डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका–६ जर्नाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनु भएको छ । सानै उमेरमा आम बितेपछि उहाँका बाबाले कान्छी श्रीमति ल्याउनु भयो । कान्छी श्रीमति ल्याएको केही समयमै दीपेन्द्रलाई हजुरबा हजुरआमाको जिम्मा लगाएर घरबाट निस्किनु भयो । अहिले पनि दीपेन्द्रलाई बा र कान्छी आमा कहाँ भन्ने थाहा छैन । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबा हजुरआमासँग कष्टकर जीवन बिताइ रहनु भएको थियो । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाई लेखाईको प्रबन्ध मिलाएको छ ।
घरमा हुँदा राम्रोसँग पढ्न र पेट भरी खाना पनि नपाउनु भएका दीपेन्द्र अहिले दैनिक विद्यालय जान र पेटभरी खान पाउनु पाउनु भएको छ । सानैमा आमा गुमाउनु भएका दीपेन्द्रले आमाको माया ममता पाउन सक्नु भएन तर हजुरबा र हजुरआमाको माया भने प्रसस्त पाउनु भयो । अहिले बालगृहमा साथीभाईबाट पनि उत्तिकै माया पाउनु भएको छ । घरमा हुँदा भोगको दुःख कष्टलाई दीपेन्द्रले भुल्न सक्नु भएको छैन । बालगृहमा खान, लाउन र पढ्नको राम्रो व्यवस्था भएपछि उहाँ निकै मेहनतका साथ पढ्न थाल्नु भएको छ । घर परिवारका हुँदा दुःख पाएको भए पनि अहिले धेरै सहज रुपमा दैनिकी चलेको उहाँको भनाइ छ ।
बालगृहमा आफू जस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेको उहाँ सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेला–बेला गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि आएर नयाँ–नयाँ सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरुको समस्या बुझ्ने गरेको उहाँको भनाइ छ । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्य जस्तै मिलेर बस्ने गरेको विकले बताउनुभयो । आवश्यक परेका सामानहरु समयमै पाउने गरेको उहाँले बताउनुभयो ।
“म सानै हुँदा आमा बित्नु भएछ, बाजे र बजैले निकै दुःख गरेर मलाई हुर्काउनु भयो, अहिले त अल्ली ठूलो भए, पोहोर सालदेखि गाउँपालिकाको सरहरुले यहाँ लिएर राख्नु भएको छ, बाबाले विहे गरेर मलाई छोडेर जानु भयो, कहाँ हुनुहुन्छ थाहा छैन, घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन” दीपेन्द्रले भन्नुभयो – “अहिले धेरै सुविधा पाएको छु, भोग लाग्यो भने खान पाइएको छ, पढाई पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ ।”
तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बाल गृहमा बस्दै आउनु भएको छ । निताको बाबाको मृत्युपछि आमाले अर्को विहे गरेर अन्तै जानुभयो । बुबा आमा नभएपछि हजुरबाहजुर आमासँग बस्दै आउनु भएकी सिर्पालीले १४ वर्षको उमेरसम्म निकै दुःखदायी जीवन बिताउनु भयो । तर अहिले बालगृहमा बस्न थालेपछि उहाँको दैनिकीनै फेरिएको छ । कलिलो उमेर गाउँमा भारी र गह्रौँ काम गर्नु परेको सुनाउने निताले अहिले आरामदायी दैनिकी बनेको बताउनुहुन्छ । परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न राम्रोसँग नपाएको भन्दै अहिले दिनदिनै विद्यालय जाने र पढाई पनि सुधार हुँदै गएको बताउनुहुन्छ ।
“घरमा हुँदा कापी कलम किन्ने पैसा पनि हुँदैनथ्यो, घरको सबै काम गर्नु पथ्र्यो, बाजे/बज्यै बुढाबुढी हुँदा काम गर्न सक्नु हुँदैनथ्यो, त्यसले गर्दा घरको काम गर्नु पथ्यो, कहिले स्कुल गइन्थ्यो, कहिले गइन्थ्यो,” निताले भन्नुभयो – “अहिले त सधैँ स्कूल गइन्छ, पहिला खाना लगाउन राम्रोसँग पाइन्थ्यो, अहिले राम्रो भएको छ, साथीहरु पनि धेरै छन्, खेल्ने, पढ्ने समय हुन्छ, दुःख छैन अहिले त, स्कूल पनि नजिकै छ, पहिलेको जस्तो टाढा जानु पर्दैन ।”
तमानखोला गाउँपालिकाले अघिल्लो वर्ष असार महिनादेखि बालगृह संचालनमा ल्याएर अभिभावकविहीन बालकालिकालाई पालन पोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ । सुरुमा ३४ जना रहेकोमा अहिले २७ जना बालबालिका छन् । गाउँपालिकाले वडा नम्बर ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ संचालनमा ल्याएपछि गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याइ यहाँ राखेको बालगृह संचालक समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष झकबहादुर बुढा मगरले बताउनुभयो । अहिले बालबालिको पढाई राम्रो बन्दै गएको उहाँको भनाइ छ ।
बुढा मगरले भन्नुभयो – “बालगृह संचालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरुको आमाबुबा कोही विदेश रहेछन्, कोही कता रहेछन्, आएर लगे, अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ, समय–समयमा विभिन्न संघ संस्थाले पनि सहयोग गर्ने गरेका छन्, खासमा यो गाउँपालिकाको लगानीमा संचालनमा आएको हो ।”
गाउँपालिकाले तमानगाउँमा घरभाडामा लिएर बालगृह संचालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका रहेका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले बालगृह संचालन गरेको बताउनुभयो । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सिपमुलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढा मगरको भनाइ छ । गाउँपालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह संचालन गरेको उहाँ बताउनुहुन्छ ।
“हाम्रो पालिका अल्लि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौतिहरु छन्, त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरुले निरन्तर गर्दै आइरहेका छौँ, अहिले पनि भइरहेका छन्, पोहोर सालदेखि आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरि उनीहरुको पालनपोषण र दिशक्षादिक्षा दिने कामको थालनी गरेका छौँ” अध्यक्ष बुढा मगरले भन्नुभयो – “अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ, उनीहरुको खुसीले हामीहरुलाई पनि खुसी बनाउँछ, हिँजो दुई छाक खान नपाएका, पढ्न नपाएका बालबालिकाहरु अहिले खुसीका साथ पढ्न पाएका छन्, खान पाएका छन्, अब उनीहरुलाई पालिकाले सिपसँग जोडेर स्वरोजगार बनाउने योजना छ ।”
बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरि रहेका छन् । बालबालिकाहरुको पढाईमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ ।