हिलो खेल्न नयाँ टिसर्ट !

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका–४ कुँडुले छापामा शनिबार जिल्लाका उच्च पदस्थ व्यक्तिहरु एक कार्यक्रममा जम्मा भएका थिए । कार्यक्रम थियो २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८१ ।

कृषि ज्ञान केन्द्रको आयोजना र जिल्ला कृषि सहकारी संघ बागलुङको समन्वयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलसहित विभिन्न कार्यालयका कर्मचारीहरु सलक्क परेको नयाँ टिसर्टमा देखिन्थे । त्यो दृश्य देख्दा लाग्थ्यो, यहाँ रोपाइँ होइन, कुनै जात्रा चलिरहेको छ ।

एकै छिन कृषि ज्ञान केन्द्रले औपचारिक कार्यक्रम ग¥यो । सो अवसरमा जिल्लाका उत्कृष्ट कर्मठ किसानलाई सम्मान पनि ग¥यो । कार्यक्रम स्थल नजिकै धान रोप्नका लागि खेत हिलाइएको थियो । एकै छिनपछि उक्त हिलाम्मे खेतमा नयाँ टिसर्ट लगाएका कर्मचारीसहित कार्यक्रममा सहभागी हुन बजारदेखि गएका अतिथि लगायत खेतमा पसे । कोहीले धान रोपे झैँ गरे, कोही हिलो खेल्न थाले ।

नयाँ टिसर्ट लगाएर हिलो खेल्दै गरेको खेत वरपर पसिनाले निथ्रुक्क परेका किसानहरु खेतमा काम गरिरहेका थिए । चटक्क परेर गएकाहरुको क्रियाकलापले छेउमा काम गरिरहेका किसानलाई गिज्याइरहेको भान हुन्थ्यो, यो दृश्यले किसानहरुलाई केही अचम्मित पनि बनाएको थियो । खेत रोपाइँका लागि नयाँ टिसर्टमा सजिएर आएका मान्छे देख्दा स्थानीय किसानलाई अचम्म लाग्नु स्वभाविक नै हो ।

कार्यक्रमको आयोजक रहेको कृषि ज्ञान केन्द्रले धान दिन दिवस मनाउन पुगेका उच्च पदस्थ व्यक्तिसहित किसानलाई टिसर्टको व्यवस्था गरेको थियो । छुँदा पनि दाग लाग्ला जस्तो टिसर्ट पहिरिएर हिलो खेल्दा किसानको मनमा के प्रश्न उब्जिए होला ?

हिलो खेल्नलाई कृषि ज्ञान केन्द्रको लगानीमा उक्त टिसर्ट किनिएको हो । टिर्सटसहित कार्यक्रम व्यवस्थापनका लागि ज्ञान केन्द्रले जिल्ला कृषि सहकारी संघलाई जिम्मा दिएको थियो । सहकारी संघले एक लाख रुपैयाँमा टिसर्ट छपाईसहित खाजा र कार्यक्रममो व्यवस्थापन गरेको थियो । संघका सचिव गंगाबहादुर थापाका अनुसार हिलो खेल्नका लागि ४८ हजारको ८० वटा टिसर्ट किनिएको हो भने ५२ हजारले खाजा र कार्यक्रम व्यवस्थापन गरिएको हो ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले धान दिवसको प्रचार प्रसारका लागि टिसर्ट बनाइएको बताउनुभयो । यस्ता खालको कार्यक्रम पहिले पनि गर्दै आएको हुँदा अहिले पनि निरन्तरता दिएको उहाँको भनाइ छ । टिसर्टमा धान दिवस सम्बन्धि चेतनामूलक नारा छपाई गरेको उहाँ बताउनुहुन्छ ।

हरेक वर्ष धान दिवसमा धेरे मान्छेहरुले चटक देगाउँने गरेको र सरोकारवाला निकायले कृषकको मर्का बुझ्नुको सट्टा त्यस्तै गतिबिधिमा रमाउने निसीखोलाका अगुवा कृषक धर्मराम पोखरेलले बताउनुभयो । उहाँले हिलो खेल्न टिर्सट बनाउने खर्चले सामान्य किसानलाई बिउ पूँजीका रुपमा दिएको भए राम्रो हुने उहाँको भनाइ छ । विभिन्न कार्यक्रममा फजुल खर्च गर्नुभन्दा सिमान्त कृत किसानलाई ज्ञान सीप दिने, दुर्गमका बस्तीमा पुगेर तालिम दिने, उत्पादनसँग जोड्ने खालका कार्यक्रम गरेको भए राम्रो हुने पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो– “यो राम्रो भएन, किसानका विभिन्न समस्या छन्, राज्यले त्यसको समाधान गर्न सक्दैन, सामान्य कार्यक्रमका लागि लाख–लाख खर्च गर्छ, हिलोमा धान रोप्न कोही पनि नयाँ लुगा लगाएर आउँदैन, यो त हामी जस्ता किसान माथिको उपहास र अपमान हो, त्यस्तो फजुल खर्च गर्नुभन्दा गरिब किसानलाई एक–एक हजारको बिउ बितरण गरेको भए, उसले त्यसबाट राम्रो आम्दानी गर्न सक्थ्यो र व्यावसायिक बन्न सक्थ्यो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *