डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनु पूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षा लगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका हजारौँ नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए । सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन÷चार वटा बच्चा जन्माउने गर्थे । तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । केही वर्ष अगाडिसम्म यहाँका महिलाहरुले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न सकिएको थिएन ।
अहिले त्यो अवस्था छैन । यहाँका हरेक गर्भवती महिलालाई स्वास्थ्य संस्थामै बच्चा जन्माउनु पर्छ भन्ने छाप बसेको छ । त्यसले गर्दा उनीहरु स्वास्थ्य संस्थामै पुग्ने गर्छन् । कतिपय गर्भवती महिलाहरु बच्चा जन्माउने मिति आउँदा साथ स्वास्थ्य चौकी र वर्थिङ सेन्टरमा पुग्छन् भने कतिपय सुत्केरी ब्यथा लाग्न थाल्यो भने मात्रै स्वास्थ्य संस्था जाने सुरसार गर्छन् । जसका कारण पछिल्लो समय निसीखोलामा स्वास्थ्य संस्था नपुग्दै बीच बाटोमा सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको छ । घरभन्दा टाढा रहेको स्वास्थ्य चौकीमा उनीहरु समयमै पुग्न नसक्दा बाटोमै बच्चा जन्माउने गरेका छन् । यहाँका अधिकांश गाउँहरुबाट स्वास्थ्य संस्था पुग्न आधा घण्टादेखि दुई घण्टासम्म समय लाग्छ ।
निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार घरमै सुत्केरी हुनेको संख्या शून्य जस्तै छ । वर्थिङ सेन्टर र स्वास्थ्य चौकी टाढा हुँदा बाटोमै सुत्केरी भएपछि महिलाले ठूला सास्ती खेप्नु परेको छ । बीच बाटोमै सुत्केरी हुँदा आमा र बच्चाको अवस्था स्वास्थ्यकर्मीले समयमै जानकारी लिन पाउँदैनन् । कतिले बाटोमा सुत्केरी भएपछि त्यहीँबाटै घर फर्काउँछन् भने कतिले स्वास्थ्य संस्थामा पु¥याएर स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै फर्काउँछन् । निसीखोलाको भू–भाग कैतै अग्ला डाँडा, कतै होँचा खोँच त कतै समथर भू–भाग रहेको हुँदा गाउँदेखि अर्को गाउँसम्म पुग्न घण्टौँ लाग्छ । त्यसले गर्दा अस्पताल पुग्नै गाह्रो हुने गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जुनी घर्ती मगरले विगतको तुलनामा होमडेली भरी हुनेको संख्या निकै कम भएको बताउनुहुन्छ ।
करिब दुई वर्ष यता कुनै पनि गर्भवती घरमा सुत्केरी भएको रेकर्ड नभएको भन्दै केही महिलाहरु अस्पताल आउँदै गर्दा बाटोमै सुत्केरी हुने गरेको घर्ती मगर बताउनुहुन्छ । पछिल्लो समय महिलाहरु शिक्षित र सचेत बन्न थालेपछि स्वास्थ्यका बारेमा बढी चासो दिनुका साथै नियमित जाँचका लागि स्वास्थ्य संस्थाहरुमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ । अघिल्लो वर्ष करिब ३० जना गर्भवती स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएको संयोजक घर्तीको भनाइ छ । यस वर्ष पनि करिब १५ जना बाटोमै सुत्केरी भएको उहाँले बताउनुभयो ।
“घरमै सुत्केरी हुने एक प्रतिशत मात्रै होला, गत वर्षदेखि घरमा सुत्केरी भएको पाइएको छैन्, तर वर्थिङ सेन्टर र स्वास्थ्यचौकी आउँदा बाटोमै सुत्केरी हुनेको संख्या भने बढेको छ, बस्तीहरु टाढा–टाढा छन्,” घर्तीले भन्नुभयो – “अहिले धेरै महिला दिदीबहिनीहरु सचेत बन्दै जानु भएको छ, सबैलाई सुत्केरी हुन स्वास्थ्य चौकीमै जानु पर्छ भन्ने सोच छ, धेरै जसो समयै वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा आएर बच्चा जन्माउने गर्नु भएको छ, कोही चाहीँ ब्यथा लागेपछि मात्रै घरबाट हिड्दा बाटोमा बच्चा जन्माउने गरेको पाइन्छ, गर्भ जाँच गर्न आउँदानै उहाँहरुलाई समयमै आउनु पर्छ भनेका हुन्छौँ ।”
निसीखोलाभर छ वटा बर्थिङ सेन्टर छन् भने स्वास्थ्य चौकी चार वटा, सामुदायिक स्वास्थ्य इकाइ दुई वटा र आधारभूत स्वास्थ्य सेवा केन्द्र दुई वटा रहेका छन् । स्थानीय ६३ वर्षीया चन्द्रमला बुढा मगरले आफूहरुको पालामा कोही पनि महिलाले अस्पतालमा गएर बच्चा नजान्माएको भन्दै अचेल हरेक गर्भवती महिला स्वास्थ्य संस्थामा पुग्ने गरेको बताउनुभयो । आफूहरुको पालामा स्वास्थ्य संस्थाको धेरै टाढा हुँदा धेरै समस्या भोग्नु परेको भन्दै अहिले सहज बन्दै गएको उहाँको भनाइ छ ।
बुढा मगरले भन्नुभयो – “मैले ७ भाईबहिनी छोराछोरी जन्माए, कोही घाँस काट्दा भारीको काल्नामा जन्मिए, कोही गोठालो भगएको बेला जंगलमा, अहिले त अस्पतालमै जान्छन्, अस्पतालमा गएर सुत्केरी हुँदा बच्चाहरु निरोगी हुँदा रैछन्, हाम्रो पालामा घरमा बच्चा जन्माउन नसकेपछि मात्रै ढोकोमा बोकेर अस्पताल लैजाने गरिन्थ्यो, नजिकमा अस्पताल थिएनन्, यहाँबाट बुर्तिबाङ पुग्न पनि एक दिन लाग्थ्यो, अहिले त आधा घण्टामै पुग्न सकिन्छ ।”
निसीखोलाको निसेलढोर, जाउलेपानी, छापाखानी, चैते लगायतका दर्जन बढी गाउँबाट स्वास्थ्य चौकी पुग्न घण्टौँ लाग्छ । मोटरबाटोले सबै गाउँहरु जोडिए पनि निरन्तर यातायातका साधान नचल्दा गर्भवती महिला अस्पताल नपुग्दै बाटोमै सुत्केरी हुने गरेको स्थानीयको भनाइ छ ।