हराउँदै मौलिक घर : गाउँ जस्तापाताका घरले झकिझकाउ

डम्मर बुढा मगर, बागलुङ
रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठेले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो । तर, अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैननै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्याल ढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूतिहरु त भेटिनै छोडिसके । पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घरहरु धमाधम बनि रहेका छन् । बागलुङका अधिकांश गाउँमा ढुङ्गा, काठ र माटो घर छन् । एक दशक अगाडिसम्म गाउँका धेरै घर खरका थिए । अहिले खरका घर भेट्याउनै मुस्किल पर्छ ।

जिल्लाका स्थानीय पालिकाले पनि खरका घर विस्तापित गरि जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर ओझेलमा परेका छन् । ढोरपाटन नगरपालिका–९ बोबाङमा दुई दशक अगाडिसम्म ढुङ्गाको पर्खाल र काठका फ्ल्याकले छाएका घरहरु मात्रै थिए । थर ति घरहरु एउटा पनि अहिले भेट्याउन सकिन्न । काठ र ढुङ्गाबाट बनेका घर विस्थापित बनेपछि बिस्तारै ढुङ्गा र खरका घरहरु बने । तर अहिले ति ढुङ्गा र काठका घर पनि विस्थापित हुँदै गएका छन् । अहिले बोबाङ गाउँमा जस्तापातले छाएका घरले गाउँनै ढाकिन थालेका छन् । जस्तापाताका घर बनाउन स्थानीयलाई सहज भए पनि गाउँको सुन्दरतामा भने धेरै प्रभाव पारि रहेको छ ।

बोबाङ गाउँसँगै निसीखोलाको निसी गाउँ, तमानखोलाको तमान तमान गाउँ, बोङ्गादोभान तथा जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापातले छाइएका घरहरु निर्माण भएका छन् । पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुङ्गाले छाएका घरहरु अहिले जस्तापाता र कङ्क्रिटबाट बनेका घरमा परिणत भइरहेका छन् । मौलिक ढुङ्गे तथा खरका घर बनाउन बढी झण्झटिलो र खर्चिलो हुने हुँदा पछिल्लो समय स्थानीयले जस्तापातका घर बनाउन थालेको ढोरपाटन नगरपालिका–८ बोबाङका कुशल विश्वकर्माले बताउनुभयो । उहाँले १५÷२० वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आउको बताउनुभयो ।

“अहिले गाउँ र बजारका घरमा धेरै फकर पाइँदैन, गाउँमा पनि बजारकै शैलीमा घर बन्न थाले, सबै आधुनिकतासँग जोडिका छन्, मौलिकता बोकेका घर विस्तारै हराउँदै गए, मान्छेहरु विदेश तथा सहर बजार जान थाले, विदेश र सहर बजारमा बनेका जस्तै घर गाउँमा बनाउन थाले,” विश्वकर्माले भन्नुभयो – “पहिले त यहाँ काठैकाठका घर थिए, पछि ढुङ्गा, घर र काठका घर बने, अहिले धेरैले टिन (जस्तापाता) ले छाउन थाले, अलि हुने खानेले ठूला सिमेन्टकै बिल्डिङ बनाउन थाले, यसले गाउँनै आधुनिकीकण भयौँ, मौलिक संस्कृति र परम्परा हराउन थाले, अब पालिकाहरुले गाउँका सबै घर मौलिकतासँग जोडेर बनाउनु पर्ने नीति ल्याउनु पर्छ ।”

निसीखोलाका ७९ वर्षीय तिर्थबहादुर पुनले अहिले बन्ने घरले गाउँको स्वरुपनै बदलि दिएको बताउनुभयो । पहिले गाउँमा बन्ने घर सबै एउटै खाले हुने गरेको भन्दै अहिले बन्ने घरका रंग तथा आकार फरक–फरक हुँदा गाउँको सुन्दरतामा ह्रास आएको गुनासो गर्नु भयो । मौलिक कला संस्कृतिमा बजारभन्दा गाउँ निकै अब्बल रहेको सुनाउँदै मान्छेहरुले बजारको नक्कल गरि घर पनि त्यस्तै बनाउन थालेको बताउनुहुन्छ । संस्कृति संरक्षणका लागि घर नयाँ बनाए पनि पुरानै शैलीमा नविन प्रबिधि अपनाउनु पर्ने उहाँको भनाइ छ ।

तिर्थबहादुर भन्नुहुन्छ – “अहिले यहाँ बनेका घरहरु स्वास्थ्यका लागि फाइदाजनक छैनन्, सिमेन्ट बालुवाले बनेका छन्, टिनले छाएका छन्, हिउँदमा चिसोले मान्छेलाई रोगी बनाउँछ, पहिले–पहिलेका घर सबै सिजनका लागि उपयुक्त हुन्थे, हिउँदमा न्यानो हुने, गर्मीमा सितल हुने खालका हुन्थे, अहिले गाउँ हर्नु हुन्छ, भने खरका घर कतै भेट्याउनु हुन्न, घुमाउने घर पनि पहिले गाउँमा बाक्लै थिए, अहिले कतै देख्नुहुन्छ ?, किन हराए ?, यो सब अरुको देखासिकीले गर्दा हो, गाउँमा कसैले तिनले छाएको घर बनाउँछ भने भोली अर्कोले त्यस्तै घर बनाउँछ, पुरानो घरलाई पहिलेकै जस्तो बनाउनुपर्छ भन्ने कसैलाई लाग्दैन ।”

गाउँका पुराना घरलाई संरक्षण गरि राख्न सके केही वर्ष पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने पुन बताउनुहुन्छ । उहाँले खास गरि खरको घर विस्थापित हुनुका कारण यो बनाउन धेरै समय लाग्ने, आगलागीको जोखिम हुने र अहिले कसैले पनि वनमा गएर खर काटेर ल्याउन झण्झट मान्दा जस्तापाताले छाएका घरहरु बढ्दै गएको बताउनुभयो । बागलुङका धेरै पालिकाले खरको छानो मुक्त गाउँ अभियानलाई तीव्रता दिएका छन् । तर तमानखोला गाउँपालिकाले भने मौलिक घर संरक्षण गर्न थालेको छ । यस गाउँपालिकाले पुराना मौलिक घरको संरक्षण गरि नयाँ बन्ने घर पनि पुरानै शैलीमा निर्माण गर्ने नीति बनाएको छ ।

गाउँपालिकाले सबै घरलाई एउटै रंग, एउटै शैली र एउटै आकार प्रकारको बनाउने भएको अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँमा अब कसैले पनि कंक्रिटका भवन बनाउन नपाउने उहाँको भनाइ छ । आधुनिक प्रबिधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले घरलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँले बताउनुभयो ।

“गाउँमा बन्ने घर गाउँकै स्रोत र साधानको प्रयोग गरि बनाउनु पर्छ, यहाँ यति धेरै स्रोत साधान छन्, तर हामीहरुले आयातित सामानको प्रयोग गरेर घर भवन बनाई रहेका छौँ, गाउँमा पनि समेन्टका ठूला ठूला घर भवन भन्न थाले, यसलाई रोक्नका लागि गाउँपालिकाले स्थानीय स्तरमा भएका स्रोत साधानलाई प्रयोग गरेर गाउँका घरलाई मौलिक घर बनाउने योजना बनाएका छौँ” अध्यक्ष बुढा मगरले भन्नुभयो – “अहिले संस्कृति संरक्षण गर्न लागिएन भने पछिको पुस्ताले गर्दैनन्, संस्कृतिनै मासिदै जाने खतरा बढेको हुँदा यसलाई रोक्न हामीहरु लागेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *