खेमराज गौतम, बागलुङ
पाँच वर्ष अघि सम्म बनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेश स्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको बनमाराले ढाकेको पाखो चिया पर्यटकीय आगमनको केन्द्र बन्ला भनेर कसैले कल्पना नै गरेका थिएनन् ।
तर, अहिले त्यही बनमाराले ढाकेको पाखोबारी चिया बगान बनेपछि आन्तरिक पर्यटकहरु त्यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक र टिकटकमा चिया बगानको दृश्य सार्वजनिक गर्न जिल्ला जिल्लाबाट पर्यटकहरु इलामको चिया बगना पुग्ने गरेका छन् । पछिल्लो समय रेशमा चिया बगा नबनेपछि अवलोकन गर्न, टिकटक बनाउन र अध्ययन तथा अनुसन्धानका लागि अन्तरिक पर्यटकहरु रेशको चिया बगानमा आउने गरेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
“मुख्यमैत्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा रेश छनौट भएपछि चिया परिक्षणका लागि लगाएका थियौ, रेशको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने भएको छ, पाहुनालाई कोसेलीका रुपमा यहाँको एक सहकारीले ब्राण्ड बनाएर चिया प्रदान गर्न थालेको छ” लामिछानेले भन्नुभयो “चिया बगानमा रमाउन अब इलाम जानु पर्दैन, अहिले बागलुङ बजारबाट विद्यार्थीहरु समेत अध्ययन अवलोकनका लागि आइराख्नुभएको छ, आन्तरिक पर्यटकहरुलाई लक्षित गरी चिया बगान सम्म पुग्ने सडक निर्माण, खानेपानी लगाएको सुविधा वडा कार्यालयले प्रदान गरेको छ ।”
लामिछानेले रेशमा सञ्चालित चार वटा सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने बताउनुभयो । वडा कार्यालयकै सहकार्यमा चिया सुकाउने औजार खरिद गरेपनि ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि चिया उद्योग सञ्चालनका लागि पहल गरिरहेको बताउनुभयो ।
बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै संभावना रहेको बताउदै धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिन बहादुर थापाले सबै मिलेर उजागर गर्न आवश्यक रहेको बताउनुभयो ।
“धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई चिया बगानमा अध्ययन अवलोकन गराउन रेशको चिया बगान पु¥याएको थिए, अब विद्यार्थीलाई चिया बगान देखाउन इलाम लगायतका जिल्लामा लैजानु पर्देन आफ्नै जिल्लामा व्यवसायिक चिया खेति भएको रहेछ” डा. थापाले भन्नुभयो “यहाँको अर्गानिक खानाको परिकार, घरबासको आतिथ्यता र बातावरण यहाँ पुगेका म जस्ता आन्तरिक पर्यटकहरुलाई लोभ्याउनेछ ।”
चिया उत्पादन हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले जानकारी दिनुभयो । थापाका अनुसार चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तिब्रता पाउदा उद्योग स्थापना गर्न आवश्यक रहेको छ ।
“हरीयाली चिया बगान हेर्न आन्तरिक पर्यटकहरु आउन थालेका छन्, चिया उत्पादन विस्तारै बढ्दै जान थालेको छ, क्रमश चिया उत्पादन बढ्दै गएपछि चिया प्रशोधनका लागि आवश्यक उपकरणको आवश्यकता देखिएको छ” थापाले भन्नुभयो “अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुँनालाई कोशेलीको रुपमा वितरण गर्न शुरुवात गरेका छौं ।”
पाँच वर्ष अघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको रुपमा काठेखोला गाउँपालिका–७ रेश छनौट भएपछि सोही परियोजनालाई लिएर रेशको साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाइएको थियो । बौर र तिङरिङमा चिया खेती गर्दा रेशका स्थानीयले २५ प्रतिशत श्रमदान समेत गरेका थिए ।
विद्यालयको खाली जमिनमा लगाइएको चियाको उत्पादनबाट आय–आर्जन हुन थाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा रकम खर्चने विद्यालयका प्रधानध्यापक थम्मन जि.सी.ले बताउनुभयो । बौरको चिया बिक्रिबाट स्थानीय र तिङरिङको चियाखेतिबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुग्ने आश रेश वडा कार्यालयको छ ।
समुन्द्री सतहबाट १८ सय मिटर देखि २३ सय मिटर सम्मको उचाइमा चिया खेती राम्रो हुन्छ । यो बिषयमा सम्भाव्यता अध्ययन गराएर उपर्युक्त भन्ने सुझाव आए पछि चिया खेती थालिएकोमा अहिले सफलता पाइएको छ । बाँझो बनेको र बर्षौदेखि प्रयोगविहिन अवस्थामा रहेको जमिनलाई अब उत्पादनमुलक कार्यमा उपयोग गर्दा पर्यटकहरु बढ्ने र विद्यालय र स्थानीयलाई आयआर्जनको माध्यम बन्ने देखिएको छ ।