भेडाका बथानले सेताम्य लेक

डम्मर बुढा मगर, बागलुङ
यति बेला बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् । सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरि रहेका भेडाबाख्रा । ताल छेउको ठूलो चौर हजारौँ संख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्थिर पट्टी रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाई दिएको छ । जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडि सक्छन् ।

बागलुङ, रोल्पा र पूर्वी रुकुमका भेडापालक किसानहरु गोठ छाउनका लाग चाहिने त्रिपाल, बर्खा भरि खाने खर्च र ओड्ने दोछ्याउने बिस्तारसहित यहाँ आइ पुगेका हुन् । रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन् । बुकी नउक्लिदासम्म उनीहरु यही बस्ने गर्छ । यति बेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन् । एक साता भित्र बेसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन् । ३ हजार २०० मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट ४ हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठालाहरु छन् । अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन् ।

यि भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन् । एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकै पटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिदैन । त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन् । लेक चढ्ने याम सुरु भएको हुँदा अघि–अघि भेडाबाख्रा पछिपछि गोठालाहरु खर्चपर्च बोकेर हिँडिरहेका देखिन्छन् । जाडो र हिमपात छल्नका लागि गत मसिंरमा बेसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन् । तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताउनुभयो ।

छ महिना बेसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उहाँको भनाइ छ । यो सिजनमा बेसीमाभन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउनुहुन्छ । अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ तिहार बेला मात्रै बेसी झर्ने उहाँको भनाइ छ । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताउनुभयो । लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उहाँको भनाइ छ ।

घर्ती मगरले भन्नुभयो – “लेकबसी गर्ने चलन त यो हाम्रो पुर्खादेखि हुँदै आएको हो, एउटै घरमा एक हजारभन्दा धेरै वस्तुभाउ पाल्ने हुँदा बेसीमा मात्रै राख्न सकिदैन, यतिका महिनासम्म गाउँ घरमै राखेर पालियो, अब लेक तिर घाँस पलाउन थाले त्यही भएर माथि उक्लिन थालेका हौँ, दुई÷चार दिनपछि यहाँ (रिग ताल) भन्दामाथि खानीखोला तिर लैजान्छौँ, उतै चार महिना बित्छ, अब घर झर्ने त दसैँ मनाउन हो, कहिले काहीँ खर्च सकिएपछि र बिरामी भएपछि घर जान्छौँ ।”

रोल्पाको तेलखोलाका सन्तोष घर्ती पनि ७०० भेडाबाख्रा लिएर रिग क्षेत्रमा आउनु भएको छ । रोल्पाको माथिल्लो क्षेत्र हुँदा रिग क्षेत्रमा आउनु भएका घर्ती मंसिरमा मात्रै बेसी झर्नु हुन्छ । करिब तीन महिनाका लागि पुग्ने आटो, पिठो र नुन लिएर आएको सुनाउँदै तिज बेला एक पटक गाउँ झर्ने घर्तीले सुनाउनुभयो । यस वर्ष २०० भेडा विक्रीका लागि तयार गरि रहेको भन्दै दसैँ बेला बजार जाने र फर्किएपछि गाउँ झर्ने उहाँको भनाइ छ । यस वर्ष लामो समय खडेरी पर्दा पहिलोको जस्तो लेकमा घाँस नपलाएको घर्ती बताउनुहुन्छ । बर्खाको घाँसले भेडाबाख्रा सप्रिने र दसैँमा राम्रो मूल्य पर्ने उहाँले बताउनुभयो ।

“मैले भेडा पाल्न थालेको १८ वर्ष भयो, हाम्रो पालामा धेरै मान्छेहरु भेडा पाल्न रुचाउँथे, नयाँ युवा पुस्ताले यस तर्फ खास्सै चासो नदिँदा पहिलेको जस्तो चहलपहल छैन, परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन्छ कि भन्ने डर छ, पहिले बुकीमा लाखको हाराहारीमा भेडाबाख्रा हुन्थे, अहिले केही छैन,” उहाँले भन्नुभयो – “यो वर्ष २०÷२२ लाख आम्दानी हुने गरि भेडाबाख्रा तयारी छन्, चार सय भेडा ब्याउने छन्, पहिलेको जस्तो आम्दानी हुँदैन पहिले वार्षिक ४० लाख आम्दनाी हुन्थ्यो, अबको एक हप्तामा सबैभन्दा माथिल्लो क्षेत्रमा पुग्छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *