ लाख संघीय सरकारको गरी चालु आर्थिक वर्षमा मात्रै रु. तीन करोड ४२ लाख रकम खर्च हुनेछ । रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ ।

लामो समयको प्रयासपछि रङ्गशाला निर्माण गर्नका लागि ठेक्का प्रकृयामा जानथालेपछि खेलकूदप्रेमीहरु समेत खुसी भएको लामिछानेको भनाई छ ।

रङ्गशाला निर्माण गर्ने २० वर्ष देखिएको सपना नगरपालिकाको समन्वय र साझेदारीमा अगाडी बढ्न थालेकोमा लामिछानेले खुसी व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *