निजी भन्दा अब्बल गणेश माध्यामिक विद्यालय


खेमराज गौतम, बागलुङ

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित गणेश माध्यामिक विद्यालयमा यही शैक्षिक सत्रमा पर्वत जिल्लाको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच जना विद्यार्थी भर्ना भए ।
यस अघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यामिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन जना थिए ।

पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भएपनि यहाँ कुश्माको शहरबाट बागलुङको गणेश माध्यामिक विद्यालयमा आएर अध्ययन गर्ने संख्या ८ पुगेको छ ।

“सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या क्रमश घट्दो अवस्थामा गणेश माध्यामिक विद्यालयमा अहिले ७६५ जना विद्यार्थी अध्ययनरत छन्, विद्यालय सुधार हुँदै आएपछि बलेवा क्षेत्रको तीन नीजि विद्यालय बन्द भएको इतिहास छ” विद्यालयका प्रधानध्यापक एकनाथ रिजालले भन्नुभयो “अहिले कुश्मा बजारबाट दैनिक यन्त्रिक पुल तरेर यस विद्यालयमा पढ्न समेत आउनुहुन्छ, विद्यलायमा भर्ना हुनका लागि प्रवेश परिक्षा अनिवार्य छ, विद्यालय सुधारका लागि स्थानीयको समेत योगदान छ ।”
विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमानै अब्बल भएको प्राप्त नतिजाहरुले बताउदै आएको विद्यालयको भनाई छ ।

गणेश माध्यामिक विद्यालय आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारको नमूना विद्यालयमा छनौट भएको छ । उक्त विद्यालयमा आर्थिक वर्ष २०७८/७९ देखि पाँच वर्ष सम्म रु. सात करोड ५० लाख बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जानकारी दिएको छ । समुदायका अभिभावकहरुको अग्रसरतका कारणनै विद्यालयको शैक्षिक तथा भौतिक अवस्था यहाँसम्म आएको प्रधानध्यापक रिजालले बताउनुभयो । विद्यालयले १५ वर्ष अघि अंग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो ।

“मुख्य कुरा अंग्रेजी माध्यम भएपनि निजीका विद्यार्थी आकर्षित भए, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधीकारी सबैका विद्यार्थीहरु यही विद्यालयमा अध्ययन गर्नथालेपछि अभिभावकको विश्वास जित्न सफल भयो” प्रधानध्यापक रिजालले भन्नुभयो “अहिले विद्यालयमा भौतिक संरचनाको अभाव छ, दरबन्दी थप्न आवश्यक छ, विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयले कुनै कसर बाँकी राखेको छैन, चालु आर्थिक वर्षदेखि ३० कोठे विद्यालय भवन निर्माण शुरु भएको छ ।”

नमूना विद्यालय अनुदान कार्यक्रम अन्र्तगत पाँच वर्षमा आउने रु. सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा रु. दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ ।
स्थापना २०३७ सालमा स्थापना भएको विद्यालयमा हाल ७६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले अहिले टाढाका विद्यार्थीका लागि स्कूल बस समेत सञ्चालनमा ल्याएर सेवा दिइरहेको छ । कक्षा चार देखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षाहरु समेत सञ्चालनमा छन् ।

आवसीय रुपमा बसेर अध्ययन गर्न चाहान विद्यार्थीका लागि समेत विद्यालयले व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो । शर्माको अनुसार विद्यालयले धनधान्यान्चल महायत्र सञ्चालन पश्चात जम्मा गरेको रु. दुई करोड रकमको व्याजबाट समेत निजी शिक्षिक राखेर अध्ययन तथा अध्यापन गराइरहेको छ ।

यस विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, चितवन बुटबल सँगै सुदरपश्चिमको अछाम घर भएका विद्यार्थी पनि अध्ययनरत छन् । यस विद्यालयमा झण्डै एक सयको हाराहारीमा विद्यार्थीहरू अन्यत्रबाट अध्ययनका लागि आउने गरेका छन् ।

१८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्तक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेको र दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीहरुलाई निजी स्रोतबाट तलब खुवाइएको छ ।विद्यालयमा अध्यापन गर्ने शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका सबै बालबालिकाले यस विद्यालयमै अध्ययनरत रहेको गणेश माध्यामिक विद्यालयले जनाएको छ ।

विद्यार्थीमैत्री शिक्षण सिकाइ, अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्यास सहित पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित छ ।

२०३७ सालमा स्थापना भएको यस विद्यालयमा २०६५ सालदेखि अंग्रेजी माध्यम र कक्षा ४ देखि १० सम्म कम्प्युटरका कक्षा सञ्चालन गरिएको छ ।

विद्यार्थीको चाप सँगै गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ती हरेक कक्षामा दुई वटा सेक्सन विभाजन गरिएको छ । २०६५ सालदेखि एसएलसी परीक्षा दिन सुरु गरेको गणेश माविले हरेक वर्ष शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । ग्रेडिङ सिस्टम लागू गरेपछि पनि विद्यालयमा एसईइको नतिजा उत्कृष्ट आएको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *