डम्मर बुढा मगर, बागलुङ
नेपालमा सबैभन्दा बढी रेमिट्रान्स भित्राउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् । टोल छिमेकमा कोही बिरामी परे अस्पतालसम्म पु¥याउने मान्छेसमेत पाउन मुस्किल छ । खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउँन थालेको छ । युवा शक्ति विदेशिएपछि गाउँ घर धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ । पहिले–पहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने प्रचलन थिएन ।
अहिले उनीहरु पनि विदेश जान थालेका छन् । महिला पनि विदेश जान थालेपछि गाउँ रित्तिने जोखिम बढेको छ । बागलुङका गाउँदेखि बजारसम्मका अधिकांश युवा शक्ति विदेश पलायन भइ रहेका छन् । कोही पलायन हुने तयारीमा छन् । जिल्लाको काठेखोला र गलकोट क्षेत्रका अधिकांश नागरिक जापानमा छन् । उनीहरुले आफ्नो परिवार पनि उतै लैजाने गरेका छन् । विदेशमा श्रीमान कमाउने भएकाहरु पनि बालबच्चा लिएर बजार झर्ने प्रचलन बढ्दो छ । जसका कारण गाउँ शून्य बन्दै गएका छन् । तर केही महिलाले भने गाउँमै बसेर उद्यम गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाएका छन् । त्यस मध्ये काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरु पनि पर्छन् । उनीहरुका श्रीमान तथा छोराछोरीहरु पनि विदेशमा छन् । तर विदेशबाट पठाउने रेमिट्रान्सभन्दा बढी महिलाहरुले गाउँमै खसीबोका बेचेर आम्दानी गर्दै आएका छन् । यस गाउँका धेरै महिलाहरु सहकारीमा आवद्ध भएर सामाजिक काममा समेत अग्रसर बन्दै आएका छन् ।
तंग्राम गाउँका थुप्रै युवा विदेशमा छन् । यहाँका महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्राउने गर्छन् । गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका विक्री हुन्छ । यस गाउँमा दुई वटा सहकारी छन् । त्यसमा आवद्ध भएर महिलाहरुले खसीबोका पालन गरि सहकारी मार्फत विक्री वितरण गर्ने गरेका छन् । खसीबोका बेचेर एउटै परिवारमा लाखौँ रुपैयाँ भित्राउने महिलाले विदेशमा गर्ने कमाई गाउँमै गर्ने गरेका छन् ।
तंग्राम गाउँमा रहेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक दुई करोड चार लाख रुपैया र बसन्त सहकारी दुई करोड १० लाखको रुपैयाँको खसीबोका बेच्ने गरेका छन् । सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले यो दसैँमा मात्रै ६०० खसीबोका बेच्नका लागि तयार गरेको सहप्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो ।
यस सहकारी मार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० वटा खसीबोका विक्री हुने भन्दै वार्षिक १३२० भन्दा बढी विक्री गर्दै आएको पुनको भनाइ छ । सहकारीले वार्षिक करिब २ करोड ४ लाख ४० हजार रुपैयाँको खसीबोका विक्री गरि रहेको भन्दै यसले महिलाहरु सक्षम र आत्मनिर्भर बनेको उहाँले बताउनुभयो । गाउँका धेरै जसो युवाहरु विदेश भएको हुँदा खसीबोका महिलालेनै उत्पादन गर्ने गरेको पुन बताउनुहुन्छ ।
पुनले भन्नुभयो – “धेरै मान्छेहरु विदेशमा जान्छ हाम्रो लागि सबैथोक गाउँ हो, गाउँ छोडेर कतै जान मन लाग्दैन, रहेक महिना खसीबोका उत्पादन हुन्छन्, बजार पनि ठिकै छ, धेरै दिदीबहिनीहरु खुसी हुनुहुन्छ, सुख दुःख गाउँमै गर्नु पर्छ भन्ने लाग्छ, विदेशमा अरुको गुलामी गर्नुभन्दा आफ्नै गाउँमा बाख्रा पालेरै स्वाभिमानका साथ बस्न ठिक छ, महिलाहरु पनि विदेश जाने चलन सुरु भएको छ, तर हाम्रो गाउँका धेरै महिलाहरु यही गाउँमा खुसी छौँ, पहिले भन्दा अहिले केही विदेश जाने र केही बजार झर्ने गरेका छन् ।”
बढ्दो महंगीले महिला उद्यमीहरुलाई असर त पु¥याएको छ, तर उनीहरु कत्ति पनि विचलित नभई आफ्नो पेसाप्रति प्रतिबद्ध भएर काम गरि रहेका छन् । यहाँका महिलाहरु अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बनेका छन् । विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा देखिन्न । बसन्त सहकारीकी प्रबन्धक हेमा विकले गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको बताउनुहुन्छ । यस सहरकारीले पनि दसैँ र तिहारका लागि ६०० बढी बोकाखसी बेच्नका लागि तयार गरेको उहाँको भनाइ छ । विशेष गरि भदौ, असोज र कार्तिक महिनामा उक्त संख्यामा खसीबोका बेच्ने लक्ष्य रहेको विक बताउनुहुन्छ ।
सहकारी मार्फत हरेक महिना १०० देखि १५० सम्म खसीबोका विक्री गर्ने भन्दै वार्षिक एक हजार ५०० विक्री हुने उहाँको भनाइ । आफूहरुले वार्षिक दुई करोड १० लाख बढीको खब सीबोका विक्री गर्ने गरेको विक बताउनुहुन्छ । बजारभन्दा गाउँको वातावरण स्वास्थ्यका लागि अन्य हिसाबले निकै उपयोगी हुने हुँदा यहाँका महिलाहरुले गाउँलाईनै माया गरेर उद्यमसँग जोडिएको उहाँ बताउनुहुन्छ । तंग्राम गाउँबाट बजार झर्ने र विदेश जानेको युवा शक्तिको संख्या बढी भए पनि महिला कमै मात्रामा भएको विकको भनाइ छ ।
“गाउँका प्रत्येक घरका एक÷दुई जना सदस्य विदेश छन्, त्यस मध्ये धेरै त पुरुषनै हुनुहुन्छ, महिलाहरुको संख्या अलि कम छ, गाउँमै वार्षिक लाखौँ आम्दानी गर्ने राम्रो वातावरण भएर पनि होला धेरै दिदीबहिनीहरु यहीँदै हुनुहुन्छ, गाउँमै दुख गर्नुहुन्छ” विकले भन्नुभयो – “खसीबोका उत्पादन गर्ने महिलाकै संख्या बढि छ, गाउँमा उत्पादन हुने खसी बोका सहकारी मार्फत बेच्ने गरेका छौँ, बसैभन्दा धेरै महिला कृषकले उत्पादन गर्नुहुन्छ, हामीहरुलाई यसैमा ठिक छ, यही राम्रो छ, विदेशमा गएकाले भन्दा बढी कमाइ हुन्छ, एउटै परिवारले सामान्य पनि ५/७ वटा खसीबोका बेच्ने गरेका छौँ ।”