डम्मर बुढा मगर, बागलुङ
तिज चेली माइतीको विशेष वर्ष हो । यस पर्वलाई आफन्तजनसँग भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा लिइन्छ । पहिले–पहिले चेलीबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेंलो रंगका कपडाले लगाउने गरिन्थ्यो । चुरा, पोते लगाउँने, नाच गान गर्जे र गीतको माध्यमबाट मनको वह पोख्ने गरिन्थ्यो तर अहिले तिजको मौलिकता हराएको छ । हरितालिका तिज नजिकिएसँगै बागलुङका बजारदेखि गाउँसम्ममा यसको यसको रौनक निकै बढेको छ । तिज आउन १५ दिन अगाडिदेखिनै यहाँ दर खाने र नाचगानका कार्यक्रमहरु दिनदिनै भइ रहेका छन् ।
हिजोआज तिज भड्किलो हुँदै छ भने तिजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । तिज उत्ताउलोसमेत र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढेको छ । बागलुङकी ७३ वर्षीया तेजदेवी सापकोटालाई अहिलेको तिज पर्व मन पर्न छोडेको छ । तिजलाई परम्परागत र मौलिक रुपमा मनाउन छोडेर विदेशी संस्कार अनुसार मनाउँदा आफूलाई मन पर्न छोडेको उहाँ बताउनुहुन्छ । जमानासँगै स्थानीय संस्कार, संस्कृति र परम्परा मेटिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सापकोटाले पहिले तिज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान सुरु गर्ने भन्दै अहिले एक महिना अगाडिदेखि दर खान सुरु गर्ने गरेको बताउनुभयो । दर खाने नाममा स्थानीय उत्पादनलाई छोडेर विदेशी मदिरा र महङ्गा–महङ्गा परिकार खाने गरेको उहाँको भनाई छ ।
“हाम्रो पालामा अहिलेको जस्तो टडकभडकको तिज हुँदैनथ्यो, उति बेला तिजमा टाढा–टाढा भएका दिदीबिहिनीसँग भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीहरुसँग चौतारामा, गाउँको डाँडामा बसेर गीत आउने गथ्र्यौँ, घरमा पाएको दुःख सुखका कुरा तिजका गीतमा समेटर गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि जीवनमा भएका घटनाका आधारमा गाइने गरिन्थ्यो,” सापकोटाले भन्नुभयो – “अहिले त गीत गाइनै छोड, माडल, डम्फु र मुजुरा बज्नै छोडे, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमका बाहेक अरु छैनन्, हाम्ले त दर भनेर केरा, दही मिसाएर खान्थ्यो, अहिले ठूलो–ठूलो होटलमा बसेर रक्सी खान्छन्, यस्तो चलनले हाम्रो संस्कृतिनै मास्यो ।”
श्रीकृष्ण जन्मअष्टमी दिनदेखि गाउँ घरमा छरछिमेकी जम्मा भएर साँझमा गीत गाउने, नाच्ने र दिनभरीको थकान मेटाउने गरेको स्मरण गर्दै अहिले हरेक दिन बजार र गाउँका टोलटोलमा दरखाने कार्यक्रम राख्ने गरेको बताउनुहुनुहुन्छ । अहिलेका पुस्ताले आफ्नो पहिरन बिर्सिएर विदेशी पहिरन गर्ने गरेको भन्दै धर्मकर्म, संस्कार र परम्परा सबै हराउँदै गएको सापकोटाको भनाइ छ ।
स्थानीय तिलकुमारी खत्रीले परम्परादेखि धार्मिक शास्त्र अनुसा पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहर व्रत बस्ने गरेको भन्दै अहिले त्यो चलन हराउँदै गएको बताउनुभयो । संस्कृतिका नाममा हुने गलत गतिविधिले चाडपर्वको महत्वलाईनै विकृत बनाइदिएको उहाँको भनाई छ । समय र परिस्थित परिवर्तन भए पनि संस्कृतिलाई पुरानै रुपमा मनाउनु पर्ने खत्रीले बताउनुभयो । पछिल्लो समय बदलिँदो समयलाई बाहना बनाएर भड्किला गतिविधि भइरहेको उहाँ बताउनुहुन्छ ।
यस पर्वले महिलाहरुमा मात्र होइन, पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ उर्जाको सञ्चार गराउने खत्रीले बताउनुभयो । पछिल्लो केही समय यता तिज पर्व हिन्दु संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि यसको दायरा केही फराकिलो बन्दै गएको उहाँको भनाइ छ । तिज पर्वले महिलाहरुको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभइ, वर्षभरको दुःख भुलेर नयाँ ढंगले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनु पर्ने उले बताउनुभयो ।
“हाम्रा चाडपर्वलाई मौलिक रुपमै मनाउनु पर्छ, हामीहरुले विदेशीको नक्कल गर्ने होइन, विदेशीलाई हाम्रो संस्कार संस्कृतिको नक्कल गर्न सिकाउनु पर्छ, पहिले–पहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ,” खत्रीले भन्नुभयो – “अहिले त दिनदिनै दर खाने कार्यक्रम हुन्छ, दिनदिनै नयाँ कपडा लगाउनु पर्ने, हुने खानेले त लगाउलान्, खालान्, तर यस्तो प्रवृत्तिले हुँदा खानेलाई कस्तो असर गरेको होला ?”
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँमा भन्दा सहरी क्षेत्रमा ति भड्किलो बन्दै गएको बताउनुभयो । बुढापाकाले अहिले पनि पुरानै शैलीमा चाडपर्व मनाउने गरेको भन्दै युवा पुस्ताहरुले आधुनिकता अंगाल्दा तिज पर्वको मौलिकता हराउँदै गएको बताउनुभयो । प्रविधिको बढ्दो प्रयोग र पश्चिमा संस्कृतिको देखासिकले तिज लगायतका चाड पर्व भड्किलो बनेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । अहिले बजारमा आउने रेकर्डेड गीतहरु पनि परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका आउन थालेको उहाँको भनाइ छ ।
“चाड पर्व आफूसँग जे छ, त्यसैमा रमाउन जान्नु पर्छ, अरुको देखासिकीले क्षणिक रमाइलो त होला तर त्यसको असर धेरै लामो समय पर्न सक्छ, तिको रमझम त जताततै छ, तर सहरमा बढी विकृति भयो भन्ने गुनासो आउँछ, यो साँचो हो, तर गाउँमा अहिले पनि दिदीबहिनी मादल बजार मौलिक गीत गाउनु हुन्छ,” अध्यक्ष अधिकारीले भन्नुभयो – “हाम्रा पुराना संस्कार, संस्कृतिलाई युवापुस्ताले ग्रहण गरेर पुरानै शैलीमा मनाउने हो भने युगौँसम्म संस्कृति जीवित रहन्छ, यही हिसाले गयो भने त हाम्रा भावी पुस्ताले तिज वर्षको महत्व र इतिहास थाहा पाउने छैनन् ।”