गलकोटको दुर्गम गाउँका विद्यार्थी लिन घरमै पुग्छ गाडी

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको संख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छनु भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरि रहेको छ । हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा जान बाध्य भएका छन् ।

तह मिलान र विद्यालय समायोजनपछि नगरपालिकाले विद्यार्थीलाई यातायातको सुविधा दिएको छ । यातायताको सुविधा पाएपछि आजाभोली विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन् । गाडी आफूलाई घरमै लिन आएपछि विद्यार्थीहरु पनि उत्साहित भएका छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्याथीहरु अहिले केही मिनेटमै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् । यि गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनु पथ्र्यो ।

विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किँदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताउनुभयो । थापाले ११ कक्षा पढ्नसम्म पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताउनुभयो ।

“विहान आठ नबज्दै स्कूल हिड्नु पथ्र्यो, चार बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, अझ बर्खाको समयमा रुझ्दै भिज्दै हिड्नु पथ्र्यो, अहिले त जति पानी परे पनि समस्या हुँदैन” थापाले भन्नुभयो – “घरमा आएर समयमै होमओर्क गर्न पाइन्छ, विहान स्कूल जान हतार गर्नु पनि पर्दैन, सानासाना भाईबिहिनीहरु पनि गाडी आउन थालेपछि स्कूल जान खोज्छन्, रमाइलो पनि हुन्छ, सजिलो पनि भएको छ, अब घर पुग्दा रात पर्ने चिन्ता, स्कूल जाँदा ढिलो होला भन्ने पिर हरायो ।”

नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकाहरुमा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताउनुभयो । उहाँले गाडी संचालनमा आउनु पूर्व विहान विद्यालय पुराउन जाने र साँझ ल्याउन जाँदा आफ्नो काम धन्दा छुट्ने गरेको भन्दै अहिले गाडीले लैजाने र ल्याइ दिने भएपछि धेरै सहज भएको बताउनुभयो । आफ्नो छोरा छोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकोमा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानु पर्ने स्थित आएको उहाँको भनाइ छ । टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ ।

“पहिला छोराछोरीलाई एक्लै स्कुल पठाउन डर लाग्थ्यो, अप्यारो बाटो कतै लडेकी, चोटपटक लगाएकी भन्ने डर हुन्थ्यो, विहान लैजान र साँझ ल्याउन जानु पर्ने बाध्यता थियो, अहिले विहान सरसफाई गरेर खाना दिएपछि गाडी ल्याउन आउँछ, साँझ आफैले ल्याइ दिने हुँदा ढुक्क भएका छौँ” उहाँले भन्नुभयो – “नगरपालिकाले दुर्गम गाउँका बालबालिकाका लागि ठूलो काम ग¥यो, यहाँका बालबालिकाको समस्या बुझेकोमा धन्यबाद दिनु पर्छ, केटाकेटीहरुको पढाई पनि राम्रो हुनेछ अब ।”

गलकोट नगरपालिकाले यस वर्ष पाँच वटा विद्यालय तह मिलान र छ वटा विद्यालय समायोजन गरेको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त)ले जानकारी दिनुभयो । गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको संख्या बढेपछि विद्यालयहरुमा विद्यार्थी संख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उहाँको भनाइ छ ।

वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालय लगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायता सुविधा दिएको उहाँको भनाइ छ । विद्यार्थीलाई यातायातको सुविधा दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

भण्डारीले भन्नुभयो – “यस वर्षदेखि टाढाका विद्यार्थीलाई गाडी उपलब्ध गराएका छौँ, हरेक दिन गाडी विद्यार्थीको घरमै लिन जान्छ, दूरीका आधारमा यातायात सुविधा उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गर्ने पहिलो चरणमा छौँ, अहिलेसम्म बाहिरबाट पनि राम्रो ‘फिटब्याक’ पाइरहेका छौँ, आगमी वर्षदेखि अझै प्रवभाकारी बनाउने योजना छ ।”

नतिजा सुधारका लागि यस वर्षदेखि कक्षा ८ र १० को अर्धवार्षिक परीक्षासमेत नगरपालिकाले लिने उहाँले बताउनुभयो । शिक्षिका सुत्केरी बिदामा भएको बेला सट्टा शिक्षक राख्ने कार्यक्रमसमेत नगरपालिकाले ल्याएको सुनाउँदै, हरेक वर्ष गलकोट शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *