डम्मर बुढा मगर, बागलुङ
बागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुग्नु भयो । रुस पुगेको पाँच महिनामै घरमा मृत्युको खबर आयो । जीतबहादुरको मृत्युको खबरले सिंगो गाउँनै यति बेला दुःखमा छ । सामान्य परिवारका जीतबहादुरले लामो समय गाउँमा गाडी चलाउनु भयो । गाडी चलाउनेबाहेक उहाँसँग अन्य सीप थिएन । व्यवसाय गर्नलाई परिवारको आर्थिक अवस्था नाजुक थियो । गाडी चलाएर परिवार पाल्न नसकेपछि धन कमाउने आश बोकेर जीतबहादुर रुस पुग्नु भएको थियो । रुस पुगेर रुसी सेनामा भर्ती हुनु भएका विकको बाबाआमा र श्रीमतीसँग निरन्तर सम्पर्क हुन्थ्यो ।
गत माघ १५ गते जीतबहादुरको श्रीमती विष्णु विकसँग सामान्य कुरा भयो । त्यस दिन उहाँले श्रीमतीसँग पहिले जसरी कुरा गर्नु भए । जीतबहादुरले आफ्नो साथीको फोनबाट विष्णुलाई कल गर्नु भएको थियो । पहिले जस्तो कुरा नगरेपछि विष्णु आत्तिएर निरन्तर कल गरि राख्नु भयो । अन्ततः फोन जीतबहादुरले नउठाएर उहाँको साथीले उठाउनुभयो । फोनमा जीतबहादुर सामान्य घाइते भएको खबर विष्णुलाई आयो । विष्णु झसङ्ग हुनुभयो । उहाँलाई कति बेला आफ्ना पतिलाई भट्ने भन्ने भयो । तर त्यो संभव थिएन । घाइते जीतबहादुरको केही दिनपछि मृत्युको खबर आयो । उहाँको मृत्यु भएपछि छोराछोरी र श्रीमतीको बिचल्ली बनेको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेको विक परिवारमा अहिले बज्रपातनै परेको छ । खेती किसानी गरेर परिवार चलाउँदै आएकी जीतबहादुरकी पत्नी विष्णुले विदेशमा गएको श्रीमानले कमाएर ल्याउलान र छोराछोरीले मिठो मसिनो खुवाउँला र राम्रो लुगा लगाउलान् भन्ने आशा गर्नु भएको थियो । तर अब त्यो आशा कहिल्यै पूरा नहुने भयो । बुधबार मात्रै जीतबहादुरको मृत्युको खबर आएपछि परिवारले गाउँमा कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । विदेश जाने बेला राम्रो कमाई हुने ठाउँमा जान्छु भन्दै श्रीमान अब कहिल्यै फर्कन्न भन्ने सुनेपछि विष्णु मुर्छा पर्नुभयो ।
“विदेश जाने बेलामा मेरो चिन्ता नगर, अहिलेको जस्तो दुःख गर्न पर्दैन भन्नु भएको थियो, मैले पैसा पठाए भने ऋण तिरौँला भन्नुहुन्थ्यो, २५÷३० लाखसम्म ऋण छ, अब कसरी तिर्ने ? छोराछोरी कसरी पढाउने ?, विष्णुले भन्नुभयो – “मैले उहाँको अन्तिम बोली माघको १५ गते सुनेको हुँ, त्यतिखेर अन्य बेलाको जस्तो कुरा भएन, बोली पनि अर्कै थियो, आफ्नो साथीकोबाट फोन गर्नु भएको थियो, छोटो बोलेर फोन काट्नु भयो, म आतालिएर फोन गरि रहेँ, पटकपटक फोन गरेपछि उहाँको साथीले फोन उठाउनु भयो, मेरो परिवारलाई घाइते भएको कुरा नभन्नु भनेर साथीलाई भन्नु भएको रहेछ, धेरैपछि मात्रै घाइते भएको उहाँको साथीबाट थाहा पाएँ ।”
जीतबहादुरकी आमा धनकुमारी विकले कार्तिक पहिलो साताको बोलीनै अन्तिम भएको बताउनुभयो । विदेश जाने बेला धेरैले त्यो देशमा जान नहुने भने पनि केही समय दुःख गरेर फर्किन्छु भन्दै गएको धनकुमारीको भनाइ छ । कार्तिकमा फोन गरेर मलाई र बुबालाई स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दै केही समयमा पैसा पठाई दिने आश्वासन दिनुभएका जीतबहादुरले त्यसपछि न फोन गर्नु भयो, न पैसा पठाउनुभयो । छोरोको मृत्युले घरनै अन्धकार भएको धनकुमारी बताउनुहुन्छ । आफू लामो समयदेखि कान्छो छोरासँग बुटवलमा बस्दै आएको सुनाउँदै घरको आर्थिक अवस्था निकै कमजोर हुँदा छोरो विदेशिन बाध्य भएको उहाँको भनाइ छ ।”
“धेरैले नराम्रो छ, त्यो ठाउँमा जान हुँदैन भन्थे, गाउँमा रोजगार भएन, बारीमा काम गरेर खान नपुगेपछि विदेश गयो, विदेश गएको केही दिनपछि म आए आमा मेरो पिर नगर्नु भनेर फोन गरेको थियो, उसले कमाई राम्रो छ भन्थ्यो, दुई महिनामा दश लाख दिन्छ भनेको छ, पैसा पाए भने पठाई दिन्छु भन्थ्यो” धनकुमारीले रुँदै भन्नुभयो – “चाहिए जतिको सामान किन्नु होला, धेरै चिन्ता नगर्नु बुढी हुनुभयो, आफ्नो र बाबाको ख्याल गर्नु भन्थ्यो, अहिले आफै रहेन, गाउँमा हुन्थ्यो भने जसरी भए पनि मुख देख्न पाउँथे, अब मेरो बाबुको अनुहार कसरी हेरुँ ?”
मृतक जीतबहादुरको १० वर्षीय छोरा र १२ वर्षकी कान्छि छोरी छन् । जेठी छोरीको विवाह भइसकेको छ । विकको आर्थिक अवस्था निकै कमजोर हुँदा ताराखोला गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तरगत तीन वर्ष अगाडि घर बनाई दिएको थियो । दुई भाई मध्ये कान्छो थमबहादुर विक भने हाल पर्तुगल रहनु भएको छ । विक रुस जानुभन्दा पहिले साउदी र कतारमा पनि पुग्नु भएको थियो । ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले जीतबहादुर सानैदेखि निकै मेहनती, मिलानसार र सलर स्वभावको रहेको भन्दै गरिबीका कारण विदेशिन बाध्य भएको बताउनुभयो ।
मुख्य जिम्मेवार व्यक्तिको मृत्यु भएपछि परिवारको विचल्ली भएको अध्यक्ष घर्तीको भनाइ छ । उहाँले जीतबहादुरको मृत्युको खबर बुधबार मात्रै आए पनि फेब्ररी ३ (माघ २०) गतेनै भएको बताउनुभयो । युद्धका क्रममा घाइते भएर अस्पताल उपचार गर्दै गर्दा जीतबहादुरको मृत्यु भएको विदेश पठाउने एजेन्टले जानकारी गएको घर्ती बताउनुहुन्छ ।
अध्यक्ष घर्तीले भन्नुभयो – “निकै दुःखद घटना भयो, यो घटनाले सिंगो गाउँलाई दुःखी बनाएको छ, उहाँ निकै शालिन हुनुहुन्थ्यो, गाउँमा हुँदा पनि निकै मेहेनत गर्नुहुन्थ्यो, केही वर्ष गाडी पनि चलाउनुभयो, त्यसबाट परिवार चलाउन नसकेर होला विदेश जानुभयो, विदेश गएको केही समयमै यस्तो दुःखद खबर आयो ।”