मसानघाट पनि अतिक्रमण !

डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिहरुको आ–आफ्नै घाट हुन्थ्यो । अचेल ति घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरि खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भूजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो ।

घाटहरुमा अवैध रुपमा संचरना निर्माण गर्नुका साथै ढुङ्गा, गिट्टी र बालुवा थुपार्दा दाहसंस्कारमा समस्या पर्ने गरेको हो । निसीखोला गाउँपालिका – १ का नितेश पुन मगरले पछिल्लो समय अतिक्रमण बढेसँगै नदिको आकार पनि सानो हुँदै गएको बताउनुभयो । नदि किनारदेखि बर्खाल उठाएर स्थानीयले खेत निर्माण गरेर खेतीपाती गर्दा पनि सरोकारवालाको ध्यान नगएको उहाँको भनाइ छ । मसानघाटनै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको पुन मगरले बताउनुभयो । घाट पवित्रा स्थान भएको हुँदा संरक्षण गर्नु पर्ने उहाँको भनाइ छ । कतिपय घाटमा बस्तीसमेत बसालेको उहाँले बताउनुहुन्छ ।

“मान्छेहरुलाई कति लोभ लागेको हो ?, मसानघाटसमते अतिक्रमण गरेर आफ्नो बनाउँछन्, सबै मरेर जाने हो, किन यति लोभी बन्दै गए कुन्नी, पहिले निसीखोलाको धेरै ठाउँमा घाट थिए, खुल्ला ठाउँमा घाट बनाएर अन्तिम संस्कार गर्ने चलन थियो, अहिले एउटा शवलाई राखेर जलाउने ठाउँ पनि पाउन मुस्किल पर्छ” उहाँले भन्नुभयो – “गाउँपालिकाले एक÷दुई ठाउँमा राम्रो मसान घाट त बनाएको छ, तर पहिलेका ठाउँहरु फिर्ता लिएर त्यसलाई व्यवस्थित बनाउन भने सकेको छैन ।”

निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरे लगायतका दर्जन बढी घाट अहिले पुरिएर खेत बनेका छन् । कतै विकासका नाम पुरिने र कतै व्यक्तिगत लाभका लागि मसानघाट पुरेको स्थानीय धिरबहादुर क्षेत्रीले बताउनुभयो । घाट साझा थलो भएको हुँदा व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने उहाँको भनाइ छ । पछिल्लो समय खोलामा डोजर हालेर ढुङ्गा, गिट्टी र बालुवा झिक्दा खेती मसानघाट पुरिने गरेको क्षेत्रीले बताउनुहुन्छ । घाट पुरिएपछि गाउँमा कसैको मृत्यु भए घण्टौँ लगाएर घाट खोज्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “हामी सानो–सानो हुँदा निसीखोलामा थुप्रै घाटहरु थिए, आधा घण्टाको दूरीमा घाटहरु हुन्थे, वारिपारीका गाउँहरुबाट दाहसंस्कार गर्न झर्दा मलामीहरु बस्ने ठाउँ खुल्ला हुन्थ्यो, लास (शव) लाई जलाउने ठाउँ पनि फराकिलोनै हुन्थ्यो, अहिले त एउटा लास राख्ने ठाउँसमेत भेटिदैन, मलामीले विश्रम गर्ने ठाउँ त टाढाको कुरा हो, पहिले मलामी बस्ने ठाउँमा अहिले धान गहुँ फल्ने खेतबारी बनेका छन् ।”

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगरले खोलाका केही घाटहरु अतिक्रमण भएको बताउनुभयो । अतिक्रमित घाटलाई फिर्ता गर्ने उहाँको भनाइ छ । घाट अतिक्रमण हुनुका साथै बाढीलेसमेत बगाउँदा धेरै ठाउँमा समस्या देखिएको उपाध्यक्ष घर्ती मगरले बताउनुभयो । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको भन्दै अन्य ठाउँमा पनि बनाउने उहाँको भनाइ छ । केही घाटहरु व्यक्तिका नाममा रहेको हुँदा उनीहरुसँग छलफल गरि घाटकै रुपमा राख्ने घर्ती मगर बताउनुहुन्छ ।

“केही ठाउँमा घाटहरु अतिक्रमण भएका छन्, व्यक्तिले त्यसलाई घेरेर आफ्नो बनाएका छन्, अतिक्रमण सार्वजनिक जग्गाहरुमा भएका घाट फिर्ता गछौँ, केही ठाउँमा व्यक्तिको नाममा भएको पाइन्छ, उहाँहरुसँग छलफल गरेर व्यवस्थापन गर्छौँ” उपाध्यक्षले घर्ती मगरले भन्नुभयो – “घाटको संरक्षणका लागि गाउँपालिकाले नदि व्यवस्थापन गर्ने योजना बनाएको छ, अव्यवस्थित रुपमा बगेका खोलालाई धारमा फर्काइयो भने केही ठाउँका मसानघाट जोगिने छन् ।”

निसीखोला क्षेत्रमा खोला किनार हुँदै थुप्रै सडकहरु निर्माण भएका छन् । ति सडकहरुले पनि मसानघाट पुरिएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले यहाँ थुप्रै भूभाग ओगटेको छ, त्यसले पनि घाटमा ठूलो क्षति पु¥याएको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *