गर्मी बढेपछि बुकी चड्न थाले भेडीगोठ

डम्मर बुढा मगर, बागलुङ
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठालाहरु खर्चपर्च बोकेर हिँडिरहेका देखिन्छन् । गत मसिंरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठहरु जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरि राख्छन् ।

बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन् । बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् । असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ । मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जंगलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ ।

अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ बेला मात्रै बेसी झर्ने गर्छन् । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने गर्छन् । यति बेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन् । बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कार्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन् । अहिले सडकको पहुँचले गर्दा व्यापारीहरु गोठमै पनि भेडा खरिद गर्न पुग्छन् । पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झर्ने गरेको भेडापालक कृष्णबहादुर घर्ती मगरले बताउनुभयो । लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उहाँको भनाइ छ ।

“यसपाली त बर्खा नलाग्दै ठूलो पानी प¥यो, त्यसले गर्दा लेकमा घाँस पलाएरका छन्, बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिदैन, त्यही भएर लेक तिर लागेका छौँ, पहिले–पहिले असार लाग्ने बेला जान्थ्यो, यो वर्ष दुई साता पहिलै लेक जाँदैछौँ,” घर्ती मगरले भन्नुभयो – “अहिले लेक चडेपछि आउने त अब दसैँ तिर मान्न हो, त्यस बेलासम्म परिवारसँग सँगै बस्न पाइँदैन, ज्यानलाई सञ्चो भएन भने, घरका केही प¥यो भने मात्रै झर्ने हो नत्र एकै पटक असोज, कात्तिकमा आउने हो ।”

तमानखोला गाउँपालिका–५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुईको उचाईमा रहेको भन्दै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताउनुभयो । गर्मी मौसममा भेडाहरु औलमा बस्दा बिरानी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उहाँको भनाइ छ । हिउँदमा माथिल्लो क्षेत्रमा अत्याधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेसी झार्ने गरेको बताउनुहुन्छ । भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुने तिर लैजान सुरु भएको छ ।

विक भन्नुहुन्छ – “हामीहरु लेक बेसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो, भेडा नपाली खान लाउन पुग्दै, यही बेचेर परिवार चलाउँदै आएका छौँ, काम त गर्नै प¥यो जे गरे पनि, लाहुर जान सकिएन, पढ्न पाइएन, पढेको भए जागिर खाइन्थ्यो होला, हाम्रो पालामा पढ्ने लेख्ने चलन पनि थिएन, यसै गरि जिन्दगी बित्न थाल्यो, यहाँको वनखापा सबै थाहा छ, म हरेक कुनामा पुगेको छु ।”

विकले नयाँ युवा पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नहएको बताउनुभयो । यसले गर्दा परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको गुनासो गर्नुभयो । पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरेको भन्दै अहिले निकै कम भएको विकको भनाइ छ । भेडाबाख्रा पाल्नेले पनि जंगलमा नलगी खोरमै बाँधेर पाल्ने गरेको उहाँले बताउनुभयो । पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ । भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *