–खेमराज गौतम, बागलुङ
जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भिर विश्वकर्माको उमेरले ५५ नाध्यो । १५ वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका विश्वकर्माले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ ।
जैमिनी नगरपालिका–७ जैदि स्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ । परम्परागत रुपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आउनुभएका गम्भिर बिक सहित नौ जनाको पेशा संकटमा परेको हो । पहिला १५ देखि २० जना मजदुरले काम गर्ने ढुङ्गाखानीमा कोरोना महामारीपछि घटेर नांै जनामा सिमिति भएका छन् ।
“१५ वर्षको उमेरदेखि ढुङ्गा खानीमा काम गर्न थालेको हु, त्यसबेला रु. ११ मा एक हात विक्रि हुने ढुङ्गा अहिले रु. १३५ हातमा विक्रि हुन्छ, परिवारको लालन पालन र छोराछोरीको शिक्षा दिक्षा यही ढुङ्गा खानीबाट गरियो” ढुङ्गाखानीका मजदुर विश्वकर्माले भन्नुभयो “अहिले ढुङ्गा समेत त्यति राम्रो निस्किदैन निस्केको ढुङ्गा विक्रि हुँनै समय लाग्छ, अहिले जताततै जस्ताले छाएका र आरसिसि घर निर्माण हुन थालेपछि ढुङ्गाखानी संकटमा परेको छ ।”
हाते औजारको सहायताले ढुङ्गा निकाल्दै आएका मजदुरहरुले पछिल्लो समय दिनभरीकाम गर्दा समेत हात मुख जोर्न समस्या हुन थालेको बताएका छन् ।
“शुरुबाटै यही काम गरियो, अरु काम गर्न सिकिएन, अहिले ढुङ्गा निस्कन मुस्किल छ, खानी भित्र भित्रै पसेको छ भने व्यापार घटेर गएको छ, निकालेको ढुङ्गा कहिले बिक्रि हुन्छ थाहै हुन्न” अर्का ढुङ्गाखानीमा काम गर्दै आएका मजदुर हिम बहादुर श्रीसले भन्नुभयो “अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुङ्गा निकाल्दा छाप्ने, आधुनिक घरमा टास्ने गर्दा राम्रै बजार पाएका सुनेका छौं, यहाँ त्यस्तो छैन हातले मिलाएको ढुङ्गा घर छाउन बाहेक अन्त काम लाग्दैन, घर अहिले जस्ताले छाउन थाले, आरसिसि भवन बनाउन थाले, अब ढुङ्गाखानीमा काम गरेर पेट पाल्न सकस छ ।” पहिला यही ढुङ्गाखानीबाट परिवार लालन पालन र शिक्षा दिक्षा गर्दै आएका मजदुरहरु ढुङ्गाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी रहेको छ ।
ढुङ्गाखानीमा काम गर्ने बुढापाका वितेर गए भने युवाहरु विदेश पलायन हुँदा ढुङ्गाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुङ्गा व्यापारी मनिकर्ण क्षत्रीले दुखेसो गर्नुभयो । क्षत्रीले ४५ वर्ष देखि मजदुरले निकालेको ढुङ्गा विभिन्न स्थानमा पु¥याएर विक्रि गर्ने काम गर्नुहुन्थ्यो । तर अहिले घर छाउने ढुङ्गाको महत्व घट्दै गएपछि यहाँको ढुङ्गाखानी समस्यमा परेको उहाँको भनाई छ । उहाँले आधुनिक ढुङ्गाको प्रचलन कायमै रहेपनि हाते औजारको प्रयोबाट निस्किएका ढुङ्गा घर छाउन मात्रै काम लाग्ने भएकाले समस्या भएको छ ।
“पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो, यहाँको घर छाउने ढुङ्गा जैमिनी, बरेङ, गुल्मी लगायतको स्थान सम्म पुग्दथ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थाले, जस्ता पाता र ढलान गरेर घर बनाउनदा ढुङ्गा विक्रि हुनै छोड्यो” क्षत्रीले भन्नुभयो “ढुङ्गाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टास्ने ढुङ्गा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुङ्गाखानी भिरालो जग्गामा छ, विद्युत पु¥याउन समस्या छ ।”
परम्परागत तरिकाले सञ्चालनमा आएको ढुङ्गाखानी दर्ता भएर सञ्चालनमा समेत आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाको बम्चित हुनुपरेको ढुङ्गाखानीमा काम गर्ने मजदरहरुले बताएका छन् । उनिहरुले ढुङ्गा निकाले बापतको केही रकम ढुङ्गाखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन् ।
ढुङ्गाखानीमा प्रख्यात बनेको बागलुङ जिल्लाको ताराखोलामा उत्पादन भएको ढुङ्गा मार्वलको विकल्प बनिरहेको सन्र्दभमा जैमिनीमा परम्परागत तरिकाले निकालिएको घर छाउन प्रयोग गरिने ढुङ्गाको व्यापार घटेको छ । अहिले ताराखोलाको ढुङ्गा प्राङ्गण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कर्यका लागि होटल, मन्दिर तथा घरधनीहरुबाट अत्याधिक माग आउने गरेको छ ।