बिद्रोही पूर्वसांसद कृष्ण थापा सुन्तला खेतीमा


–खेमराज गौतम, बागलुङ

एउटा बिद्रोही नेता राष्ट्रिय जनमोर्चाको किल्लाको नेतृत्व गरिसक्नुभएका कृष्ण थापा अहिले सुन्तला खेतिमा व्यस्त हुनुहुन्छ ।

राजनीतिमा लाग्दै गर्दा केही समय छुट्टाएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका थापाले अहिले पुरै समय कृषिमा लगाउनुभएको छ ।

बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन संघर्ष गर्नुभएका कृष्ण थापा अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहारदै आउनुभएको छ । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका कृष्ण थापा २०६२÷०६३ सालमा राजमो बागलुङको नेतृत्व गर्नुभएको थियो । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभाव समेत थियो ।

तर समय बद्लियो, राष्ट्रिय जनमोर्चामा विचलन आउदै गयो उहाँका केही सहयात्रीहरु पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर कृष्ण थापा न अन्य दल प्रवेश गर्नुभयो न राष्ट्रिय जनमोर्चामा हुनुहुन्छ । उहाँ त अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लाग्नुभएको छ ।

संघीयतापछि बि.स.२०७४ सालमा वाम गठबन्धनको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्ण थापा आफ्नो पाँच वर्षे सांसदको कार्यकाल समेत पुरा गर्न पाउनुभएन । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार फेरबलदको समयमा उहाँलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कार्वाही गरेर तीन वर्षमै सांसद पदबाट हटाएपछि उहाँ गाउँ फर्केर सुन्तला खेतीमा लाग्नुभएको छ ।

“कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दा समेत थियो, जब सांसद भए बसाई बढी पोखरामै भयो, प्रदेश सांसद भएपनि कृषिमा समय दिन पाइन, घर माथिका ५० वटा सुन्तलाका बोटहरुले स्याहार पाएनन्” पूर्व प्रदेश सांसद थापाले भन्नुभयो “जब सांसद पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पुरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा शुरुवातमै २५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः २०० बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरहकारी खेती समेत गर्दै आएको छु ।”

बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख) बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका सांसद थापा बीचैमा गण्डकी प्रदेश सरकार फेरिंदा उहाँको भूमिकाबाट पार्टी कारवाहीमा परेर थापा घर फर्कनुभएको थियो ।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेको आरोपमा संसद कार्यकालको दुइ वर्षअघि पार्टीबाट निस्कासन परेपछि गाउँ फर्कनुभएका थापा अहिले सुन्ताला खेतीमा व्यस्त हुनुहुन्छ । “जनताबाट जितेर गएको सांसदले पुरा कार्यकाल काम गर्न पाइन, सत्ता स्वार्थमा म पिल्सिए, तर आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधो सहित घर फर्किएको हो” थापाले भन्नुभयो “पहिलैका बोटमा फलेका सुन्तला केही विक्रि गरेर यो वर्ष ५० हजार कमाए, ५० हजारका सुन्तला अझै छन्,यो शुरवाती चरण भयो, सांसद पद गएपछि गाउँ फर्केर ४०० सुन्तलाका बोट थपे, वार्षिक चार÷पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तला संगै तरकारी खेती समेत विस्तारमा लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखे ।”

राजमोले कारवाही गरेपछि यसअघिको गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री छनोटको पहिलो चरणमा तथष्ट बसेकै कारण उहाँ कार्वाही पर्नुभएको थियो ।

तत्कालीन कांग्रेससहितको गठबन्धनलाई पनि सहयोग नगरेपछि पार्टीले निष्कासन गरेको थापाको भनाई छ । थापा पार्टीबाट निष्कासन विरुद्ध सर्वोच्चको ढोका पुग्नुभयो तर सर्वोच्चको फैसला अझै आएको छैन । थापाले कार्यकाल सकिएपछि आउने फैसलाको अर्थ नभएको बताउदै राजनीतिक जीवन आफ्नो अन्योल भएपनि सुन्तला खेतिमा आफ्नो जीवन समर्पित गर्न थालेको बताउनुभयो ।

“बारीमा रुख हुर्केका थिए, सबै काटेर सुन्तला लगाउदै गए, अहिले सुन्तला हुर्किएका छन्, थप विरुवा लगाउने योजनामा खाल्टा खन्ने गरेको छु, हुर्केका विरुवालाई काँट छाँट गर्नमा दिन जान्छ” उहाँले भन्नुभयो “लामो समय राजनीतिमा लागेपछि जग्गाले स्याहार पाएको थिएन, अहिले जग्गालाई स्याहार्ने, तरकारी खेती गर्ने र सुन्तलाका विरुवा बढाउने कार्यमा लागेको छु ।”

उहाँले झण्डै १० रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ । थापाले प्लाष्टिक टनेल सेमत बनाएर तरकारी खेतीगर्न थाल्नुभएको छ । गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाई गर्दै आउनुभएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउनेगरी काम गर्ने सोच बनाएको बताउनुभयो ।

सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला विक्रिबाटै तीन लाख ५० हजार भित्राएको बताउनुभयो । सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कदै गरेका सहित ८०० सुन्तलाका बोट छन् । अहिले सुवेदीको सुन्तला बगैचाका ३०० बोटले उत्पादन दिइराखेका छन् । बिहुँ, सिगाना, भकुण्डे, तित्याङ संगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ ।

यो पनि पढ्नुहोस्