महका राजा अर्थात ‘मोहराज’, मह बेचेरै वार्षिक १० लाख कमाई


–खेमराज गौतम, बागलुङ

वि.स.२०४५ सालमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदि धुल्लुका मोहराज शर्माले रु. तीन सय तिरेर काठमाण्डौमा मौरीपालन तालिम लिदा सोच्नुभएको थिएन मौलीपालनमै जिवन वित्छ भनेर ।

वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचेर काठमाण्डौ पुग्नुभएका शर्माले विदेश जाने सपना त पुरा भएन तर मनग्य आम्दानी गर्ने सपना भने पुरा भयो । वैदेशिक रोजगारीको शिलशिलामा काठमाण्डौमा बस्नेक्रममा मौरी पालन तालिम सिक्नुभएका शर्माले २५ वर्ष देखि गाउँमै मौरी पालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले मौरीपालन व्यवसायबाट वार्षिक रु.१० लाख आम्दानी गर्दै आउनुभएको छ ।

मोहराज शर्माको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइसकेको छ अचेल । मोहराजलाई गाउँलेहरुले ‘महराज’ अर्थात महको राजा भनेर बोलाउने गरेका छन् ।

मोहराजको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकेको छ । झट्ट हेर्दा मौरीका घारको संग्रहालय देखिने मौरीका घरबाट मोहराज शर्माले वार्षिक १० लाख कमाउदै आउनुभएको छ । मोहराज अहिले मौरीपालनबाट जिल्ला स्तरमा निकै चर्चित समेत बन्नुभएको मात्रै छैन मौरीपालन किसानहरुको लागि अगुवा समेत बन्दै आउनुभएको छ ।

२०४५ सालमा मुढेघारबाट मौरिपालन गर्दै आउनुभएको मोहराज शर्माले २०५२ साययता आधुनिक घारमा मौरीपालन गर्दै आउनुभएको छ । मोहराजको घरमा अहिले १५० मौरीका घार रहेका छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार रहेका छन् ।

“मौरीपालनमानै जीवन व्यतित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर बनाइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी २०० मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरी सहितको घार विक्रिबाट वार्षिक रु.१० लाख आम्दानी हुदै आएको छ” शर्माले भन्नुभयो “वार्षिक १० क्विन्टल मह विक्रि मह उत्पादन भइरहेको छ, राम्रो मौसम परे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रिका लागि आफूले बजार व्यवस्थापन गर्नै पर्दैन, अहिले सम्म माग अनुसार मह पु¥याउनै सकिएको छैन ।”

मौरी सहितको घारलाई नौ हजारमा विक्रि गरिदै आएको शर्माको भनाई छ । यहाँ प्रतिकिलो महको मूल्य एक हजार २०० पर्ने गर्छ । मह उत्पादन भन्दा पनि घार सहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने शर्माको अनुभव रहेको छ ।

“कहिले एक वर्षमा मौरी सहितका १०० घार सम्म बिक्रि हुन्छ, अहिले त्यति राम्रो संग घार बिक्रि भइनसकेको छ, विभिन्न जिल्लामा अनुदानमा घार सहितको मौरी बिक्रिका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ” उहाँले भन्नुभयो “आफ्नो घरमा उत्पादन भएको घार सहितको मौरी गुल्मी, स्याङ्गा, काठमाण्डौ, चितवन लगायतको स्थानमा बिक्रि हुने गरेको छ, मह भने बागलुङ बजारमा बिक्रि हुन्छ ।” राम्रो मौसम परेको बेला एउटा घारबाट एक पटकमा ७ देखि ८ केजी मह काढ्न सकिने बताउदै शर्माले महको सिजन कात्तिक, मंसिर, फागुन र जेठमा राम्रो भएको जानकारी दिनुभयो ।

स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्रि हुने गरेको छ । बागलुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिराख्नु भएको छ ।

उत्पादन गरेको मह उपहार स्वरुप जापान, अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका मुलुकमा समेत पुग्ने गरेको उहाँको भनाई छ । यहाँ रहेका विभिन्न वनस्पती र फलफुलका रसबाट बनेको अर्गानिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला शर्माले जानकारी दिनुभयो ।

“बुबाको मेहनत निकै छ, अहिले त मौरीपालनका लागि हामीले समेत सिकिसेका छौं, बुबालाई मौरीपालनमा सहयोग गर्दै आएकी छु भने मौरीपालन व्यवसायको तालिम समेत दिने भइसकेकी छु” बुहारी शर्मिलाले भन्नुभयो “बुबाकै प्रेरणाका कारण मौरीपालनमा आफू समेत अग्रसर भएकी छु, विभिन्न मौरीपालन तालिममा समेत आफू सहभागी भइसकेको छु ।”

विदेश जाने ध्याउन्नमा २०४५ सालमा काठमाण्डौ भौतारीनुभएका शर्माले तीन सय तिरेर मौरी पालन तालिम लिएर विदेश नजानेगरी घर फर्कनुभएको थियो । “विदेश जानका लागि २०४५ सालमा २०÷२५ हजार सके सफल हुन नसक्दा अन्त्यमा नीजि संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाण्डौमा तीन सयमा तालीम सिकेर घर फर्केपछि मौरीपालन थाले”– मह किसान शर्माले भन्नुभयो ।

धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयले समेत घरमै खानका लागि भएपनि मौरी पालन गर्न थालेका छन् । शर्माको मौरीपालनमा रु. २५ लाख लगानी भइसकेको छ । शर्माले मौरीपालन व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खाल सहित तारबार समेत गर्नुभएको छ । उहाँको मौरीपालन व्यवसाय बागलुङका अन्य मौरीपालन व्यवसायलाई समेत प्रेरणाको स्रोत बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *