जगाइदै लोपन्मुख लोककथा


खेमराज गौतम, बागलुङ
अहिले संयुक्त परिवार प्राय भेटिदैनन् । संयुक्त परिवार नभपछि नातनातिनाहरु र बाजेबज्यैको भेट बिरलै मात्र हुने गरेको छ । बाजेबज्यैकाखमा कथा सुन्दै निदाउने चलन विस्तारै हराउदै गएको छ ।

पुस्तान्तरणको अभावमा हराउन थालिएका बागलुङका लोक कथा अब लिपि बद्ध हुने भएका छन् ।
बाजेबज्यैको मृत्युपछि पुस्तान्तरण अभावमा लोक कथा तथा किम्मदन्तीहरु हराउदै गएपछि लोक कथाहरु संरक्षणका लागि संकलन तथा लिपिबद्ध गर्न थालिएको छ ।

रिड नेपालको आर्थिक सहयोग तथा विद्यामन्दिर पुस्तकालयको आयोजनामा बागलुङकोे कथा संकलन तथा अभिलेखिकरणको काम गरिएको मात्रै छैन कथामा आधारिक चित्र समेत निर्माण गर्न थालिएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका इश्वरी प्रसाद गौतमले ‘बाजेबज्यैको कथा मेरो चित्र’ अन्र्तगत विद्यामिन्दर पुस्तकालयमा बालबालिकाहरुलाई जम्मा गरेर ओदानको कथा सुनाउनुभयो । कथा मध्येको किम्मदन्ती कथा ओदानको कथामा “बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा प्राकृतिक ओदान खसेको थियो, उक्त ओदान खसेर तोरीखेतमा नाँच्नेक्रममा एउटा खुट्टा भाँचिएपछि ओदान त्यही रह्यो” गौतमले बालबालिकालाई कथा सुनाउदै भन्नुभयो “अहिले त्यस स्थानको नाम ओदानडाँडा नामाकरण गरिएको छ भने दुईखुट्टे ओदान त्यहाँ संरक्षित छ, अहिले उक्त ओदानभएको स्थानलाई ओदानेश्वर मन्दिरको नामकरण समेत गरिएको छ, अहिले त्यहाँ ओदान देख्न सकिन्छ ।”

इतिहास र प्रमाणका आधारमा भनिएको किम्मदन्ती कथा बालबालिकाहरुले पुर्नलेखन मात्रै गरेनन् ओदानको कथा संग सम्बन्धीत रहेर चित्र समेत कोरे ।

चार दिन सम्म चलेको ‘बाजेबज्यैको कथा मेरो चित्र’ कार्यक्रम अन्तरगत संकलित एक दर्जन लोक कथाहरु संग्रह, पुर्नलेखन र चित्र सहित ‘बागलुङको कथा’ नामक पुस्तक प्रकाशन गरिने विद्यामन्दिर पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिनुभयो ।

लोक कथाका चार विधा मध्येको दन्त्यकथा सत्यतामा आधारित कथालाई बागलुङको परिवेश संग जोडेर लोक कथा संरक्षण संगै लिपिबद्ध गर्न थालिएको बरिष्ठ बाल साहित्यकार प्राध्यापक डा. धु्रव घिमिरेले जानकारी दिनुभयो ।

“बागलुङ जिल्लाको नामाकरण कसरी भयो, ओदानको कथा, कालीका मन्दिर बसरी स्थापना भयो, सत्यवतीको कथा लगायतका एक दर्जन लोक कथाहरु बाजेबज्यैले सुनाउनुभएको छ, उक्त कथालाई बालबालिकाले लेखन तथा चित्रमा उतार्नुभएको छ, उक्त कथाहरुलाई काँट छाट गरेर हामीले रिड नेपालको सहयोगमा प्रकाशनमा ल्याउनेछौं” घिमिरेले भन्नुभयो “हामीले बाजेबज्यै बालबालिकाको सामिप्यता बढाउन खोजेका छौं, बागलुङको कथा रिड नेपाल अन्तरगतका पुस्तकालयमा उपलव्ध हुनेछ, जस्ले भावि पुस्ताका लागि ऐतिहासिक दस्तावेजको काम गर्ने छ भने लोप भएका लोक कथा जोगाउने छ ।”

बाजे र बज्यैको काखमा बसेर पुराना कथा र कहानी सुन्नेहरू पाउन छाडेपछि नयाँ पुस्तालाई यस सम्बन्धी ज्ञान दिनका लागि बाजेबज्यैको कथा बालबालिकालाई सुनाउन थालिएको हो । कलिला बालबालिकाहरू इन्टरनेट र विदेशी संस्कृतिमा जोडिँदा आफ्नो संस्कृतिसमेत भुल्ने र एक्लिने प्रवृति बढेपछि यस्तो अवधारण ल्याइएको रिड नेपालकी वरिष्ठ फिल्ड संयोजक बिना गोलेले बताउनुभयो । गोलेका अनुसार रिड नेपालले १० वर्षदेखि लोक कथाको संरक्षण र दस्तावेजीकरण गर्दै आएकोमा हाल सम्म १४ जिल्लाका लोक कथा संग्रह भइसकेको जानकारी दिनुभयो । उहाँले बागलुङ जिल्लामा थुप्रै लोककथाहरु रहेपनि लिपिबद्ध नहुँदा हराउने भन्दै रिड नेपालले बागलुङको लोक कथा संग्रह प्रकाशन गर्न थालेको बताउनुभयो ।

लोक कथा लोप भएर जाने खतरा बढेपछि बाजेबजैका कथा बालबालिकालाई सुनाउने र लिपिबद्ध गर्ने गरी बागलुङसंग सम्बन्धीत एक दर्जन लोक कथाहरु संग्रह गरिएको हो । देशभर अभियान चलाएको रिड नेपालको सहकार्यमा बागलुङको विद्यामन्दिर पुस्तकालयले पनि बाजेबजैका कथामा बालबालिकालाई जोडेर लिपिबद्ध गर्न थालिएको हो ।
साना बालबालिकालाई जिल्लाको सामाजिक, शिक्षा र जागरणको कथा सुनाउने पाकोपुस्ता जुटाइएको थियो ।

त्यस्तै धार्मिकस्थलको कथा, महत्व र त्यसको संरक्षणमा गरिएका प्रयाससमेत पाकोपुस्ताबाट बालबालिकालाई सिकाइएको छ । पढाइ, जागिर र अन्य बाध्यताले बाजेबजै र नाती नातिनीहरू एकै स्थानमा बस्ने अवसर नहुँदा पुस्तान्तरण हुनुपर्ने धेरै विषय रोकिएका कारण बाजेबज्यैको कथालाई पुस्तान्तरणको प्रयास स्वरुप यस्तो लोक कथालाई संग्रह गरिएको हो ।

बालबालिकाले कथा सुन्ने र त्यसकै आधारमा इतिहास र समाजको चित्र कोर्ने विद्यार्थी उत्पादनमा रिड नेपालले देशभर अभियान चलाउदै आएको छ । कला, संस्कृति र व्यवसायका लागि पुरानो पुस्ताले गरेको संघर्षको कथा बाजेबजैको मुखबाट बालबालिकालाई सुनाउने र सचित्र उतार्ने कार्यले हामी जस्ता बालबालिकाले आफ्नै घर आँगनको लुकेको विषयमा जानकारी पाइएको विद्यार्थी दिपेन पाण्डेले बताउनुभयो ।

एकल परिवारको रुपमा बस्न थालेपछि कथा र कहानी सुन्ने अवसर बालबालिकाले पाउन छाडेका छन् । त्यस्तै आफ्नै जाती, समुदायभित्रको कला, संस्कृति र परम्परा किन मानिएको हो भन्नेसमेत बालबालिकाले जान्न नसकेका कारण बाजेबज्यै र बालबालिकालाई जोड्न थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *