समुदायको सहयोगमा काली सुनारलाई नयाँ घर


खेमराज गौतम, बागलुङ

चुहिने जीर्ण एक कोठे घर भित्र कोचिएर बसेको काली सुनारको ८ जनाको परिवार । न खाने टुङ्गो नै छ न गरी खाने खेत बारी ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्म आरानटोल निवासी ७८ वर्षीया काली सुनार छ जना नातनातीना र एक अपाङ्ग बुहारी सहित बस्दै आउनुभएको छ ।

आफ्नो जीवनकालनै कष्टकरमा बिताउनुभएका सुनारको समस्या आफ्ना छोराहरुले नदेखेपनि समाजले सहन सकेन । समुदायसंग हात थापेर जीविका चलाउदै आउनुभएको काली सुनारको परिवारले सुरक्षित बास पाएको छ ।

तीन छोराको आमा काली सुनारका दुई छोरा सम्पर्कमा छैनन् भने एक छोरा जेलमा छन् । समुदायको सहयोगमा एक अपाङ्ग कान्छी बुहारी, ५ नातीनी र एक नातीलाई पाल्दै आउनुभएको काली सुनारको आँखामा अहिले हर्षको आशु बगेको छ । मल्मका समाजसेवी ज्ञान बहादुर थापाको पहलमा सुरक्षित बास बनाइएको छ । अहिले थापाकै पहलमा शौचालय र खाद्यन्न जुटाउने काम समेत चलिरहेको छ ।

कष्टकर जीवन बिताउदै आएकी ७८ वर्षीया वृद्ध काली सुनारले समुदायले नयाँ घर बनाइदिएपछि परिवारमा खुसी मिलेको बताउनुभयो ।

“वृद्ध अवस्थामा नयाँ घर मिलेको छ, नातनातीलाई ओत लगाउन पाउने भए, तीन छोरा भएर समेत सुखको अनुभुती गर्न पाइन, भारत जान्छु भनेर १२ वर्ष अघि हिडेका जेठो र माइलो छोरा फर्केर आएनन्, अहिले सम्पर्कमा छैनन्, कान्छो छोरा जेलभित्र छ” सुनारले भन्नुभयो “छोराहरुले नहेरेपनि समाजले हे¥यो, चुहिने छानामुनी केटाकेटीलाई जोगाउनै गाह्रो, अबत बासको पीर हट्यो, गासको समस्या जेनतेन टारम्ला, ज्ञान बहादुर सर हामीलाई भगवान भएर आउनुभयो, हाम्रो घरको अवस्था देखेपछि समुदायको सहयोगमा नयाँ घर पाइयो ।”

अहिले सुनार सहित कान्छी बुहारी तुलसी सुनार र उनका तीन छोरी, दुई छोरका एक नाती र दुई नातीनी बस्दै आउनुभएको छ । छोराहरुले माया नगरेपनि नातनातीनाको माया लाग्ने बताउदै उहाँले उनिहरुलाई नियमित विद्यालय पठाउने गरेको सुनाउनुभयो ।

७८ वर्षको उमेरमा कष्टकर जीवन विताइरहेको काली सुनारको परिवारलाई २० दिनको अथक प्रयासमा नयाँ घर बनाउन सफल भएको ज्ञान बहादुर थापाले बताउनुभयो । थापाले एउटै कोठामा ८ जनाको परिवार कोचिएर बसेको र छाना समेत चुहिने भएपछि सामाजिक सञ्जालमार्फत सहयोगको हात फैलाएपछि नयाँ घर बनाउने साहस आएको बताउनुभयो ।

घरमा कमाउने कोही नभएपछि सुनारको परिवार समाजमै निर्भर रहेकाले सुरक्षित बास बनाउनुपर्ने भन्दै समाजलाई सहयोग मागेपछि घर बनाउन सफल भएको पहलकर्ता थापाको भनाई छ ।

“समय–समयमा खाद्यन्न, जस्तापाता सहयोग गरिएको थियो, तर सुरक्षित आवास नहुँदा समस्या थियो, एक दिन बिहानै काली सुनकारको घरमा पुग्दा अगेना छेउमै ८ जना कोचिएर सुतेको देखेपछि रातभर निद्रा लागेन, सामाजिक सञ्जालमा घर सहित बालबालिकाको तस्बिर राखे” थापाले भन्नुभयो “धेरैले घर बनाइदिनुहोस हामी सहयोग गछौं भन्ने आश्वासन दिनुभयो, देश विदेशमा रहनुभएका सहयोगीमनका धनीहरुले मलाई हौसला प्रदान गर्नुभयो, स्थानीय समाजसेवी र युवाहरुको साथ सहयोगमा जीर्ण घर भत्काएर नयाँ घर निर्माण गर्न सफल भयौं ।”

घर बनाउनका लागि बालबालिकाले अध्ययन गरिरहेको प्रगती आधारभूत विद्यालयद्वारा गरिएको अभिभावक भेलाबाट संकलन रु. २५ हजार ५०० नगदले घर निर्माणको काम थालेको उहाँको भनाई छ ।

अहिले अधिकतम रु.५ हजार देखि रु. २ हजार सम्म सहयोगको प्रतिबद्धता धेरैले जनाउनुभएको भन्दै थापाले घर मात्रै नभएर शौचालय र उनिहरुलाई खानाको समेत व्यवस्था मिलाउने प्रयास भइरहेको बताउनुभयो ।

दुई कोठे घर र सासु बुहारीलाई दुई वटा भान्साकोठा सहित चार कोठाको घर निर्माण सम्पन्न भइसकेको थापाले बताउनुभयो । सामाजिक सञ्जाल मार्फत आएको आश्वासनबाट जस्तापाता खरिद गरेर घर छाइएको बताउदै गलकोट नगरपालिकाको विपद् व्यवस्थापन शाखाले समेत समयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

“काली सुनारको नाममा उक्त घर भएको स्थानको लालपूर्जा समेत नभएको अवस्था रहेछ, समाजको सल्लाहमा उहाँकै नाममा जग्गा पास गर्ने, बालबालिकालाई राम्रो शिक्षा दिक्षा दिने र खानपान, शौचालय र खानेपानीको राम्रो व्यवस्था मिलाउने भनेका छौं, सहयोग जुट्ने क्रम जारी छ” उहाँले भन्नुभयो “केही युवाले श्रमदान गर्नुभएको छ, फर्नीचर व्यवसायीहरुले झ्याल ढोका दिनुभयो, कलाकार विष्णु खत्रीले काठ सहयोग गर्नुभयो, समुदायको सबैको सहयोगमा सुनारलाई नयाँ घर दिन सफल भयौं ।”

सुनारले बृद्धभत्ताको रकम एक नाती र पाँच नातीनीको पढाईमा खर्चदै आउनुभएको छ । छोराहरु नभएपछि बेसहारा बनेका नातनातीनालाई हुर्काउने दृणसंकल्प बोक्नुभएको सुनारलाई समाजको सहयोग अमुल्य सावित भयो ।

सुनारको परिवारलाई गाँस, बास, कपास र शिक्षाको व्यवस्था मिलाउनेगरी सहयोग संकलन अभियान थप सक्रियतापूर्वक चलाइने थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *