आधुनिकतासंगै हराउदै चैते दशैंको मौलिकता

खेमराज गौतम, बागलुङ

यो पैसो कैलेलाई, चैते दशैलाई
त्यो पनि मागे दिन्न कसैलाई

चैते दशंै मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गित ।
एक दशक अघि सम्म परम्परागत चैते दशैंको छुट्टै रौनकता थियो । लोक गायक टिका क्षत्रीको ‘चैते दशै मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।

मेलामा यानी माया, सालैजो, झ्याउरे गीत गन्जिन्थे भने, स्थानीय उत्पादनको व्यापार राम्रो फष्ठाउथ्यो । अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुरानाहरुलाई चैते दशैं फेरिएको महशुस हुन्छ । बढ्दो आधुनिकता संगै पहिलोको चैते दशै र अहिलेको चैते दशैमा व्यापक परिवर्तन आएको स्थानीय ८५ वर्षीय दुर्गा आचार्यले बताउनुभयो ।

पहिले ठेका, डाला, नाङ्ला, आँसी, बाउसा, सेल रोटी विभिन्न अन्नहरुको राम्रो कारोबार भएपछि पछिल्लो समय आधुनिक उपकरणहरु, प्लाष्टिकका भाडा कुडा तथा आधुनिक खेलौनाको बढी कारोबार हुने गर्दछ । लिङ्गे पिङ र चर्खेपिङ्गको सट्टा आधुनिक पिङ्गहरु सञ्चालन भइरहेका छन् ।
“उ बेला चैते दशैलाई भनेर खर्च जोहो गर्ने चलन थियो, मेलामा स्थानीय उत्पादनको मात्रै कारोवार हुन्थ्यो, राडी, काम्लो लगायतका लत्ता कपडाको कारोवार हुन्थ्यो” आचार्यले भन्नुभयो “एक वर्षलाई पुग्नेगरी स्थानीय उत्पादन खरिद गरेर स्थानीयले लैजान्थे, अहिले त प्लाष्टिकका चाइनाबाट आएका सामाग्रीको बढी कारोबार हुन्छ, स्थानीय उत्पादनले प्राथमिकता पाउदैनन्, बढ्दो आधुनिकता संगै चैते दशैंको मौलिकता फेरिएको पाइन्छ ।”

“पहिलेको चैतेदशैं र अहिलेको चैते दशैंको कुनै तुलाना हुँदैन, त्यो बेलाको चैते दशैमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो” उहाँले भन्नुभयो “अहिले मेलामा आधुनिक गीतमा नाच गान हुन्छ, लोकदोहरी गित समेत खस्केको छ, पहिला चैते दशैंमा दोहोरी गाएकै भरमा यहाँका थुप्रै कलाकार राष्ट्रिय कलाकार भएका छन्, अहिले त नाँच गान, खानपिन, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फ्याट्टफुट्ट देखिएका मादल, डाला, नाङ्ला र ठेकासमेत बिक्री भएको पाइँदैन, गिहालेपनि प्रयोग गर्न नभएर सजाउन मात्रै लगेको पाइन्छ ।”

पहिला मेलाको नाममा यही एउटा चैते दशैं भएपनि पछिल्लो समय गाउँ–गाउँमा विभिन्न मेला तथा महोत्सव आयोजना हुन थालेपछि चैते दशैं मेलाको रौनकतामा कमि आएको स्थानीय राधिका राना मगरले बताउनुभयो । बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् । “हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रशिद्ध छ” रानाले भन्नुभयो “कालिका मन्दिरसँगै जोडिएको छ चैते दशैं मेला बागलुङको ब्राण्ड बन्दै गएकोमा दुईमत छैन तर पछिल्लो समय यस मेला गाना र खानामा मात्रै सिमित भएको पाइन्छ ।”

चैत १३ गते देखि १७ गते सम्म चल्ने चैते दशै मेला नाँचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलो मेलामा मात्रै सिमित भएको कतिपयको गुनासो छ । मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडा कुडालगायतका दैनिक उपभोग्य वस्तुहरु खरिद–बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकारहरु मात्रै बिक्री–वितरण हुने गरेको पाइएको छ ।

त्यो चैतेदशै र अहिलेको नाँच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैतेदशैं धेरै अन्तरवस्तु फरक पाइएको छ । मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई निःशुल्क स्टल र यातयात खर्चको व्यवस्थापन गरेपनिस्थानीय उत्पादनप्रति स्थानीयको रुचि घट्दै आधुनिक सामाग्रीमा आकर्षण बढेको पाइएको कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले कताउनुभयो ।

“चैते दशैंमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको छ, हामीले ठेका, डाला उत्पादन गर्नेहरुलाई फोन गरेर बोलाउन थालेका छौं, उनिहरुको व्यापार नभए यातयात खर्च समेत आयोजकले व्यवस्थापन गर्छ” खड्काले भन्नुभयो “तर बढ्दो आधुनिकता, प्रविधिको प्रयोगका कारण मेलालाई प्रत्यक्ष असर पर्दै आएको स्विकार छ ।”
मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ ।

२५ वर्ष देखि कालिका मन्दिरमा डाला र नाङ्ला लिएर व्यापार गर्दै आउनुभएका बागलुङको बडिगाड गाउँपालिकाको ससिराम साम्दाखाडीले अबको केही वर्षमा यिनै डाला र नाङ्ला समेत देख्न नपाइने बताउनुहुन्छ । “करिब २५ वर्ष भयो होला, निगालोको चोयाँबाट बनेका डाला, नाङ्ला लिएर बागलुङ बजार आएको पहिला बोकेर ल्याइन्थो, अहिले यातयातका साधनमा ल्याइन्छ, पहिला डाला र नाङ्ला बेचेर वर्षभरी खान पाइन्थ्यो, अहिले परम्परा धान्ने मात्रै काम भएको छ, पहिला जस्तो चैते दशैंको मौलिकता छैन” उहाँले भन्नुभयो “स्थानीय उत्पादनलाई राज्यले हेरेन, छोरा नातीले अर्कै काम समाल्न थाले, स्थानीय उत्पादनको व्यापार छैन, आफू बुढो हुन लागियो, सक्ने बेला सम्म मेलामा आउने होे ।” ठेका ठेकी बनाउने परम्पार समेत पुस्तान्तरणको अभावमा लोप भएर गइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *