दूरको गाउँ : जसले पर्खिएको छ पर्यटक

डम्मर बुढा मगर, बागलुङ
माथिपट्टी अग्लो पहाड । चारै तिर हरियाली जंगलले घेरिएको । तलपट्टी कलकल बग्ने उत्तरगंगा । बीचमा छ दिज गाउँ । काठका फ्याकले छाएका मौलिक घर । घरका वरपर फैलिएको समथर भू–भागमा सप्रिएका आलुका बोटमा फूल्न थालेका रंगीन फूलहरु । जसले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरि रहेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ ।

ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खी रहेको छ । दिज गाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो । ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारी पट्टी रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरीवाज छन् । मगर समुदायको बाहुल्यता रहेको दिज गाउँमा काठबाट बनेका घरुहरु मात्रै छन् ।

परम्परादेखिनै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन् । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युतको पहुँच नपुगे पनि गाउँको सुन्दरताका कारण यहाँ पुग्न हरेक पर्यटक लालायित हुन्छन् । यस गाउँ ढोरपाटन उपत्यका नजिकै रहे पनि अहिलेसम्म आधुनिकताले जोडिन सकेको छैन । ढोरपाटन उपत्यका क्षेत्रमा पछिल्लो समय नयाँ शैलीका घर भवन बन्दै गएका छन् । सामान्य आधारभूत सेवासमेत नपुगेको गाउँका स्थानीय खेतीपाती र पशुपालन गरि जीविकोपार्जन गर्दै आएका छन् ।

झण्डै एक दशक अगाडि निसेलढोर जोडिने सडकले गाउँलाई नछोए पनि उत्तरगंगा नदि पार गरेर गाडीको सुविधा भने पाउन सक्छन् । मौलिकता र प्राकृतिक सुन्दरताको संगम रहेको दिज गाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । अझ बढी त बर्खाको समय पदयात्र गर्दै युवायुवती यहाँ जाने गरेका छन् । भौगोलिक विकटताका र प्रचारप्रसाको ओझेलमा रहेको यस गाउँमा पछिल्लो केही वर्ष यता भने धेरैको नजर पुग्न थालेको छ ।

निसीखोलादेखि निसेलढोर जाने मुख्य बाटोमै दिज गाउँ पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्ने छन् । गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि विद्युत नहुँदा नबसी जाने गरेको स्थानीय मनकुमारी घर्ती मगरले बताउनुभयो । गाउँमा रहेको काठका घर हेर्नका लागि समय–समयमा विदेशी पर्यटकहरु पनि आउने गरेको उहाँको भनाइ छ । धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदल यात्रामार्फत निसेलढोर पुग्ने मानिसहरु दिज गाउँमा आउने घर्ती मगर बताउनुहुन्छ ।

गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरुले समस्या भोग्नु परेको उहाँको भनाइ छ । सरकारले दिज गाउँलाई प्राथमिकता दिएर विकास गरे विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने घर्ती मगरले बताउनुभयो । विद्युत ल्याउनका लागि पोल गाडे पनि अहिलेसम्म लाइन तान्ने कार्य नभएको उहाँको भनाइ छ । बिजुली मात्रै आए पनि गाउँको मुहार फेरिने उहाँ बताउनुहुन्छ ।

घर्तीले भन्नुभयो – “यो गाउँमा धेरै जसो खेतीपाती गर्ने र पशुपालन गर्ने किसानहरु बस्छौँ, यहाँ आउने धेरैले गाउँ धेरै राम्रो छ भनेर प्रशंसा गर्छन्, तर हामीहरु वर्षौँदेखि समस्या भोग्दै आएका छौँ, धेरैजासो गाडीमा भन्दा हिँडेर घुम्न आउने मान्छेहरु बढी हुन्छन्, दुर्गम गाउँको दुःख, पीडा सरकारले बुझेर विकास गथ्र्यो भने पर्यटनमार्फत गाउँमा परिवर्तन हुने थियो, गाउँको समस्याका बारेमा धेरै थाहा छ तर काम भएको छैन, विस्तारै हुन्छ कि भन्ने आशमा हामीहरु छौँ ।”

यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छेहरु घुम्न आउँछन् । गाउँभन्दा पारी पट्टी निसेलढोर जोड्ने सडक संचालनमा रहेको हुँदा युवायुवतीहरु मोटरसाइकलमा समेत पुग्छन् । यति बेला गर्मी बढेको हुँदा बुटवल, चितवन र गुल्मीबाट धेरै युवाहरु घुम्न आउने गरेका छन् । गुल्मी घर भई बुटवलमा पढ्दै आउनु भएका विनोद भण्डारीले दिज गाउँसहित निसेलढोर क्षेत्र घुम्नका लागि आएको बताउनुभयो ।

छ जानको समूहमा यहाँ आएको सुनाउँदै तीन दिन ढोरपाटनसहितका क्षेत्र घुम्ने योजना रहेको सुनाउनुभयो । ढोरपाटन आएको दोस्रो दिन दिज गाउँ पुगेको भन्दै यस गाउँले आफूहरुलाई मोहित बनाएको उहाँले सुनाउनुभयो ।

“यो गाउँले निकै सुन्दर रहेछ, मैले अहिलेसम्म यत्तिको राम्रो गाउँ अहिलेसम्म देखेको थिएन, पहिलो पटक यो ठाउँमा आउँदा धेरै आनन्द आयो, साथीहरु पनि खुसी भएका छन्, सहर बजारभन्दा टाढाको गाउँ यति शान्त छ, हामीहरु फर्किएर गएपछि अरु साथीहरुलाई पनि एक पटक यहाँ आउनु आग्रह गछौँ” उहाँले भन्नुभयो – “गाउँ विकट रैछ, सरकारले यस क्षेत्रको विकास गर्न सक्यो भने त विदेशीहरुको बास यही हुन सक्छ जस्तो लाग्छ, यहाँको बोलीचाली पनि आफ्नै शैलीको रहेछ, धेरै खुसी लाग्यो, फेरि पनि आउने चाहना छ ।”

ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खीमबहादुर घर्ती मगरले यस गाउँको मौलिकता संरक्षण गरि राख्ने बताउनुभयो । गाउँको काठेका घरले धेरै पर्यटकलाई आकर्षित गरि रहेको भन्दै विस्तारै विकासले जोडिन थालेको उहाँको भनाइ छ ।

टाढा–टाढाबाट घुम्न आउने पर्यटकलाई लक्षित गरि दिज गाउँमा घरबास संचालन गर्ने योजना रहेको सुनाउँदै यसका लागि नगरपालिकासहित प्रदेश र केन्द्र सरकारको पनि सहयोग हुनु पर्ने अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । गाउँमा सडक पु¥याउनका लागि दश अगाडिनै प्रयास गरे पनि सिकार आरक्षको अवरोधका कारण हालसम्म पु¥याउन नसकिएको उहाँको भनाइ छ ।

अध्यक्ष घर्ती मगरले भन्नुभयो – “अहिलेसम्म यो गाउँ अन्धकार छ, विद्युत पु¥याउनका लागि ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाबाट तयारी गरि रहेका छौँ, अहिले पोल गाड्ने काम भइसकेको छ, अब छिट्टैनै लाइन तानेर विद्युत सुचारु गर्ने छौँ, खानेपानीको समस्या छ, त्यसका लागि पनि खानेपानी कार्यालय बागलुङबाट काम हुँदैछ, सडक पु¥याउनका लागि साविक बोबाङ गाविस हुँदादेखिनै बजेट छुट्याएर काम अगाडि बढाएका थियौँ, सिकार आरक्षले अवरोधका कारण अहिलेसम्म पुग्न सकेको छैन, अब हाम्रो ध्यान यहाँको मौलकता जोगाउने र घरबास संचालन गर्ने तर्फ हुने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *