रित्तिदै गाउँका विद्यालय

डम्मर बुढा मगर, बागलुङ
स्थानीय तह आउनु पूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थीहरु भुईमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नु पथ्र्यो । घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो । शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो । प्रयोग गर्न पाइँदैनथ्यो । तर अहिले त्यस्ता समस्या केही विद्यालयमा बाहेक धेरैमा छैन । पक्की भवन, खेलमैदान र अन्य पूर्वाधारहरु अधिकांश विद्यालयमा बनेका छन् ।

विद्यालयमा भौतिक संरचना दिनप्रति दिन थपिदै छन् भने गुरणस्तर खस्कँदो छ । पहिलेको जस्तो विद्यालर्थीको चाप पनि छैन । गाउँ–गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या साह्रै न्यून छ । अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋण धन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । विद्यार्थी घट्दै गएपछि बागलुङका केही पालिकाहरु विद्यालय समायोजन गर्ने तयारीमा छन् ।

जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका लगायतका पालिकाहरुले विद्यालय समायोजन गर्न थालेका हुन् । बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि एउटा विद्यालय समायोजन गरेको छ । २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयहरु गाभेर पठनपाठन संचालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । यस वर्ष करिब चार विद्यालय समायोजन गर्ने चरणमा रहेको उहाँको भनाई छ ।

घर्तीले भन्नुभयो– “विद्यार्थी कम भएका विद्यालयहरुलाई नजिकको सँग ‘मर्ज’ गर्ने भएका छौँ, बजार क्षेत्रका विद्यालयहरुमा विद्यार्थी निकै बढि रहेका छन्, अहिले समस्या भनेको गाउँका विद्यालयमा हो, गाउँबाट सबै मान्छेहरु सेवा सुविधा खोज्दै बजार झर्ने गरेका छन्, त्यसको प्रत्येक्ष असर गाउँका विद्यालयमा परेको छ, यहाँका केही विद्यालयहरुमा भने विद्यार्थीहरु बढी छन् ।”

गलकोट नगरपालिकाले दर्जन बढी विद्यालय समायोजन गर्ने भएको छ । नगरपालिकाले समायोजनका लागि कार्यविधि बनाएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिनुभयो । नगरपालिकाले कक्षा १–३ मा १५ जना, कक्षा १–५ मा २५ जना, कक्षा ६–८ मा २१ जना, कक्षा ९–१० मा २५ जना र ११–१२ मा २५ जना विद्यार्थी नभका विद्यालयहरुलाई समायोजन गरिने खड्काको भनाई छ ।

उहाँका अनुसार विद्यार्थी कम भएका करिब १५ वटा विद्यालय समायोजन गर्ने अवस्थामा रहेका छन् । काठेखोला गाउँपालिकामा दुई विद्यालय समायोजन गर्ने स्थितीमा रहेका छन् । बागलुङ नगरपालिकामा पनि धेरै विद्यालय समायोजन गर्नु पर्ने देखिएको छ । नगरपालिकाले विद्यालय समायोजन सम्बन्धी नीति बनाएर पढनपाठनलाई प्रभाकारी बनाउने जनाएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकारी धनप्रसाद पोखरेलले बजारमा भन्दा बढी समस्या गाउँका विद्यालयमा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “गाउँमा साना कक्षाहरुमा विद्यार्थी छैनन्, बजारमा माथिल्लो तहमा पढ्ने विद्यार्थीहरु छैनन्, ११÷१२ पास ग¥यो भने विद्यार्थीहरु विदेश हिँडी हाल्छन्, यो बागलुङको मात्रै समस्या होइन देशभर यस्तै छ, नगरपालिकाले विद्यार्थीलाई मर्का नपर्ने गरि विद्यालय समायोजन गर्ने छ, थोरै विद्यार्थी भएको विद्यालयमा पढनपाठन गाह्रो नै हुन्छ ।”

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालय तर्फ बढिरहेको छ । निजी विद्यालयहरुमा तल्लो तहदेखिनै विद्यार्थीको चाप देखिन्छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले शिक्षाको गुणस्तर वृसद्ध गर्न नसकेसम्म विद्यार्थी बढाउन नसकिने बताउनुभयो । सामुदायिक विद्यालयहरु अब भौतिक पूर्वाधारमा कमजोर नभएको भन्दै गुणस्तर बढाउन तर्फ लाग्नु पर्नेमा प्रमुख उपाध्यायले जोड दिनुभयो ।

“सामुदायिक विद्यालयमा गुणस्तरीय पढाई नभएको होइन, राम्रो पढाई हुन्छ, जहाँका समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सक्रिय हुन्छन् त्यो विद्यालयमा निजीमा भन्दा राम्रो पढाई भएको छ, उपलब्धी पनि उस्तै छ,” उपाध्यायले भन्नुभयो– “धेरै ठाउँमा सामुदायिक विद्यालयप्रति धेरैले चासो दिदैनन्, गाउँका विद्यालयलाई राम्रो बनाउने विद्यार्थी टिकाउने हो भने समुदाय पनि जिम्मेवार हुन जरुरी देखिन्छ ।”

उहाँले ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थीको संख्या घट्नुको मुख्य कारण बसाइँसराइ भएको बताउनुहुन्छ । पछिल्लो समय मानिसहरु विलासिता खोज्दै सहज बजार झर्ने र बालबालिकालाई पनि सँगै लैजाने गर्दा गाउँका विद्यालयहरुमा विद्यार्थीको अभाव हुन थालेको उहाँको भनाई छ । ग्रामीण क्षेत्र सबै प्रकारका विकासले जोडिए विद्यार्थी बढाउन सकिने उपाध्यायले बताउनुभयो ।

जिल्लामा अहिले पाँच सय १४ सामुदायिक र ५९ निजी गरि पाँच सय ७३ विद्यालय संचालनमा छन् । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार ६२ हजार तीन सय २१ जना सामुदायिक र ११ हजार तीन सय ७० जना गरि ७४ हजार तीन सय ५७ जना विद्यार्थी अध्ययनरत छन् । जिल्लाभर ७४ हजार तीन सय ५७ विद्यार्थी रहेका छन् । जसमा ३५ हजार नौँ सय ८० छात्रा र ३८ हजार तीन सय ७३ जना छात्र अध्ययनरत रहेका छन् ।

जिल्लाभर १४.८ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गरि रहेका छन् । सामुदायिक तर्फ छात्र ३१ हजार आठ सय ९७ जना र छात्रा ३१ हजार चार सय २० जना छन् भने निजी विद्यालयमा छात्र छ हजार चार सय ७६ र छात्रा चार हजार पाँच सय ६० जना अध्ययन गरि रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *