छोरा कुरि रहेका बा !

डम्मर बुढा मगर, बागलुङ
आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । यस दिन आफ्नो बुबालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेहरुले भने फोन तथा भिडियो कल बुबाको मुख हेर्ने गर्छन् । यस दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उहाँ चाहेर पनि आफ्नो सन्तानसँग सँगै हुन पाउनु भएको छैन । अहिले उहाँ मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बस्नु भएको छ ।

हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका, हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिनुहुने उहाँ आफ्ना छोराहरु लिन आउँछन् भन्ने आशमा हुनुहुन्छ । उहाँको निन्याउरो अनुहारमा धेरै निराश र अलिअलि आशाका किरणहरु देखिन्छन् । पाठकले मानवसेवा आश्रम भित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्नुहुन्छ । ७० वर्षीय पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बस्दै आउनु भएको छ । पाठक घरीघरी छोराहरुलाई सम्झनुहुन्छ । तर छोराहरु भने उहाँलाई सम्झँदैनन् ।

पाठकका तीन भाई छोरा हुनुहुन्छ । जेठो र माइलो भारतको बनरासमा हुनुहुन्छ भने कान्छो छोरा भने कुवेतमा हुनुहुन्छ । पाठकका दुई बुहारी र छ जना नातीनतिना पनि छन् । तर उहाँलाई कसैले पनि सम्झिन्न् । तीन वर्ष अगाडि श्रीमति गुमाउनु भएका पाठक कान्छि बुहारीसँग केही महिना बिताउनु भयो । पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किनु भयो । बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आउनु भयो । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ ।

आज भाद्र कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरुले सानो छँदा बाबा भनेर आङ्गालो र पिठ्ठियुँमा झण्डिएको यादले यहाँलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताउनुभयो । छोराहरु हुकाउन, बढाउन र पढाउन आफूले निकै संघर्ष गरेको सुनाउँनुभयो । अझै पनि छोराहरुले आफूलाई साथैमा लिएर पाल्ने आश उहाँमा छ । तर जेठो र माइलोसँग चार वर्षदेखि र कान्छोसँग तीन वर्षदेखि उहाँको सम्पर्क भएको छैन ।

“म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरुले दुःख पाउँछन् भनेर मैले २० वर्ष इन्डियामा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरुलाई हुर्काएका हौँ, उनीहरुले पढ्न जाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरुले मलाई हेर्न छोँडे,” पाठकले भन्नुभयो – “अब हातपाखुरा बस्न थाले, छोराहरुले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पु¥याए मैले केही बुझन् सकेको छैन, अझै पनि आश त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।”

पाठकले छोराहरु पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन, चामल बोकेर ल्याएर खुलाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरुले आफुलाई हेला गरेको बताउनुहुन्छ । गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकलले बताउनुभयो । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरुले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोख्नुभयो ।

पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती प्रदेशमा छन् । गाउँमा बुढा बाआमा मात्रै छन् । पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झिेर निराश हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताउनुभयो । परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाकठले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उहाँले बताउनुभयो ।

“यो बुबाले आफ्नो छोराहरुलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरु कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरु बुबालाई भेट्न एक पटक पनि यहाँ आउनु भएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ” तामाङले भन्नुहुन्छ – “यहाँ बस्न थालेको धेरै समय भयो, बुढाबुढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरुलाई हेर्ने, अरु काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनु पथ्र्यो, छोराहरु आए आनुहुन्छ भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *