दुर्गमको व्यथा : विद्यालय पुग्न चार घण्टा पैदल


खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रिवनका ललिता छन्त्याल बिहानै सात बजे विद्यालय अध्ययनका लागि हिड्नुहुन्छ ।

तमानखोला गाउँपालिका–५ खुङ्खानी स्थित शान्ति माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययन गर्ने छन्त्याल बिहानै उठेर विद्यालय हिड्न थालेको एक वर्ष वित्यो ।

गाउँकै डिल्लि प्राथमिक विद्यालयमा कक्षा पाँच सम्म अध्ययन गर्नुभका छन्त्याल एक घण्टाको पैदल यात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययन पश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यामिक विद्यालय खुङ्खानीमा अध्ययन गर्दै आउनुभएको छ ।

भित्रिवनमा पाँच कक्षा सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घण्टा आउजाउको पैदल यात्रापछि मात्रै शान्ति माध्यामिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाई छ । छन्त्यालका अनुसार गाउँमै माध्यामिक शिक्षा सम्मको अध्यापन नहुँदा बिहान दुई घण्टा र बेलुका दुई घण्टा हिडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको बताउनुभयो ।

“बिहानै उठेर विद्यालय हिड्नु पर्दछ, बेलुका घर पुग्दा साँझ परेको हुन्छ, हिड्दा हिड्दै थाकिन्छ, गृहकार्य गर्ने समयनै हुँदैन, दिउँसो खाजा खाने समयमा गृहकार्य गर्ने गरेकी छु, विद्यालय टाढा हुँदा अतिरिक्त क्रिर्याकलाप गर्न सकिदैन, १० कक्षामा अतिरिक्त कक्षा शुरु भएपछि घरबाट विद्यालय आउन भ्याइदैन यही कोठा खोजेर अध्ययन गर्न बस्ने हो” छन्त्यालले भन्नुभयो “परिक्षाको समयमा विद्यालयले नै यही राख्ने व्यवस्था मिलाउनेछ, अघिपछि बस्नुपरे कोठा भाडामा लिएर बस्नु पर्दछ ।”
छन्त्याल मात्रै हैन तमानखोला गाउँपालिका–६ पात्लेखेतका रुप घर्ती घरबाट आउ–जाउ गरेर विद्यालय अध्ययन गर्न नसकेपछि आफन्तकै घरमा बसेर शान्ति माध्यामिक विद्यालयमा अध्ययन गर्नु हुन्छ ।

कक्षा पाँच सम्म आफ्नै गाउँको मालिका प्राथमिक विद्यालयमा अध्ययन गर्नुभएका घर्ती ६ देखि ८ सम्म विष्णु आधारभूत विद्यालयमा अध्ययन पश्चात अहिले खुङ्खानी आएर कक्षा १० मा अध्ययन गर्दै आउनुहुन्छ । “आफ्नो वडामा ८ कक्षा माथि पढाई हुँदैन, अध्ययन गर्नका लागि ६ नम्बर वडा बाट पाँचमा पुग्नुपर्ने हुन्छ, विद्यालय आउजाउमै समय खर्च भएपछि खुङ्खानीमा रहेका आफन्तको घरमा बसेर अध्ययन गर्दै आएको छु” घर्तीले भन्नुभयो “विद्यालय टाढा भएपछि शुक्रबार र शनिबार मात्रै घरमा पुग्ने गर्दछु, वर्खाको समयमा पहिरोले बाटो नहुँदा बाटोबाटै घर फर्कनुपर्ने अवस्था वर्खाको समयमा हुन्छ ।” अत्याधिक वर्षा र हिमपात जस्ता प्राकृतिक प्रकोपको समयमा विद्यालय पुग्न नसक्ने विद्यार्थीको भनाई छ ।

वडा नम्बर ६ को पात्लेखेत र भित्रिवनबाट खुङ्खानीको विद्यालयमा आउन र जान दैनिक चार घण्टा पैदल हिड्नु पर्दछ भने नर्जाखानीबाट आउन जान दुई घण्टाको पैदल यात्रा पछि विद्यालय पुग्न सकिन्छ । नर्जाखानीमा ८ देखि १० सम्म अध्ययन हुने विद्यालय नुहँदा खुङ्खानी पुग्नु पर्ने बाध्यता छ ।

खुङ्खानीको सोही वडाकै गाउँ थास्पुरीबाट समेत विद्यालय आउन जान दैनिक दुई घण्टा लाग्ने गरेको कक्षा १० मा अध्ययन गर्ने विपना सुन्चौरीले बताउनुभयो । विद्यालय आउन र जान नै धेरै समय खर्च हुनेभएकाले राम्रो संग गृहकार्य गर्न नपाउने सुन्चौरीको भनाई छ । वर्षा र बाढी पहिरोको समयमा विद्यालय आउन जानै समस्या हुने गरेको सुन्चौरीको भनाई छ ।

पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गएपनि दुर्गका कारण अझै टाढाबाट विद्यालय आउनु पर्ने बाध्यता रहि आएको शान्ति माध्यामिक विद्यालयका प्रधानध्यापक सत्यनारायण सिंहले जानकारी दिनुभयो । “अहिले विद्यालयमा प्रविधिमैत्री तरिकाले अध्ययन अध्यापन हुँदै आएको भएपनि नर्जा बाट २५ जना, भित्रिवनबाट १२ जना र पात्ले बाट ६ जना घण्टौ पैदल यात्रा पछि यहाँ अध्ययन गर्न आउने गरेका छन्” प्रधानध्यापक सिंहले भन्नुभयो “नर्जाबाट त आउन जान दुई घण्टा लाग्छ तर भित्रिवन र पात्लेबाट आउन जान झण्डै चार घण्टा लाग्ने गरेको छ, परिक्षाको समयमा विद्यालयमै बस्ने खाने व्यवस्था मिलाउने तयारी विद्यालयको छ ।”

भौगोलिक रुपमा निकै विकट तथा थोरै जनसंख्या भएकाले तमानखोला गाउँपालिकामा माध्यामिक तहका जम्मा तीन वटा मात्रै विद्यालय भएकाले कक्षा ९ र १० अध्ययन गर्नका लागि छ वडा मध्ये तीन वटा वडाका विद्यार्थी छिमेकी वडामा पुग्नु पर्ने बाध्यता रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले भौतिक रुपमा मात्रै हैन शैक्षिक गुणस्तरमा समेत मुहार फेरेको गाउँपालिकाको भनाई छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानी अनुसार शान्ति माविले प्रतिफल दिन थालेको उहाँको भनाई छ ।

कक्षा १० सम्म पढाई हुने यस विद्यालय वि.सं. २०२१ सालमा स्थापना भएको थियो । वि.सं. २०४२ देखि निम्न माध्यमिक र २०६४ बाट माध्यमिक तह पढाई हुँदै आएको छ । यहाँ दश कक्षासम्म पढाई सकेर उच्च शिक्षाका लागि यहाँका विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गादोभान स्थित जनजागृति माध्यमिक विद्यालय पुग्नु पर्छ । विद्यालयमा हाल २८८ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा प्रोजेक्टरबाटै अध्यापन गराउन थालिएको छ भने कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला र गाउँपालिका अध्यक्ष पुस्तकालय कार्यक्रम सञ्चालित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *