डम्मर बुढा मगर, बागलुङ
पहिले–पहिले कोदोको ढिडो, रोटी र खोले गरिबका भान्छामा मात्रै पाक्थ्यो । गरिबको खाना भनेर चिनिने ढिडो अहिले घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि पाक्न थालेको छ । केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेण्टमा कोदोका परिकार पाक्दैनथे तर पछिल्लो समय माग बढ्दै गएको पाइन्छ । खास गरि कोदोको ढिडोको माग बढी आउने गरेको होटल व्यवसायी बताउँछन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि निकै उपयोगी हुने हुँदा माग बढ्दै गएको हो ।
कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका केही किसानले बाहेक अन्य ठाउँमा व्यवसायिक रुपमा उत्पादन गर्न सकेका छैनन् । रैथाने जातको कोदो खेती गर्दै आएका किसानले आत्मनिर्भरका लागि मात्रै उत्पादन गर्ने गरेका छन् । बजारमा कोदोको माग बढेपछि केही किसानले भने कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेति हुने गरेको छ । जंकफुड र आयातिक खाद्यान्नमा निर्भर हुने हुँदा किसानले कोदो खेतिलाई व्यवसायिक बनाउन सकेको छैनन् ।
पछिल्लो केही वर्ष यता बागलुङ बजारका होटलहरुमा कोदोको परिकारको माग बढ्न थालेको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । कोदोको ढिडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उहाँको भनाइ छ । कोदोको माग बढेसँगै आफूले गाउँबाट कोदोको पिठो मगाएर पाहुनालाई ढिडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । बजारमा सहज रुपमा कोदोको पिठो पाउन गाह्रो हुने उहाँको भनाइ छ ।
“पहिले कोदोको ढिडोको माग खास्सै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ कोदोको ढिँडो हुन्छ, विशेष गरि स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ, पहिले–पहिले पिजा, बर्गरको माग बढि हुन्थ्यो, अहिले धेरै मानिसमा अर्गानिक खाना खानु पर्छ भन्ने सोच बढेको छ,” अध्यक्ष राजभण्डारीले भन्नुभयो – “कोदोको खेति कम भएर होला, भनेको समयमा पिठो पाउन सकिदैन, कहिले गाउँबाट ल्याउँछौँ, कहिले यही अर्गानीक सामान बेच्ने पसलबाट ल्याउँछौँ, स्थानीय उत्पादनको महत्व मान्छेहरुले बुझ्दै गएका छन् ।”
स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घर बाहिर बसेर खाँदा पनि लजाउनु पर्ने स्थिती रहेको भन्दै अहिले धेरै मान्छेले ढिडो मन पराउन थालेको बताउनुभयो । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको भन्दै अहिले खेति गर्ने क्षेत्रफल बढाएको उहाँको भनाइ छ । बजारबाट कोदोको पिठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको बताउनुभयो । अघिल्लो वर्ष झण्डकै ५० हजारको कोदो विक्री गरेको सुनाउनु भयो । कोदोबाट आम्दानी हुन थालेपछि यस वर्ष खेती गर्ने क्षेत्रफल बढाएको क्षेत्री बताउनुहुन्छ ।
“हामी सानो–सानो हुँदा कोदोको ढिडो, रोटी खाँदैनथे, कोही कोहीले खाए पनि लुकाएर खान्थे, यस्तो राम्रो अन्न त्यतिबेला चिन्न सकिएन, अहिले यस्तो माग बढी छ, गाउँमा त कमैले खान्छन् ढिँडो, त्यसले गर्दा कोदो विक्री बढी हुने बजारमै हो,” क्षेत्रीले भन्नुभयो – “पहिला घरमा कोही पाहुना आउँदा चामल खोजेरै भए पनि भात खुवाउनु पर्छ भन्ने चलन थियो, अहिले त आउने पाहुनाले नै ढिडो खाउँ भन्छन्, कोदो स्वास्थ्यका लागि फाइदाजनक छ त्यही भएर ढिडोको माग बढेको छ ।”
बागलुङ जिल्लाभर १८ हजार ४५६ हेक्टर क्षेत्रफलमा कोदो खेति हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । हरेक वर्ष २३ हजार ४५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको उहाँको भनाइ छ । अहिले यहाँका किसानले रैथाने रुपमा कोदो खेति गर्दै आएको पुन मगर बताउनुहुन्छ । पछिल्लो समय जनमानसमा कोदोको महत्व बढ्दै गएपछि किसनाहरु उत्साहित भएको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदो लगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरि रहेको पुन मगरले बताउनुभयो ।
पुन मगरले भन्नुभयो – “बागलुङमा कोदो खति गर्नका लागि पर्याप्त जमिन छ, तर कम खति हुन्छ, किसानहरुलाई कोदो खेतितर्फ आकर्षित गर्न विभिन्न कार्यक्रमहरु संचालन गरि रहेका छौँ, उहाँहरुले कोदोको पिठो ब्राण्डिङ, प्याकेजिङ गर्न र परिकार बनाउनका लागि आवश्यक तालिम र परामर्श दिने गरेका छौँ, केही गाउँमा व्यवसायिक रुपमा लागेर कोदोको परिकार बनाइ रहेको पाएका छौँ, उत्पादन गर्ने क्षेत्र बढाउनका लागि किसानलाई पे्ररित पनि गरि रहेका छौँ ।”
यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेको हुँदा उत्पादनमा ह्रास आउने देखिएको पुन मगरले बताउनुभयो । दुई वटा रोगको प्रकोपका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उहाँको भनाइ छ ।