डम्मर बुढा मगर, बागलुङ
एक दशक गाडिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यवसायिक रुपमा स्याउ खेती गरिन्थ्यो । परम्परागत रुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रधिबिबाट नयाँ–नयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खास गरि निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजी, लगायतका ठाउँमा स्याउ उत्पादन गरिदै आएकोमा अहिले निसीखोला, ताराखोला र बडिगाडको माथिल्लो क्षेत्रमा स्याउ खेती गर्न थालिएको छ ।
पछिल्लो पाँच वर्ष यता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको संख्या पनि बढ्दै गएको छ । करिब २२ सय मिटरको उचाइदेखि स्याउ उत्पादन हुने हुँदा कृषकको आकर्षण बढेको पाइन्छ । जिल्लामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रलाई लिन्छ । यि क्षत्रेमा दुई दशकभन्दा अगाडिदेदि व्यवसायिक स्याउ उत्पादन हुँदै आएको पाइन्छ । पछिल्लो समय ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको उच्च क्षेत्रमा स्याउ खेती विस्तार हुँदै गएको छ । ताराखोला गाउँपालिका–५ ठुलो हिलेमा १ सय ८० स्याउको विरुवा लगाइएको छ । विरुवा लगाएको दुई वर्षमै फल्ने हुँदा कृषक यस खेती तर्फ आकर्षित भएका हुन् ।
गाउँपालिकाको ५ नम्बर वडामा हाइब्रीट प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातीको स्याउ लगाइएको गाउँपालिकाका सायक पशु चिकित्सक प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो । यस वर्ष पनि गाउँपालिकाले आठ सय स्याउका विरुवा खरिद गरि किसानलाई वितरण गरेको बताउनुभयो । अघिल्लो वर्ष ताराखोला गाँपालिकाले कृषि विकास निर्देशनलाय गण्डकी प्रदेशबाट हाइब्रीट जातका स्याउका विरुवा लिएर कृषकलाई दिएको भन्दै ति विरुवा सप्रिदै गएको उहाँको भनाइ छ ।
हाइब्रीट स्याउका विरुवालाई सरसफाई गर्न, बगैंचामा विषाधी व्यावस्थापन र कलमी गर्न सजिलो हुने भएकोले किसानले खेती गर्न चासो देखाएको शर्मा बताउनुहुन्छ । अघिल्ला वर्षहरुमा १४ रोपनी क्षेत्रमा स्याउ खेती भएको भन्दै यस वर्षदेखि एक रोपनीमै चारदेखि पाँच हजार विरुवा लगाउन मिल्ने खालको स्याउका विरुवा विस्तार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।
निसीखोला गाउँपालिका–५ मा पनि गाउँपालिकाले स्याउ खेती विस्तार गरेको छ । सिप, भल्कोट लगायका क्षेत्रमा स्थानीयले वर्षौँ अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरि नयाँ जातको स्याउका विरुवा दिएपछि उत्साहित भएका छन् । भौगोलिक बनावट, हावापानी र स्थानीयको माग अनुसार निसीखोलाको माथिल्लो क्षेत्रमा स्याउ खेती बिस्तार गर्न थालेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो ।
यस वर्ष वडा नम्बर ५ र ६ मा ४५० स्याउका विरुवा लगाएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती बिस्तार गर्न थालेको उहाँको भनाई छ । निसेलढोर बाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाइएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।
“बागलुङ जिल्लामा स्याउ फल्ने ठाउँका रुपमा निसेलढोर र उत्तरगंगा ढोरपाटनलाई चिनिदै आएको छ, हामीले अहिले तल्लो क्षेत्रमा पनि स्याउ उत्पादन गर्ने गरि किसानलाई विरुवा दिएका छौँ, यहाँका किसानले स्याउ लगाएको स्थान उच्च पहाडी क्षेत्र पर्छ,” कृषि प्राविधिकहरुको टोलीले माटो परीक्षण गरेर उन्नतजातका स्याउका विरुवा लिएर लगाइएको छ, यी विरुवाले एक÷दुई वर्षमै उत्पादन दिन्छन् भन्ने छ, यसले कृषिकलाई उत्पादन गर्न तर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने छ ।”
निसीखोला गाउँपालिकामा दर्ता भएका कृषि फर्म तथा समूहलाई स्याउका विरुवा प्रदान गरेको उहाँले बताउनुभयो । वडा नम्बर ५ र ६ का ४५ समूहलाई चार सय पचास स्याउका विरुवा दिएको उहाँ बताउनुहुन्छ । पाल्पामा उत्पादन गरिँदै आएको स्याउको विरुवा खरिद गरि यहाँका कृषकलाई वितरण गरेको हो । निसीखोलामा दुई हजारदेखि चार हजार उचाइसम्म स्याउका विरुवा लगाइने उहाँको भनाई छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने, सिप, चोरबास, कोस्काँ लगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् ।
निसीखोला गाउँपालिका–२ अर्नाकोटमा पनि अघिल्लो वर्षदेखि व्यवसायिक स्याउ खेती सुरु भएको छ । स्थानीय दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका विरुवा लिएर लगाएको विरुवाले अहिले फल दिएको छ । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि उहाँ उत्साहित हुनु भएको छ । ओलीले यस वर्ष थप २७ वटा विरुवा लगाउनु भएको छ । सुरुमाल लगाएका बाइस विरुवा मध्ये दुई वटा मरेको भन्दै अहिले २० वटा बोटमा स्याउ फलेको उहाँ बताउनुहुन्छ । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएको उहाँको भनाइ छ ।
ओलीले स्याउका विरुवा लगाएपछि अर्नाकोटका अन्य १२ जना कृषकले पनि विरुवा लिएर लगाएको बताउनुभयो । वर्षौँदेखि गाईभैँसी र खेती किसानी गर्दै आएका किसान अहिले स्याउ खेती गर्नतर्फ ध्यान दिएको उहाँको भनाइ छ । हाल उहाँको बगानमा २७ नयाँ विरुवा र २० पोहोर साल लगाएका गरि ४७ स्याउका बोट रहेको उहाँले बताउनुभयो । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन जानकारी पाएपछि ओलीले परीक्षण्का लागि स्याउ लगाएको बताउनुहुन्छ । परीक्षणका लागि लगाएको स्याउले एकै वर्षमा फल दिएपछि थप उत्साहित भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “अर्नाकोट क्षेत्रमा स्याउ लगाउने चाहाना पहिलेदेखिनै थियो तर, विभिन्न कारणले गर्दा लगाउन पाएको थिएन, पोहोर साल ल्याएर लगाएको अहिले फलको छ, यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिएन, यस ठाउँमा पानीको समस्या छ, संचाइको समस्याले गर्दा विरुवा बचाउन सकिन्न कि भन्ने डर थियो, धेरै सिंचाइ गर्नु पर्ने रहेनछ, सरकारले यहाँ सिंचाइको राम्रो व्यवस्था मिलाइ दिने हो भने व्यवसायिक रुपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो, जिल्लालाई पुग्ने स्याउ उत्पादन गर्न सकिन्छ जस्तो लाग्छ ।”
स्थानीय चेतबहादुर कुँवरले पनि दुई वर्ष अगाडि २७ वटा विरुवा लगाउनु भएको थियो । अहिले सबैले विरुवामा स्याउ फलेका छन् । कुँवरले लगाएकै सालमा फूल फूल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरु कै वर्षमा फल दिन थालेको बताउनुभयो । स्याउ खेती व्यवस्थित गर्नका लागि गाउँलेलाई नै यस तर्फ आकर्षित गर्न थालेको उहाँको भनाइ छ । आफूले स्याउ लगाएको क्षेत्र अलि बढी सुख्खा भएको हुँदा स्याउका पोथीभन्दा भाले जातका विरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उहाँ बताउनुहुन्छ ।
गाउँमा पछिल्लो समय सयौँ रोपनी जग्गा खाली हुँदै गएको र यी जग्गालाई दुपयो गरि स्याउ खती गर्ने योजना रहेको उहाँको भनाइ छ । एउटा व्यक्तिले मात्रै बाँझो जमिन सदुपयो गर्न नसक्ने हुँदा यसका लागि गाउँले नै सक्रिय हुनु पर्ने कुँवर बताउनुहुन्छ । गाउँमा अघिल्लो वर्षसम्म कसैले पनि स्याउ लगाउने सोँच नबनाएको सुनाउँदै अहिले धेरैले विरुवा खोज्न थालेको उहाँले बताउनुभयो । यस वर्ष गाउँमा स्याउका विरुवा लगाउनेको संख्या बढेको उहाँ बताउनुहुन्छ ।
“हामी सानो–सानो हुँदा ढोरपाटन पुगेर स्याउ खाने गरिन्थ्यो, पहिले त अहिलेको जस्तो बजारमा विदेशी स्याउ पनि आउँदैनथे, अहिले त जता पनि छ्याप्छ्याप्ती पाइन्छन्, हामीले पनि गाउँमा स्याउ लगायौँ, हाम्रो गाउँ स्याउ फल्ला भन्ने कल्पना पनि थिएन, अहिले चकित पार्ने गरि सानै बोटमा फल्यो, स्याउ फलेपछि गाउँका धेरैलाई आश्चर्य बनाएको छ,” उहाँले भन्नुभयो – “यो ठाउँ खानेपानीको अभाव भएको ठाउँ हो, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरुलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आश पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउ लगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।”
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले जिल्लामा स्याउ खेती विस्तारका लागि ज्ञान केन्द्रबाट कृषकलाई प्रोहोत्सान गरेको र उन्नत जातका स्याउका विरुवासमेत वितरण गर्दै आएको बताउनुभयो । स्याउ खेतीप्रति किसानले चासो देखाएपछि ज्ञान केन्द्रले यस वर्ष २५ सय बढी विरुवा वितरण गरेको पुनको भनाइ छ । उहाँका अनुसार हाल बागलुङमा ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुदै आएको छ । जस मध्ये ५५ हेक्टरमा लगाइएका स्याउका बोटले उत्पादन दिएको उहाँ बताउनुहुन्छ ।
“बागलुङको माथिल्लो क्षेत्रमा स्याउ खेतीका लागि हावापानी मिलेको पाइन्छ, हरेक वर्ष जिल्लामा खेती गर्ने किसानहरु पनि बढी राख्नु भएको छ, यस वर्ष अघिल्लो वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने देखिन्छ, हामीहरुले पनि कृषकलाई स्याउ खेती तर्फ आकर्षण गर्न विभिन्न खालका कार्यक्रमहरु गरि रहेका छौँ” सूचना अधिकारी पुन मगरले भन्नुभयो – “हरेक वर्ष कृषकलाई उन्नत जातका विरुवा वितरण गरेका छौँ, ज्ञान केन्द्रबाट वितरण भएका स्याउका विरुवाले एक÷दुई वर्षमै फल दिन्छ, तीन÷चार वर्षपछि त कृषकले राम्रो उत्पादन गर्न सक्नुहुन्छ ।”