डम्मर बुढा मगर, बागलुङ
भल्कोटवासी जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान्छन् । चार महिना अगाडि लेक चढेका गोठाला असोज ५ मा मात्रै बेसी झर्छन् । चार महिनाको अवधी उनीहरु हजारौँ पशुचौपायासहित ४२ सय मिटर उचाईसम्मको लेकमा पुग्छन् । लेकमै अस्थायी रुपमा गोठ बनाएर बर्खा याम बिताउने गोठाला बेसी झरेपछि मात्रै परिवार भेट्न पाउँछन् । यो भल्कोटीहरुको दशकौँ पुरानो परम्परा हो । निसीखोला गाउँपालिका – ६ भल्कोटका अधिकांश किसान पशुपालनमा आवद्ध रहेको हुँदा हरेक वर्ष लेक–बेसी गरेर पशुचौपाया पाल्ने गर्दछन् । आज असोज ५ । विहानैदेखि लेकबाट भल्कोटीहरु पशुचौपाया लिएर बेसी झरि रहेका छन् ।
निसीखोला गाउँपालिका– ६ भल्कोट भर्कोबाङमा आज विहानैदेखि गोठालाहरुको चहलपहल निकै बढेको छ । मध्यपहाडी लोकमार्गको माथिल्लो पट्टी सानो पहाडको टुप्पोमा भर्कोबाङ पर्छ । जहाँ समथर भू–भागमा फैलिएको ठूलो मैदान छ । यही मैदानमा विहानैदेखि गोठालाहरुले बाँसको चित्रा र त्रिपालले अस्थायी गोठ बनाइ रहेका छन् । घरमा भएका परिवारले लेकबाट झर्ने आफन्तलाई पर्खिरहेको छन् । केही किसानले भने आफ्ना पशुचौपाया लिएर भर्कोबाङमा आइ सकेका छन् । हरेक वर्ष असोज ५ लाई पर्वकै रुपमा मान्ने भल्कोटबासीले लेकबाट पशुचौपाया झार्दा बार पारेर झर्ने गर्छन । शुभ अशुभ हेरेर पशुचौपाया बेसी झार्ने गरिए पनि यस वर्ष असोज ५ अशुभ रहेको हुँदा ४ गतेनै केही किसानले आफ्ना चौपाया झारेका छन् । तर उनीहरुले पशुचौपायलाई सार्वजनिक ठाउँमा आज मात्रै खुला छाड्न पाउँछन् ।
आज परिवरका सदस्यसँग भेट्न पाइने भएपछि लेकबाट झर्ने र घरमा भएकाहरुमा निकै सुखी आएको छ । भर्कोबाङको पाटाहरुमा मकै, गहुँ, जौँ रोप्ने रोप्ने गरिन्छ भने केही बाँझो जमिन छन् । केही जमिनमा भर्खरै मकै भित्राएर बाँकी रहेका डाठ मात्रै देखिन्छन् । ती पाटाहरुमा सयौँको संख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरुले भरिएका छन् । आज साँझसम्म सयौँ किसानका हजारौँ पशुचौपाया यहाँ हुन्छन् । आजदेखि करिब २० दिन भर्कोबाङको चारै तिर काला, खैरा गाई गोरु, भेँडाबाख्राले भरिन्छन् । दजनौँ पशुचौपाय पाल्ने स्थानीयहरुले गाउँमा घाँस पु¥याउन नसकेपछि लेकमा लैजाने गर्छन् । लेकमा बस्दा गोठालाहरुले पशुचौपाया चराउनुको अलावा चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने कामसमेत गर्ने गर्छन् । लेक जाने समय वैशाखदेखि सुरु भएर असारसम्म भए पनि गोठ झार्ने समय भने असोज ५ नै हो ।
असारपछि बेसीमा पशुचौपाया राख्न पनि निशेध गरिएको हुन्छ । त्यो वर्षौँदेखि स्थानीयले बनाएको कानुन हो । कानुन उल्लङ्घन गर्नेलाई कारबाहीसमेत हुने गर्दछन् । त्यसले गर्दा पनि सबैले परम्परादेखि कार्यान्वयन हुँदै आएको नियम पालना गर्दै आएको स्थानीय कुलबहादुर घर्ती मगरले बताउनुभयो । परिवारसँग छुट्टिएर जेठमा लेक गएको भन्दै चार महिनापछि आज भेट भएको बताउनुभयो । यस वर्षको असोज ५ गोठ सार्नका लागि अशुभ भउको भन्दै बिहीबारनै गोठ भएको स्थानबाट पातिहाल्नेसम्म झरेर साइत पारेको बताउनुहुन्छ ।
४३ वर्षदेखि गाईभैँसी पाल्दै आएको सुनाउँदै अहिलेसम्म असोज ५ भन्दा अगाडि बेसी कहिल्यै पनि नझरेको उहाँको भनाइ छ । आजभन्दा पछाडि असोज भित्रसम्म आउन पाइने भए पनि पछाडि आउन नपाइने उहाँले बताउनुभयो । केही गोठालाहरु निकै लेकमा पुगेको हुँदा असोज १० सम्म बेसी झरिसक्ने घर्तीको भनाइ छ । लेक जानेबेला धेरै महिनालाई पुग्ने खर्चपर्च बोकेर जाने समय–समयमा गाउँ झर्ने र आवश्यक सामानहरु लिएर फर्किने गरेको घर्ती बताउनुहुन्छ । उहाँले पटकपटक लेक–बेसी गर्न गाहो हुने हुँदै चार÷पाँच महिनाका लागि पुग्ने खर्च एकै पटक बोकेर जाने गरेको बताउनुभयो ।
“यो चलन हामीले बसालेको होइन, हाम्रो बाउ, बाजे र पुर्खाहरुले बसालेको हो, उहाँहरुले जे सिकाउनु भयो हामीहरुले त्यही गर्दै आएका छौँ, उहाँहरुले जे नीति कानुन बनाउनु भयो हामीहरुले त्यही पालना गर्दै आएका छौँ, उहाँहरुले बनाएको नीति कानुनलाई मानेनौँ भने हामीहरुलाई कानुन लाग्छ,” घर्ती मगरले भन्नुभयो – “पहिले–पहिले मेरा थुप्रै थिए, भेडाबाख्रा अहिले कम भएका छन् बुढेसकाल लाग्यो, यो चलन राम्रो हो, कोही अगाडि आयो भन्न पनि नपर्ने, पछाडि भयो भन्न पनि नपर्ने, सबै एकै पटक बेसी आउँदा रमाइलो पनि हुन्छ ।”
यहाँका गोठालाहरु खास गरि गोठ लिएर रोल्पा, रुकुम र बागलुङको सिमाना क्षेत्रमा जाने गर्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचन, निसेलढोरको शिर लगायतका ठाउँमा हुन्छन् । महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न जान्छन् । ५ गते भन्दा अगाडि पछाडि बेसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै बेसी झर्ने गरेको गोठालाहरुको भनाइ छ । पशुचौपायालाई अब १५ दिन यही भर्कोबाङमा राख्ने र त्यसपछ आ–आफ्नो बारीमा लैजाने स्थानीय किसान कुम्बिर घर्ती मगरले बताउनुभयो ।
भल्कोट क्षेत्रमा धेरै वर्ष अगाडिदेखि किसानले पशुपालन गर्दै आएको र घाँस तथा चरन क्षेत्रको व्यवस्थापनका लागि लेक–बेसी गर्ने प्रचलन सुरु भएको घर्ती मगरको भनाइ छ । हिउँदको समयमा लेकमा घाँस सुक्ने र हिउँ पर्ने हुँदा बेसीमै पशुचौपायाललाई घाँस, दानको व्यवस्थापन गरेर पाल्नु पर्ने उहाँले बताउनु भयो । बर्खाको समय बेसीमा खेतीपाती गर्ने र घाँस सकिने हुँदा लेक लैजाने गरिदै आएको घर्ती मगरले उल्लेक गर्नुभयो । गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उहाँको भनाई छ ।
घर्ती मगरले भन्नुभयो – “एउटै घरमा दुई÷तीन सय भेडाबाख्रा, हुन्छन्, कोहीको गाई धेरै हुन्छन्, कोही भैँसी, एकै ठाउँमा राखेर पाल्न सकिदैन, त्यही भएर लेक बेसी गर्नु परेको हो, बर्खा भरी पशुचौपायाले लेकको घाँस खाए, लेकमा घाँस कम हुँदै गयो, जेठदेखि अहिलेसम्म बेसीमा घाँस पलाएको छ, मकै पाकेर भित्राइ सके, बारीभरी घाँस छ, अब त्यही घाँसले हिउँद कटाउनु पर्छ, पशु पाल्न त लेकमै ठिक हुन्छ, बेसीमा घाँस पु¥याउनै गाह्रो हुन्छ ।”
आज विहानैदेखि मध्यपहाडी लोकमार्गको भल्कोटदेखि रोल्पा, रुकुम र बागलुङको सिनामा पातीहाल्नेसम्म हजाराँै पशुचौपायको लाइन हुन्छ । अछिपछि गोठालाले किलो, दाम्लो र भाँडाकुँडा बोकेर हिँडि रहेका हुन्छन् भने अघिअघि भेडाबाख्रा, गाईभैसीँको ठूलो लाइन देखिन्छ । बर्खाको समयमा बेसीमा चौपायाहरु पाल्नै गाह्रो हुने हुँदा लेक लैजानु परेको स्थानीय अम्बर बुढा मगरले बताउनुभयो । बर्खाको समय स्थानीयको सयौँ पशुचौपायाले बारीमा खेतीपाती गर्न नदिने हुँदा लेक लैजानु पर्ने उहाँले बताउनुभयो । हिँउदमा बसीमा खास्सै खेतीपाती नगरिने हुँदा झण्डै सात महिना यही राखिने उहाँको भनाइ छ । उहाँले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताउनुभयो ।
घर्ती मगरले पशुचौपायालाई लेकबाट बेसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रसस्त घाँस पाइने बताउनुहुन्छ । अब भल्कोटीहरु बैशाखसम्म बेसीमै बस्छन् । बैशाखसम्म गाउँकै बारीहरुमा पशु चौपाया चराउने र जंगलबाट घाँस काटेर खुवाउने गर्छन् । धेरै पशुचौपाया पाल्ने हुँदा उनीहरु वर्षेनी लेक बेसी गर्नु परेको उहाँको भनाइ छ । असोज ५ भन्दा अगाडि बेसी झर्ने गोठालाले आफ्नो वस्तुभाउलाई बढी घाँस खुवाउने भन्दै कसैलाई पनि बढी घटि नहोस् भन्ने उद्देश्यले एकै पटक बेसी झर्ने नियम बनाएको उहाँ बताउनुहुन्छ । आज लामो समयपछि परिवारसँग भेटघाट हुन पाउँदा महिनौँदेखिको नयास्रो मेटिने बुढा मगरले बताउनुभयो ।
“म जेठमै लेकतिर लागेको हुँ, अहिले बल्ल घर आएँ, लेकमा पनि धेरै दुःख हुन्छ, पानी झरी नभनी यि सम्पत्तिको रेखदेख गर्नु प¥यो, ‘असारदेखि असोजसम्म त गाउँमा पशुचौपाय राख्न सक्ने सम्भावना नै हुँदैन, एक÷दुई परिवारले राखे मात्रै पुग्ला सबैले राखे पशु पाल्न सकिदैन,” बुढा मगरले भन्नुभयो – “घर छोडेको पनि धेरै महिना भयो, आज बल्ल घरका सबैसँग भेट हुन्छ, दुःखम्, खुसम्का कुरा हुन्छ, यो दिन त हाम्रा लागि ठूलो पर्व हो, लेकमा गएको बेला ठूलै बिरामी परे झर्ने हो नत्र, झरिदैन ।”
निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले असोज ५ स्थानीय पशुपालक किसानका लागि नैतिक बन्धन बनेको बताउनुभयो । परापूर्वक कालदेखि घाँस व्यवस्थापनका लागि जेठ÷असार महिनामा लेक जाने र असोजमा बेसी झर्ने परम्परा बसालेको हुँँदा अहिलेसम्म यो चल्दै आएको उहाँ बताउनुहुन्छ । अहिले अधिकांश बुढापाकानै पशुपालनमा सक्रिय भएको हुँदा उहाँहरुले परम्परालाई नियमका रुपमा मान्दै आएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।
“हाम्रो अनगिन्ती परम्परा मध्ये यो पनि एउटा महत्वपूर्ण परम्परा हो, असोज ५ ले यस क्षेत्रका सयौँ पशुपालक किसानलाई एउटा शुत्रमा बाँधेको छ, उनीहरु योभन्दा दायाँ, बायाँ गर्दैनन्, पुर्खाको अपमान हुन्छ भन्छन्” अध्यक्ष बुढा मगरले भन्नुभयो – “हामीहरुले पनि यो परम्परालाई मान्दै आएका छौँ, राम्रो संस्कार संस्कृतिलाई आत्मसाथ गर्ने र कुसंस्कृतिलाई हटाउने हाम्रो प्रयास हो, असोज ५ त एउटा कानुन जस्तो हो ।”