डम्मर बुढा मगर, बागलुङ
करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरी ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयहरु जीवननिर्वाह गर्छन् । खाद्यन्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य संकट पथ्र्यो ।
खाद्य संकट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यन्न जोहो गर्नुपथ्र्यो । पहिले विकट भातखानेडाँडा अहिले पुरै बदलिएर सुगम बनेको छ । पहिलेको जस्तो अहिले खाद्य संकटसमेत नपर्ने स्थानीय संगम घर्ती मगर बताउनुहुन्छ । पहिले मुलाको धजरा, घ्यू लगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरु पाङ, बलेवा लगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको घर्ती मगरको भनाई छ । तर अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उहाँको भनाई छ ।
बाली राम्रो उत्पादन नहुँदा स्थानीयले ‘बाली पूजा’ गर्ने गर्थे । त्यो चलन अहिले पनि छ । यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस भन्दै ‘बाली पूजा’ गर्दै आएको उहाँको भनाई छ । अनिकालको अन्त्यहोस् र सहकालको सुरुवात होस् भनि गाउँलेले ‘बाली पूजा’ गर्ने गरेको घर्तीले बताउनुभयो । यो पूजा परावूर्वक कालदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ । गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखानेडाँडामा भातको खास्सै चाख नभएको उहाँको भनाई छ ।
घर्ती भन्नुहुन्छ– “पहिले दसैँ, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खानेचलन थियो, यो गाउँ दुर्गममा हुँदा चामल ल्याउन टाढा–टाढा जानु पथ्र्यो, यहाँ धान उत्पादन हुँदैनथ्यो, अरु बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘बाली पूजा’ गर्दै गर्ने गर्थे, जो अहिले पनि गरिन्छ, आधुनिकीकरणले गर्दा अहिले उत्पादन राम्रो हुँदै गएको छ, पहिलेको जस्तो खाद्यन्नको दुःख हुँदैन ।”
स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरि भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको बताउनुहुन्छ । अहिले पनि अर्गल गाउँका गाउँलेहरु बाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरि सामुहिक रुपमा भात खाने चलन रहेको उहाँको भनाई छ । स्थानीयबाली पूजा गरेर मात्रै नयाँ बाली भित्राउने गर्छन् ।
“यो चलन त धेरै सयौँ वर्ष पहिलेदेखि चल्दै आएको हो, हाम्रो पाखा पुर्खाले मनाउँदै आएको परम्परा अहिले हामीहरु पनि मनाउँछौँ, पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ जौँ, पनि राम्रो नहुँदा समस्या हुन्थ्यो” घर्ती मगरले भन्नुभयो– “बाली पूजा नगरेसम्म नयाँ बाली भित्राउँदैनौँ, हिउँदे बाली भित्राउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ ।”
गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यस ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयहरुले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताउनुभयो । गाउँमा चामल नआउँदा भातखानेडाँडामा बाली पूला हुने र त्यहाँ गाउँलेहरु जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भातखानेडाँडा हुनु गएको बताउनुहुन्छ ।
उहाँले भातखानेडाँडासँग परम्परा र संस्कृतिसमेत जोडिएको बताउनुभयो । यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकला अहिले पनि हुने गरेको बताउनुहुन्छ । भातखानेडाँडासँगै स्थानीयको जीवनस्तरसमेत परिवर्तन हुँदै गएको बताउनुभयो । उहाँले परम्परागत पेसालाई परिवर्तन गरेर स्थानीयहरु नयाँ प्रविधिसँग जोडिएर पेसा व्यवसाय गर्न थालेको र उनीहरुको आर्थिक अवस्था पनि सुदृढ बन्दै गएको बताउनुहुन्छ ।
उपाध्यक्ष रोका भन्नुहुन्छ–“भातखानेडाँडा मात्रै फेरिएको छैन, यहाँका मदजुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ, पहिले यो ठाउँ जंगलनै थियो, पछिपछि विकास हुँदै गयो, अहिले एउटा बजारको स्वरुप लिएको छ, सडक सञ्जालले जोडिएपछि विकासका थुप्रै ढोकाहरु खुलेका छन्, हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरि रहेका छौँ ।”
अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखानेडाँडामै छ । त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ । ठाउँले मुहार फेरेपछि स्थानीय समेत खुसी भएका छन् । स्थानीय देवबहादुर खत्री भन्नुहुन्छ– “भातखानेडाँडा सुनसान थियो, पहिले यहाँ घरहरु पनि थिएनन्, मान्छेहरुको आवतजावत निकै कम थियो, अहिलेको जस्तो मोटरगाडी चल्दैनथे, सरकारी अफिसमा काम परे दिनभर लगाएर बागलुङ पुग्नु पथ्र्यो ।”
उहाँले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि आफूहरु घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य भएको स्मरण गर्दै दैनिक उपभोग्य सामानहरुको जोहो गर्न पनि गलकोट झर्नु परेको बताउनुहुन्छ । घर्तीले अहिले भातखानेडाँडाको मुहार पुरै फेरिएको भन्दै डाँडैभरी घरहरु बनेको बताउनुभयो । गाउँपालिकाको केन्द्र नै भातखानेडाँडामा बनेपछि विकासले गति लिएको उहाँको भनाई छ ।
स्थानीय तलि कुमारी रोकाले भातखानेडाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाउनुभयो । उहाँले पहिले खानेपानीको निकै समस्या भोग्नु परेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउनुहुन्छ । उतिबेला गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पु¥याउने गरेको भन्दै अहिले गाडीमा हालेर समयमै उपचार गर्न लैजान सकिने उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ– “सेवा सुविधा लिन लागेको त बल्लै त होनी, नत्र त कयौँ वर्ष यहाँका मान्छेहरुले दुःख भोग, घाँस दाउरा, मेलापात गरेरै जिन्दगी चलाए, हामीभन्दा अगाडिका पुर्खाले त झन् कति दुःख पाए होलान् ?”