डम्मर बुढा मगर, बागलुङ
बागलुङको प्रसिद्ध धार्मिक स्थल गाजाको दहमा हरेक वर्ष बैकुण्ठ चतुर्दशीमा ठूलो मेला लाग्छ । यो मेला दक्षिण बागलुङकै ठूलो मेलाका रुपमा लिइन्छ । जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको संगम स्थल पनि हो । उच्च पहाडको शिरमा रहेको गाजाको दह क्षेत्र खर्सुङको रुखले भरिएको छ । वरपर थोरै घर छन् भने बाँकी जंगल छ । त्यही जंगलमा विभिन्न ठाउँबाट उपस्थित भएका मानिसहरु कोही यानीमाया, कोही सुनिमाया, कोही झ्याउरे त कोही सालैजो भाका गाउने गर्छन् ।
मादल, खैजडी र डम्फु बजाउँदै आगो बालेर रात बिताउने चलन छ । बुढाबुढी, युवायुवती र बालबालिका पनि न्यानो भएर गीत गाउने गर्दछन् । बैकुण्ठ चतुर्दशीको अघिल्लो साँझदेखिनै यस क्षेत्रमा मेला भर्न र यहाँ रहेको सिद्धबराह मन्दिरमा पूजाआजा गर्न आउनेको ठूला भिड लाग्ने गर्छ । गाजा दहमा आउने सबै पर्यटक तथा तिर्थालुले पुराना भाका सुन्न पाउँछन् । कतिपयले यस मेलालाई गीत संगीतको मेला पनि भन्ने गरेका छन् । चारै तिर घन्किने मादल र विभिन्न थरिका भाकाले सबैको मन फुरुङ्ग फार्ने गर्छ । चतुर्दशीका अघिल्लो रातदेखि सुरु भएको नाचगान मेला नकिदासम्म चलि रहन्छ । मेलामा अधिकांश गाउने र नाच्ने मानिसहरु मात्रै भेटिने गर्छन् । यो दृश्यले बाहिरबाट पहिलो पटक पुगेकालाई अचम्मित बनाउने गर्दछ । गाजा दहमा चल्दै आएको यो मेलालाई स्थानीयले वर्षौँदेखि छुटेका इष्टमित्र, आफन्त र संगीसाथी जमगट गराउने पर्वका रुपमा लिने गरेका छन् ।
युवादेखि बुढापाले गीतको माध्यमबाटै मनको बह पोख्ने गर्दछन् । कतिपय भाकाहरु हराउँदै गए भने कतिपयलाई बुढापाकाले जोगाउँदै आएका छन् । पहिले–पहिले यहाँ गीत गाउने र रमाइलो गर्ने गरे पनि हिजोआज स्थानीय युवाहरुले विभिन्न खेलकुद तथा अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न थालेका छन् । यसले गर्दा स्थानीयले गीत गाउने र रमाइलो गर्ने दिनहरु पनि बढाएका छन् । पहिले एक÷दुई दिन मात्रै स्थानीय लोक भाकाहरु गाउँथे । अहिले मेला नसकिदासम्म चलि रहन्छ । विशेष गरि बैकुण्ठ चतुर्दशीका दिन गाजादह संगीतमय बन्छ । यस ठाउँमा कहिलेदेखि पूजाआजा र गीत संगीत गाएर माइलो गर्ने प्रचलन सुरु भएको अहिले पनि एकिन नभएको स्थानीय वृद्ध छबिलाल पुनले बताउनुभयो । उहाँले आफूहरु सानै हुँदा बाउबाजेले नाच गान गर्न र सिद्ध बराहको पूजाआज गर्ने गरेको स्मरण गर्दै उक्त प्रचलन अहिले पनि जीवितै रहेको बताउनुभयो ।
“यो ठाउँलाई हामीभन्दा अगाडिका बुढापाकाले पवित्रा स्थानको रुपमा मान्दै आएका थिए, हामीहरुले पनि उहाँहरुले गर्दै आएको र मान्दै आएको परम्परालाई जोगायौँ, अहिले पनि चल्दै आएको छ, पहिलेको तुलनामा अहिले केही कम भएको छ, तर संस्कृति भने बचेको छ,” उहाँले भन्नुभयो – “कला संस्कृति संरक्षण गर्नका लागि युवाहरुलाई सशक्ति बनाउन जरुरी छ, यो मेला संगीतको मेला हो, यहाँ धेरै जसो गीत गाउने नाच्ने र रमाइलो गर्ने प्रचलन छ ।”
जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले गाजा दह गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य भए र यहाँ लाग्ने मेला मौलिक संस्कृति बोकेको हुँदा यसलाई संरक्षणमा आफूहरु जुटेको बताउनुभयो । हरेक वर्ष हजारौँ मानिसहरु मेला भर्न आउँदा प्रचारप्रसार बढी हुन थालेको उहाँको भनाइ छ । यहाँ गाजा दहसँगै रहेको सिद्ध बराह मन्दिरमा पूजा गर्दा मनोकांक्ष पूरा हुने जनविश्वास रहेको हुँदा वर्षेनी मेला हेर्न आउनेको संख्या बढेको अध्यक्ष भुजेल बताउनुहुन्छ । पहिले एक दिन मात्रै लाग्ने मेला अहिले धेरै दिन लाग्ने गरेको उहाँको भनाइ छ ।
अध्यक्ष भुजेलले भन्नुभयो – “हाम्रा पाका पुर्खाले गाउनु भएका गीत अरु बेला सुनिदैन, यो मेलाको बेला धेरै ठाउँबाट बुढापाकाहरु आउएर गाउनुहुन्छ, संरक्षणका लागि कोशिस गरि राखेका छौँ, यस क्षेत्रलाई पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा विकास गर्न थालेका छौँ, साथसाथै गीत संगीत कसरी जोगाउन सकिन्छ र यो मेलाको महिमा जोगाउन सकिन्छ भन्ने विषयमा बढी गम्भीर भएका छौँ, अग्रजबाट नयाँ पुस्तालाई सिकाउन पनि प्रयास गरेका छौँ ।”
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजा दहलाई बैकुण्ठ चतुर्दशी मेलामा गाइने गीतले बढी चर्चित बनाएको बताउनुहुन्छ । यहाँ आउने हरेक व्यक्ति एक पटक नाचेर र गाएर फर्कने गरेको भन्दै त्यो यस ठाउँको पहिचान रहेको उहाँको भनाइ छ । गाजा दह धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा गीत संगीतसँग जोडेर यसको विकास गर्ने गरि योजना बनाएको उपप्रमुख शर्मा बताउनुहुन्छ । पछिल्लो समय भौतिक संरचना निर्माणलाई जोड दिएको उहाँको भनाइ छ ।
“पालिकाको केन्द्र कुश्मिसेराबाट सहज रुपमा सडकले जोड्न थालिएको छ, गीत संगीतसँगै जोडेर यहाँको उत्पादनलाई प्रवद्र्धन गरि पर्यटक आकर्षण गर्न सकिन्छ, यस क्षेत्रमा लोपोन्मुख हुँदै गएका संस्कृतिको संरक्षण गरि प्रचारप्रसार र उजागर गर्दै जाने छौँ” उपप्रमुख शर्माले भन्नुभयो – “व्यवस्थित संरचना बनाउन थालेका छौँ, यहाँ केही स्थानीयले पाहुनाका लागि होमस्टे संचालन गर्दै आएकोमा अब थप व्यवस्थित गर्दै जाने योजना छ, यो ठाउँमा बढी चिसो हुन्छ, त्यसले गर्दा यहाँ बन्ने नयाँ घर तथा भवनलाई परम्परागत रुपमा न्यानो खालका बनाउने अनुरोध गरेका छौँ, खानेपानी, शौचालय लगायतका संरचना पनि निर्माण हुने चरणमा छन् ।”